शीर्षकहरू

४ करोड १५ लाख बिगो दाबी गर्दै रविविरुद्ध रूपन्देहीमा मुद्दा दर्ता, चितवन र पर्सामा पनि तयारी

४ करोड १५ लाख बिगो दाबी गर्दै रविविरुद्ध रूपन्देहीमा मुद्दा दर्ता, चितवन र पर्सामा पनि तयारी

काठमाडौँ । सुप्रिम सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले आइतबार रविसहित ४२ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।

लामिछाने, उनका व्यावसायिक साझेदार तथा पूर्वडीआईजी छविलाल जोशीलगायतविरुद्ध १ अर्ब १२ करोड रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिएकोमा रविसँग मात्रै ४ करोड १५ लाख रुपैयाँ बिगो दाबी गरिएको छ ।

सुप्रिम सहकारीको ८६ करोड १८ लाख बढी बचत रकम हिनामिना भएको बताइएको छ । जसमध्ये १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा आएकोमा दुई करोड रुपैयाँ लामिछानेले प्रक्रिया पूरा नगरी ऋण लिएको आरोप छ ।

कास्की प्रहरीको हिरासतमा हुँदा रविले गत कात्तिक २७ गते उक्त विषयमा प्रहरीलाई आफ्नो बयान दिएका थिए । सूर्यदर्शन सहकारी रकम अपचलनको मुद्दामा कास्की अदालतले ६५ लाख र स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको मुद्दामा काठमाडौँ जिल्ला अदालतले ६० लाख रुपैयाँ धरौटीमा लामिछानेलाई रिहा गरेको थियो । उनीविरुद्ध बुटवल, चितवन र पर्सामा पनि सहकारीको रकम अपचलनको आरोपमा जाहेरी परेकोमा बुटवलपछि चितवन र पर्सामा पनि मुद्दा दर्ताको तयारी गरिएको छ ।

ती जिल्लामा पनि प्रहरीले यसअघि नै लामिछानेको बयान लिइसकेको छ ।