काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले माघ १५ गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको शेयरमध्ये १० प्रतिशत आरक्षित शेयर पहिलो चरणमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गर्न लागेको हो ।
नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेवोन) बाट कम्पनील माघ ३ गते सर्वसाधारणमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि अनुमति पाएको हो । कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने २ लाख २५ हजार कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासनमा आउन लागेको हो ।
वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले माघ २९ गतेसम्म यो आईपीओ खरीदका लागि आवेदन दिन सक्नेछन् । आवेदन दिंदा न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ । लघु जीवन बीमा क्षेत्रका कम्पनीको रुपमा सञ्चालित यस कम्पनीले नेपाल बीमा प्राधिकरणबाट ७५ करोड रुपैयाँ चुक्तापूँजी कायम गर्ने गरी स्वीकृति प्राप्त गरेको थियो ।
हाल ५२ करोड ५० लाख रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको सर्वसाधारणमा सम्पूर्ण कित्ता आईपीओ निष्कासन तथा बाँडफाँटपछि चुक्तापूँजी ७५ करोड रुपैयाँ कायम हुनेछ । कम्पनीले सर्वसाधारणमा आफ्नो जारी पूँजीको ३० प्रतिशत आईपीओ निष्कासन गर्न लागेको हो ।