शीर्षकहरू

‘ऊर्जा क्षेत्रमा बैंकहरुले मात्र लगानी गरेर पुग्दैन, विदेशी लगानी भित्र्याउनु पर्छ’

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले नेपालको ऊर्जा क्षेत्रमा वैदेशिक लगानी आवश्यक रहेको बताएका छन् । नेपालका निजी क्षेत्रका ऊर्जा उद्यमीहरूको छाता सङ्गठन स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) को २२औँ साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

कार्यक्रममा बोल्दै उनले भने, ‘ऊर्जा क्षेत्रमा नेपालको बैंकहरुले मात्र लगानी गरेर पुग्दैन । नेपालमा ऊर्जा क्षेत्रमा विदेशी लगानी भित्र्याउनु पर्ने आवश्यकता छ ।’ 

ऊर्जा क्षेत्रले बिजुली उत्पादन मात्रै नगर्ने भएकोले यसले मुलुकको अर्थतन्त्रलाई नै योगदान दिन सक्छ । राष्ट्र बैंकले यस क्षेत्रमा लगानी गर्ने क्यापलाई १० प्रतिशतबाट बढाएर १५ प्रतिशतमा पुर्‍याउने हो भने बैंकहरुलाई सजिलो हुने उनले बताए । 

‘नेपालको निजी क्षेत्रले २० वर्षमा जुन उपलब्धि हासिल गरेको छ त्यो आफैमा निजी क्षेत्रले तयार पारेको इतिहास हो । जसलाई हामीले ग्लोबल लेभलमा सबैलाई देखाउन सक्छौँ । यसमा नेपालको बैंकिङ क्षेत्र पनि सहयात्रीकोरुपमा आएको छ’, अध्यक्ष केसीले भने ।

आगामी दिनमा पनि बैंकिङ क्षेत्र लगानी गर्न तयार रहेको उनले बताए । अध्यक्ष केसीले भने, ‘२०३५ मा पुग्दा २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने योजना छ । वित्तीय क्षेत्रले करिब १० बिलियन डलर फाइनान्स गर्नु पर्ने छ । आजको दिनमा हामीले करिब तीन सय अर्ब लगानी गरिसकेका छौँ । आगामी दिनमा पनि बैंकिङ क्षेत्र लगानी गर्न तयार छ ।’