काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार सामान्य अंकले बढेको छ । यसदिन नेप्से परिसूचक ६.७८ अंकले बढेर दुई हजार ६०७.९९ अंकमा बजार बन्द भएको छ ।
बजार खुलेसँगै उकालो लागेर ११:३० सम्म दुई हजार ६२३ बिन्दुमा उक्लिएको बजार त्यसयता उतारचढावबीच घट्दै गई दुई हजार ६०१ कै बिन्दुमा अड्किएको थियो । कारोबारको अन्तिम केही समयमा नेप्से सामान्य बढेको हो ।
यस्तै आज कारोबार रकम पनि सामान्य बढेको छ । आइतबार ६ अर्ब २५ करोड ७२ लाख रुपैयाँ बराबरको एक करोड २९ लाख ८२ हजार ६१९ कित्ता शेयर कारोबार भएकोमा यसदिन ६ अर्ब ५७ करोड रुपैयाँ बराबरको १ करोड ३६ लाख ७७ हजार ९८३ कित्ता शेयर खरिदबिक्री भएको छ ।
आज सेन्सेटिभ इन्डेक्स ०.१०, फ्लट इन्डेक्स ०.२८ र सेन्सेटिभ फ्लट इन्डेक्स ०.०५ अंकले बढेकोमा १३ उपसमूहमध्ये ८ उपसमूहको शेयर उकालो लागेको छ । यस्तै कारोबारमा आएका २४३ मध्ये ११८ कम्पनीको शेयर बढ्दा ११७ कम्पनीको शेयरमूल्य घटेको छ भने बाँकी ८ कम्पनीको शेयर स्थिर छ ।
आज मानुषी लघुवित्तका लगानीकर्ताले सर्वाधिक ९.०५ प्रतिशतले कमाएका छन् । यता, विन नेपाल लघुवित्त, सुपर मादी हाइड्रोपावर र भूगो इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ । यस्तै १० प्रतिशत एनआईसी एशिया डिबेन्चरका लगानीकर्ताले पनि ९.९६ प्रतिशतले गुमाएका छन् ।