काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले थप एक नयाँ सामूहिक लगानी कोष योजना सञ्चालनका लागि तयारी थालेको छ । क्यापिटलले एनएमबि हाइब्रिड फण्ड एल–२ नामक योजना सञ्चालनका लागि माघ २४ गतेदेखि इकाई निष्काशन गर्न लागेको हो ।
क्यापिटलले एनएमबि म्युचुअल फण्ड अन्तर्गत यो योजना सञ्चालन गर्न लागेको हो । दश वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजना सञ्चालनका लागि क्यापिटलले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई निष्काशन गर्न लागेको हो । प्रतिइकाई १० रुपैयाँ अंंकित मूल्यमा यी इकाई निष्काशनमा आउन लागेको हो ।
१२ करोड इकाईमध्ये १४ प्रतिशत अर्थात् १ करोड ६८ लाख इकाई कोष प्रबद्र्धक एनएमबि बैंकलाई र १ प्रतिशत अर्थात् १२ लाख इकाई योजना व्यवस्थापक एनएमबि क्यापिटललाई छुट्याइएको छ । यी बाहेक बाँकी रहेको १० करोड २० लाख इकाई भने सार्वजनिक निष्काशनमा आउन लागेको हो । यो इकाई निष्काशन अवधि छिटोमा माघ २८ गतेसम्म तोकिएको छ । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि फागुन ८ गतेसम्म विक्री लम्बिन सक्ने जानकारी योजना व्यवस्थापकले दिएको छ ।
आवेदन दिँदा न्युनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाई सम्म माग गर्न सकिनेछ । निष्काशन तथा विक्री प्रबन्धकको रुपमा रहेको एनएमबि क्यापिटल र आस्बा सेवा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर अनलाईन मार्फत पनि आवेदन दिन सकिनेछ ।