काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा हरियाली देखिएको छ । यसदिन नेप्से परिसूचक १२.५८ अंकले बढेर दुई हजार ६०१.२१ अंकमा बजार बन्द भयो ।
आज सेन्सेटिभ इन्डेक्स २.४१, फ्लट इन्डेक्स ०.८८ र सेन्सेटिभ फ्लट इन्डेक्स ०.७२ अंकले बढेको छ भने १३ उपसमूहमध्ये १० उपसमूहको शेयर उकालो लागेको छ । आज होटल तथा पर्यटन, म्युचुअल फण्ड र व्यापार समूहको शेयर भने घटेको छ ।
यसदिन कारोबारमा आएका २४३ कम्पनीमध्ये १७१ कम्पनीको शेयरमूल्य बढ्दा ६८ कम्पनीको शेयर भने घटेको छ । चार कम्पनीको शेयर स्थिर रहेको छ । आज बोटलर्स नेपाल (बालाजु)को शेयरमा सकारात्मक सर्किट लाग्दा सुपर मादी हाइड्रोका लगानीकर्ताले भने सर्वाधिक १० प्रतिशतले गुमाएका छन् ।
आज कारोबार रकम पनि बढेको छ । गत साता अन्तिम कारोबार दिन बिहीबार पाँच अर्ब ९३ करोड ३७ लाख रुपैयाँ बराबरको एक करोड १७ लाख ४९ हजार ७०१ कित्ता शेयर खरिदबिक्री भएकोमा आज ६ अर्ब २५ करोड ७२ लाख रुपैयाँ बराबरको एक करोड २९ लाख ८२ हजार ६१९ कित्ता शेयर कारोबार भएको छ ।