शीर्षकहरू

लक्ष्मी सनराइज बैंकले १ अर्बभन्दा बढी खुद नाफा कमायो

लक्ष्मी सनराइज बैंकले १ अर्बभन्दा बढी खुद नाफा कमायो

काठमाडौं । लक्ष्मी सनराइज बैंकले  सञ्चालन मुनाफा २४.०८ प्रतिशत बढाएको छ ।  चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सञ्चालन मुनाफा बढाएपछि बैंकको खुद मुनाफा ९.७१ प्रतिशतले बढेको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। 

 बैंकले १ अर्ब १६ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.७१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको २४ अर्ब ३४ करोड ६५ लाख रुपैयाँ चुक्ता पूँजी र जगेडा कोषमा १७ अर्ब ६५ करोड १३ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा बैंकले ३ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ६७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।

 बैंकको खुद ब्याज आम्दानी ८.२७ प्रतिशत  र कुल सञ्चालन आम्दानी ३।५० प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १२.२८ प्रतिशत बढेको छ। बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब ७३ करोड २६ लाख रुपैयाँबाट घटेर १ अर्ब ९२ करोड ९२ लाख रुपैयाँमा झरेको छ। 

 प्रतिशेयर आम्दानी पनि सामान्य बढेर ४१ पैसा बढेर ९ रुपैयाँ ५५ पैसा पुगेको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ ५० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २२.२२ गुणा रहेको छ। त्यस्तै, सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३६ करोड ८५ लाख रुपैयाँ रहेको छ।