काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर ११ गतेदेखि पुस १६ गतेसम्म निष्काशन गरेको हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले माघ ६ गते कात्तिक २६ गतेसम्म कायम शेयरधनीहरुबाट रीतपूर्वक प्राप्त आवेदनहरुलाई समावेश गरी ९३ लाख १० हजार ६८७ कित्ता हकप्रद शेयर बाँडफाँट गरेको हो ।
कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा ६२ दशमलव ५६ प्रतिशत दरले हुन आउने ९६ लाख ३१ हजार २२० दशमलव २२ कित्ता हकप्रद शेयर निष्काशन गरेकोमा ३ लाख २० हजार ५३३ दशमलव २२ कित्ता भने वितरण हुन सकेन । यो चरणमा वितरण हुन नसकेको यी शेयर कम्पनीले लिलामी प्रक्रियाबाट बिक्री गर्नेछ ।
कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । हकप्रद शेयर बाँडफाँटमा नपरेको रकम माघ ९ गतेदेखि सम्बन्धित आवेदकको बैंक खातामा रकमान्तर गरिने जानकारी बिक्री प्रबन्धकले दिएको छ यस कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ चुक्तापूँजी कायम गर्नुपर्ने बाध्यात्मक अवस्था छ ।
सम्पूर्ण कित्ता हकप्रद बिक्री पछि कम्पनीको चुक्तापूँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार रुपैयाँभन्दा बढी कायम हुनेछ ।