काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणमा निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडको कार्यालय नागपोखरी, काठमाडौंमा आइतबार बिहान कम्पनीको आईपीओ बाँडफाँट कार्यक्रम सम्पन्न भएको हो ।
कम्पनीको आईपीओ खरीदका लागि मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँट गरिएको हो । विक्री प्रबन्धकका अनुसार आईपीओ खरीदका लागि कुल १८ लाख ३० हजार ८५७ जनाको आवेदन परेको थियो । कु आवेदकमध्ये रितपूर्वक नभएको ८ हजार ४५२ जनाको आवेदन रद्द गरिएको छ । रितपूर्वक आवेदन दिएका १८ लाख २२ हजार ४०५ जना आवेदकलाई गोलाप्रथामा समावेश गराई आईपीओ बाँडफाँट गरिएको हो । भाग्यमानी १ लाख ८४ हजार ५०० जना आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् ।
कम्पनीले पुस २१ गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि १८ लाख ४५ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेवोन) ले कम्पनीलाई सर्वसाधारणमा कुल २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति दिएको हो कुल कित्ता आईपीओमध्ये २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि , १ लाख १२ हजार ५०० कित्ता सामुहिक लगानी कोषहरुका लागि , ६७ हजार ५०० कित्ता कम्पनीका कर्मचारीको लागि वितरण गरी बाँकी रहेको १८ लाख ४५ हजार कित्ता शेयर भने सार्वजनिक निष्काशन गरिएको थियो । यो कम्पनी नेपालको पहिलो डिजिटल प्रविधिबाट बीमालेख जारी गर्ने लघुबीमा कम्पनी हो ।
अधिकृत पूँजी ८० करोड रुपैयाँ रहेको कम्पनीको जारी पूँजी ७५ करोड रुपैयाँ छ । संस्थापक तर्फ चुक्ता भएको पूँजी ५२ करोड ५० लाख रुपैयाँ छ । सर्वसाधारणमा ३० प्रतिशत आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ७५ करोड रुपैयाँ कायम भएको छ । कम्पनीले नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम पूँजी बृद्धिका लागि आईपीओ निष्काशन गरेको हो ।गत आर्थिक वर्ष ०८०/८१ सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनी २७ लाख ५० हजार रुपैयाँ सञ्चित नाफामा रहेको छ ।
वास्तविक वित्तीय विवरण अघिल्लो आर्थिक वर्ष ०७९/८० सम्म भने कम्पनीको प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ ३४ पैसा छ । चालू आर्थिक वर्ष ०८१/८२ सम्म कम्पनीले ८४ लाख १४ हजार रुपैयाँ सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ ।