शीर्षकहरू

४० वटा सवारीको प्रदूषण जाँच गर्दा ३१ वटा फेल

४० वटा सवारीको प्रदूषण जाँच गर्दा ३१ वटा फेल

काठमाडौँ । आज काठमाडौँ चक्रपथ सुकेधारा भएर गुडिरहेका ४० वटा डिजेलका सवारी साधनको प्रदुषण चेकजाँच गरिएकोमा ७८ प्रतिशत अर्थात् ३१ वटा फेल भेटिएका छन् ।

पुस २९ गतेबाट थालिएको चेकजाँचका क्रममा आजसम्म डिजेलबाट चल्ने १४० वटा र पेट्रोलबाट चल्ने २० गरी १६० वटा सवारी साधनको जाँच भएको छ । यीमध्ये डिजेलबाट चल्ने ९४ वटा र पेट्रोलबाट चल्ने ६ वटा सवारी फेल भएका छन् । 

यसरी गरिएको परीक्षणमा मापदण्डबाहिर रहेका सवारी साधनलाई मर्मत गर्न, त्यसपछि पुनः परीक्षण गराउन र मापदण्डभित्र मात्र सञ्चालन गर्न कवुलियतनामा गराइएको छ ।

वायु प्रदुषण नियन्त्रणका प्रयासमध्ये सवारी साधनबाट निस्कने प्रदुषक तत्व न्यूनीकरण तथा नियन्त्रणका लागि महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले नेपाल सरकारको वातावरण विभाग, उपत्यका ट्राफिक प्रहरी कार्यालय र महानगर प्रहरी बलसँगको सहकार्यमा स्थलगत चेकजाँच गरिरहेको छ ।