काठमाडौं । अर्थमन्त्री विष्णु पौडलले यसपालिको बजेटमा विचित्रको अभ्यास गरेको बताएका छन् । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले बजेटको सिद्धान्त तथा प्राथमिकता ल्याउने, बजेट भाषण गर्ने र कार्यान्वयन गर्ने मन्त्री फरक-फरक भएको बताए ।
उनले भने, ‘बजेटको सिद्धान्त र प्राथमिकता एउटा अर्थमन्त्रीले ल्याउनुभयो, बजेट वक्तव्य अर्को अर्थमन्त्रीले तयार पार्नुभयो, पास र कार्यान्वयन गर्ने बेलामा म छु ।’ तैपनि अर्थतन्त्रमा भने कुनै समस्या नभएको दाबी उनले गरे । बैंक डुबे, अर्थतन्त्र समस्यामा छ भनेर हादादारी प्रचार गरिएको उनले बताए ।
पौडेलले भने, ‘कर्जा प्रवाह बढिरहेको छ । निक्षेप जसरी नै कर्जा विस्तार पनि विस्तारै भइरहेको छ । बैंकको लगानीमा सुधार भइरहेको छ । बैंक डुबे, अर्थतन्त्र समस्यामा छ भनेर प्रचार गरिएको छ । यस्ता नकारात्मक प्रचारले स्थान पाउनु हुँदैन । बैंक र अर्थतन्त्र डुब्दैनन् । न अर्थतन्त्र धराशायी छ न त बैंक नै डुबेका छन् । हावादारी प्रचार गर्नहुँदैन । एकाध समस्या हुन सक्छन्, त्यसको समाधान गर्न सकिन्छ । केही समस्या आयो भन्दैमा हामीले डुब्यो भन्दै प्रचार गर्न हुँदैन ।’
उनले मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको र सुधारका प्रयासले नतिजा दिन थालेको दाबी गर्दै अर्थतन्त्र सुधार हुँदै गएको सूचकहरुले नै देखाएको बताए । “हामीले आर्थिक सूचकहरुमा तलमाथि गरेका छैनौँ । सूचक हरियो छ भने हरियो र रातो छ भने रातो नै प्रस्तुत भएको छ । तथ्यले हाम्रो अर्थतन्त्र सुधार हुँदै गएको देखाउँछ”, उनले भने ।
वर्तमान सरकार गठन भएपछि आर्थिक सूचकहरु सुध्रदै गएको उनको भनाइ छ । “आर्थिक परिसूचक अहिलेको भन्दा पहिला नकारात्मक थिए । ती परिसूचकलाई सकारात्मक बनाउन समय लागेको छ र निकै बढी मेहनत गर्नुपरेको छ । ओरालो लागेको अर्थतन्त्रलाई अहिले सकारात्मक दिसामा डोर्याएका छौँ”, उनले भने ।
सरकारले अध्यादेशमार्फत कानुन संशोधन गरेलगत्तै निजी क्षेत्रका छाता सङ्गठनले त्यसको स्वागत गरेको र यसले निजी क्षेत्रलाई अघि बढाउन भूमिका खेलेको उनले बताए । “पुँजीगत खर्चमा गुणात्मक सुधार गर्न सरकारले काम गरिरहेको छ”, अर्थमन्त्री पौडेलले भने ।
यसैगरी निर्माण व्यवसायीको भुक्तानी नरोकिएको पनि उनले बताए । “कुनै निर्माण व्यवसायीको भुक्तानी रोकिएको छैन । आजका दिनसम्म कसैले विधिसम्मत रुपमा दाबी गरेको छ भने भुक्तानी भएको छ”, उनले भने ।
सम्पत्ति शुद्धिकरण अनुसन्धान मामलामा ‘नेपाल फाइनान्सिएल एक्सन टाक्सफोर्स’को सम्भावित जोखिम सूचीमा पर्न नदिन नेपाल चनाखो रहेको उनले बताए । “सम्पत्ति शुद्धिकरण निवारण मामलामा हामीले गर्नुपर्ने कामको सूची छ । केन्द्रीय कार्यसूची बनाएर काम भइरहेको छ । त्यसलाई हामीले गम्भीरताका साथ कार्यान्वयन गरिरहेका छौँ । आफ्नो प्रतिष्ठा जोगाउँदै जाने विषयमा नेपाल सचेत छ”, अर्थमन्त्री पौडेलले भने ।