शीर्षकहरू

विधिसम्बत दाबी गर्ने निर्माण व्यवसायीको भुक्तानी रोकिएको छैन, विगतको पनि तिरिसक्यौँ : अर्थमन्त्री

विधिसम्बत दाबी गर्ने निर्माण व्यवसायीको भुक्तानी रोकिएको छैन, विगतको पनि तिरिसक्यौँ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले निर्माण व्यवसायीहरूलाई राज्यले गर्नुपर्ने भुक्तानीको समस्या समाधान भैसकेको दाबी गरेका छन् । आइतबार अर्थमन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले भुक्तानी पाएनाैँ भनेर कसैले भन्छ र आन्दोलन गर्छ भने त्यसमा सत्यता नरहेको जिकिर गरे ।

गत बुधबार मात्रै नेपाल निर्माण व्यवसायी महासंघले पत्रकार सम्मेलन गरेर पाँच चरणको आन्दोलनको घोषणा गरेको छ । महासंघले नाका बन्ददेखि निर्माण कार्य ठप्प पार्नेसम्मका कार्यक्रम तय गरेको छ । उक्त विषयमा सोधिएको प्रश्नमा मन्त्री पौडेलले कांग्रेस-एमाले गठबन्धनको सरकार बनेपछि सरकारले भुक्तानी दायित्व पूरा गरेको जिकिर गरे ।

उनले यस वर्षको मात्रै नभइ अघिल्लो वर्षको समेत भुक्तानी पहिले बाँकी रहेकोमा हाल सरकारले त्यो दायित्व पूरा गरेको बताए । 'अहिलेको मात्रै होइन, विगतको भुक्तानीको पनि निकै ठूलो दायित्व थियो । यो वर्ष होइन गत वर्षको भुक्तानी दायित्व यो वर्ष सरेर आएको थियो । सबै विकल्पमा छलफल गरेर भुक्तानी दायित्व तिरेका छौँ । राज्यले तिर्दिनँ, सक्दिनँ, ढिलो तिर्छुँ भनेर सुख पाउँदैन,' उनले भने, 'हामीले गम्भीर रुपले काम गरेका छौँ । आधारभूत रुपमा भुक्तानीको काम सकिएको छ ।'

उनले  कुनै पनि निर्माण व्यवसायीले विधिपूर्वक र कानुनपूर्वक दाबी गरेको छ भने भुक्तानी नरोकिने पनि प्रतिबद्धता गरे । 'कुनै पनि निर्माण व्यवसायीले भुक्तानी बाँकी छ भनेर आन्दोलन गर्छ भने त्यो सत्य होइन । कसैले पनि विधिसम्बत रुपमा दाबी गरेको छ भने भुक्तानी पाउँछ । भुक्तानीको समस्या समाधान गरेका छौँ । त्यो समस्या छैन ।'

उनले व्यवसायीहरूले गुणस्तर र तोकिएको समायवधिमा भने काम नगरेको आरोप लगाए । गुणस्तर र समयअवधिको सुनिश्चितता गर्न जरुरी भएको उनको भनाइ थियो ।