शीर्षकहरू

युरोपकै ठूलो अर्थतन्त्र समस्यामा !

युरोपकै ठूलो अर्थतन्त्र समस्यामा !

एजेन्सी। सन् २०२३ को अन्तिम त्रैमासमा सङ्कुचन देखिएपछि जर्मन अर्थतन्त्र कठिन अवस्थामा छ। हाल जर्मनी मुद्रास्फीति र उच्च ब्याज दरको समस्यासँग जुधिरहेको ब्लूमबर्गले विश्लेषकहरूलाई उद्धृत गर्दै यस हप्ता रिपोर्ट गरेको छ।

जर्मनीको संघीय सांख्यिकी कार्यालय (डेस्टाटिस) को अनुसार, जर्मनीको अर्थतन्त्र अक्टोबर—डिसेम्बर सन् २०२३ मा लगभग स्थिर रह्यो। यो बेला जीडीपी ०.३ प्रतिशतले घट्यो। जनवरीमा मुद्रास्फीति ३ दशमलव १ प्रतिशतमा रहेकोमा वर्षभरि नै २ प्रतिशतभन्दा निरन्तर उच्च रह्यो।

त्यहाँ गत महिनाहरूमा उपभोक्ता मूल्यमा भएको वृद्धिले ब्याज दरमा उछाल ल्याएको छ। जसले उत्पादन र वित्तीय क्षेत्रहरूमा समस्याहरू देखा परेको छ। परामर्श फर्म अल्भेरेज र मार्सललाई उदृत गर्दै ब्लुमबर्गले हाल जर्मनीका लगभग १५ प्रतिशत कम्पनीहरू संकटमा रहेको जनाएको छ । जुन युरोपमा सबैभन्दा उच्च दर हो।

"जर्मनी साँच्चै समस्यामा छ ... सबै ठूला अर्थव्यवस्थाहरू सुस्त छन् तर, जर्मनीमा, यो उच्च ऊर्जामा भएको  लागतले थप जटिल बनाएको छ । चीनबाट आउने प्रतिस्पर्धासँगै अटो क्षेत्रमा पनि चुनौतीहरू छन्, ” युकेको ब्यारिङ्ग्स बैंकका फन्ड म्यानेजर ब्रायन मङ्गविरोले ब्लूमबर्गसँग भनेका छन् ।

सन् २०२४ को प्रारम्भिक सर्वेक्षणहरूले आर्थिक सङ्घर्षहरू निकट भविष्यमा समाप्त हुने आशा कमै हुने सङ्केत गरेको समाचारमा उल्लेख छ। "जर्मनी युरोपको सबैभन्दा संकटग्रस्त बजारको रूपमा उभिएको छ... देशको आर्थिक परिदृश्य अन्धकार छ, यसको सरकार र युरोपेली आयोग दुवैले उच्च मुद्रास्फीति, उच्च ऊर्जा मूल्य र सुस्त अन्तर्राष्ट्रिय व्यापारका कारण सन् २०२४ को लागि यसको अर्थतन्त्रमा ०.४ प्रतिशतको सङ्कुचन हुने प्रक्षेपण गरेको छ," वेल युरोपियन डिस्ट्रेस इन्डेक्सका अनुसार, जसले बिग्रँदै गएको लगानी, तरलताको दबाब र स्थिर नाफालाई अहिले देशको प्रमुख आर्थिक समस्याको रूपमा उद्धृत गरेको छ।

विश्लेषकहरूका अनुसार घर जग्गा क्षेत्रको समस्या र आर्थिक वृद्धिको कमीले जर्मन बैंकहरूको लागि समस्या निम्त्याउने छ। “करिब एक तिहाइ लगानी घर जग्गा ऋणका रुपमा भएको छ । त्यसैले त्यहाँका बैंकहरुले गएको तीन वर्षमा उच्च उधारो लागतको सामना गर्नुपरेको छ। जसले क्रेडिट डिफल्ट र कमजोरी निम्त्याउन सक्छ”, जर्मनीको केन्द्रीय बैंकको हालैको रिपोर्टमा उल्लेख छ ।