काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकबाट कर्जा लगानी अपेक्षितरुपमा बढ्न नसक्नु चिन्ताको विषय रहेको बताएका छन् ।
कृषि विकास बैंक लिमिटेडको आज यहाँ आयोजित ५८औँ वार्षिकोत्सवका अवसरमा अर्थमन्त्री पौडेलले बैंकहरुमा निक्षेप सङ्कलन राम्रो देखिए पनि कर्जा प्रवाह बढ्न नसक्नु गम्भीर विषय रहेको बताए । “पछिल्लो दिनहरुमा बैंकको बचत बढेको छ तर कर्जा अपेक्षित रुपमा बढेको छैन । यो चिन्ताको विषय हो । हामीले उत्पादन, उत्पादकत्व वृद्धि गर्ने र रोजगारी सिर्जना गर्ने सम्भावित क्षेत्रमा बैंकको लगानी बढाउँदै जानुपर्छ”, अर्थमन्त्री पौडेलले भने ।
उनले कृषि विकास बैंकलाई थप व्यावसायिक र प्रतिस्पर्धी भएर काम गर्नसमेत निर्देशन दिए । “बैंकको सञ्चालक समिति, व्यवस्थापन र कर्मचारीको सामूहिक प्रयासबाट बैंक प्रतिस्पर्धी बन्दै गएको छ । तर हामी यसैमा रमाएर बस्ने होइन । अझै राम्रो, अब्बल र प्रतिस्पर्धी बैंकका रुपमा अगाडि बढ्नुपर्छ”, अर्थमन्त्री पौडेलले भने, “व्यवस्थापन र कर्मचारीबीच राम्रो सम्बन्ध नहुँदा कतिपय संस्थाहरुले अपेक्षित प्रगति गर्न नसकेको तितो अनुभव हामीसँग छ । यसकारण बैंकको व्यवस्थापन र कर्मचारीबीचको सम्बन्ध जीवन्त हुनुपर्छ ।” कृषि विकास बैंक जुन उद्देश्यले स्थापना भएको हो त्यो प्राप्त गर्ने कुरालाई सर्वोच्च प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।