-गोपीकृष्ण न्यौपाने
यो आलेख महाप्रबन्धकको रूपमा करिब तीस महिना अहोरात्र खटेको उद्योग उदयपुर सिमेन्टको बारेमा केन्द्रित छ । कतिलाई लाग्न सक्छ, छोडेको ठाउँको चासो किन ? तर, यो उद्योगको बारेमा प्रत्येक नेपाली नागरिकलाई जान्न पाउने अधिकार छ र मैले बुझेका कुरा बाहिर ल्याउँदा नीति निर्मातादेखि यस विषयमा चासो राख्ने सबैलाई लाभदायक नै हुन्छ भन्ने मेरो विश्वास छ।
हुन त यो संघ अन्तर्गत राखिएको राष्ट्रिय उद्योग हो तर सरकारको यसलाई हेर्ने नजरिया भने ‘राष्ट्रिय दृष्टिकोण’को छैन । संघीय सरकारको प्राथमिकतामा नपर्नु, प्रदेश तथा स्थानीय सरकारको अपनत्व नहुनु, राजनीतिक हस्तक्षेपको सिकार बन्नु, कर्मचारी युनियनको दबदबाले व्यवस्थापन दबिएर सही समयमा सही निर्णय लिन नसक्नु, साङ्गठनिक प्रकृतिका भ्रष्टाचार हुनु र आवश्यकता भन्दा बढी कर्मचारीको भर्ती केन्द्र बनाइनु आदि कारणले यो उद्योगको आर्थिक अवस्था जर्जर बन्दै गएको छ । र, पछिल्लो समयमा उद्योग नै बन्द हुने अवस्थासम्म पुर्याएर कुनै निजी उद्योगलाई खानी नै बेच्ने प्रयासमा केही उच्च पदस्थहरू लागि परिरहेको अवस्था छ ।
नजिकैको मारुती सिमेन्टको उत्पादन क्षमता ३ सय टनबाट शुरु गरेर अहिले ३ हजार टन दैनिक उत्पादन सहित प्रगति गरिरहँदा मारुतीको तुलनामा सम्पूर्ण सुविधाहरू हुँदापनि यस उद्योगले आफ्नो उत्पादन क्षमता बिस्तार त कता कता भएको दैनिक ८ सय टन क्षमताको ३० प्रतिशत औषत उत्पादन मात्र गर्नु लज्जास्पद कुरा हो । कुनै समयमा बजारमा एकाधिकार जमाएको गैँडा छाप सिमेन्ट आज ६५ वटा उद्योगका सयभन्दा बढी ब्राण्डसंग उच्च लागत सहितको यति थोरै परिमाण लिएर प्रतिस्पर्धामा उत्रिनु सम्भव नै छैन, लागतको हिसाबले । त्यसैले अलौकिक प्राकृतिक उपहार सिन्धुली खानीको पूर्ण उपयोग गर्न सके मात्रै पनि उदयपुर जिल्लाले औद्योगिक विकास तर्फ गति लिन्छ भन्ने कुरा उदयपुरका अग्रज नेतृत्वले महसुस गर्न जरुरी छ ।
खानीको स्थिति
उदयपुर जिल्लाको सिन्धुली भन्ने डाँडामा रहेको करिब ७ करोड ३५ लाख मे। टन सिमेन्ट उत्पादन क्षमता भएको चुनढुङ्गा खानी, एउटै चट्टान, ५ वर्ग किलोमिटर फैलिएको १०९ मिटर गहिरो अवस्थितिमा रहेको छ । यो चुनढुङ्गाको Mgo(magnesium oxide) 2% भन्दा कम र calcium-containing inorganic material (CaO) 52% भन्दा बढी रहेको यस खानीमा रहेको चुनढुङ्गा हालसम्म ६ प्रतिशत अर्थात् ३८ लाख मे. टन मात्रै उत्खनन भएको छ । अहिलेकै धिमे गतिमा उद्योग सञ्चालन गर्दा लगभग ४ सय वर्षलाई यो खानीले पुग्ने अनुमान गरिएको छ ।
अझ अनुसन्धान गर्ने हो भने यो खानीको आसपास अरू सानाठूला खानी रहेको र केही खानीहरू निजी उद्योगहरूले भित्रभित्रै हडपिसकेको खानी विभागकै कर्मचारीहरूको भनाई छ । यसबाट हामीलाई के अनुमान गर्न सहज हुन्छ भने यो क्षेत्रमा प्रकृतिले अलौकिक उपहार दिएको छ, जसको उपयोग गर्न सके मुलुकले आर्थिक रूपमा काँचुली फेर्न सक्छ । तर, हामीले उपयोग गर्न सकेका छैनौँ ।
तत्काल गरिनुपर्ने सुधारहरू (अल्पकालीन योजना)
क. मेसिन बनाऔँ, कर्मचारीको मनस्थिति बदलाेस्
जीर्ण अवस्थामा रहेको ३१ बर्ष पुरानो यो उद्योग जापान सरकारले अनुदान स्वरूप दिएको उपहार हो । वि. सं. २०४९ सालमा यसले व्यावसायिक उत्पादन शुरु गरेर वि. सं. २०५१ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरेर गयो । तत्पश्चात् यो उद्योगको नियमित गर्नुपर्ने सामान्य मर्मत सम्भार बाहेक योजनाबद्ध पुँजीगत प्रकृतिको मर्मत सम्भार, समयानुसारको स्तरोन्नति, नवप्रविधिमैत्री हुन सकेन । उद्योग बनाएर उत्पादन बढाउने भन्दा पनि अनावश्यक खरिद तर्फ चासो दिएकाले आज पनि झण्डै अर्ब रुपैयाँ हाराहारी मूल्यका काम नलाग्ने पार्टपुर्जा, ईंटा आदिले स्टोर भरिएको छ । लथालिङ्ग रहेको स्टोर्स मिलाउन मात्रै व्यवस्थापनले एक वर्ष कसरत गर्नुपरेको अनुभव स्वयम् लेखकसँग छ ।
अहिले खासगरी रोपवे जीर्ण अवस्थामा छ, सेकेण्डरी क्रसर, स्ट्राइकरररिक्लाइमर, रमिल, जिसिटी, रमिल सेल्लो, क्लिन सेल, बर्नर, कोलमिल, सिमेन्ट मिल आदि अत्यन्त जोखिममा सञ्चालनमा रहेका छन् । ग्याँस एनालाइजर, भिएफडी लगायतका संयन्त्रहरूले काम गरेका छैनन । रमिलको क्यापासिटी बढाउन भनेर खरिद गरेको पावरप्याक विवादास्पद बनेर थन्किएको अवस्थामा छ । यी सबै कारणले गर्दा उद्योग पटक पटक ब्रेक डाउन हुने गर्छ । सिस्टमको कुरा गर्दा उ बेलाको मिट्सुबिसी ए सेरिज, अहिले बजारमा क्यु सेरिज पुगिसकेको अवस्था छ । हरेक मेसिनको अडिट भएको छ र केही मेसिनको पुँजीकृत किसिमको मर्मत सम्भार, केही फेरिनुपर्ने र केही स्तरोन्नति हुनुपर्ने प्रकृतिका छन् ।
म महाप्रबन्धक भएर पुग्दै गर्दा क्लिन सेलको सेकेन्ड टायरमा क्र्याक भएर क्लिन नै जोखिममा थियो । भारतीय एक्सपर्ट बोलाएर तत्काल टालटुल गरी दुई वर्ष सुख दुःखले चलाइयो र क्लिन सेल फेर्ने टेण्डर खोली सम्झौता गरी अन्तिम तयारीमा हुँदा पनि हामीसँग पुँजीको अभावले फेर्न सकिएन । सायद अब छिट्टै फेर्ने काममा व्यवस्थापन जुटेको हुनुपर्छ । बर्नर एकातिर बाल्यो, अर्कोतिर बल्ने खालको भएको थियो, मर्मत सम्भार गरी चलाइयो । एउटा कामै नलाग्ने बर्नरसँग नयाँ बर्नर बाइब्याक सिस्टमबाट खरिद गर्ने भनेर निर्णय गरेर पनि खरिद गर्न सकिएन, फाइल सदर भएर बसेकै अवस्था छ ।
ख. कर्मचारीलाई कामप्रति उत्तरदायी बनाऔँ
अर्को महत्त्वपूर्ण पाटो हो यी मेसिन चलाउने जनशक्ति र मित्रहरूको इच्छाशक्ति । कर्मचारीको सङ्ख्या हेर्दा धेरै देखिने तर काम गर्ने अनुभवी जनशक्ति एकदमै कम रहेको अवस्थामा मैले पद बहाली गरेको थिएँ । तैपनि केही साथीहरूले सुरुसुरुमा दिलोज्यान दिएर काम गर्नुभएकोले उत्पादनलाई नियमित गर्न सफलता मिलेको थियो ।
तर, पछि जब मेरो दुई वर्षबाट तेस्रो वर्षका लागि म्याद थपियो, त्यसपछि भने उद्योग चल्दा भन्दा नचल्दा लाभ देख्ने कर्मचारीहरूले बाधा उत्पन्न गर्न थाले । कर्मचारी युनियन त्यस्तो प्रवृत्तिको मतियार बन्यो । फलतः केही कर्मचारीले सिफ्टमा लापरबाही गरी फ्लसिङ गराएर, कोल सेण्डिङ सिष्टम बिगारेर, जिसिटी भल्ब नखोलेर, बिद्युतको तार काटेर वा यस्तै यस्तै हर्कत गरेर ब्रेक डाउन बढाउन नेगेटिभ योगदान गरे ।
थाहा पाउनेले पनि ‘कम्प्लेन’ गर्न सकेनन्, मौन बसिदिए, मेसिन ब्रेक डाउनको महत्त्वपूर्ण कारक हो तर मेसिन चलाउनेहरूको लापरबाही, योग्यता, क्षमता, रात्रिकालीन सिफ्टमा आराम गर्ने जस्ता मानवीय कारण उतिकै महत्त्वपूर्ण छन्, ब्रेक डाउन बढाउन । तसर्थ, एक वा दुई जना प्रोसेस, ल्याब, मेकानिकल,इलेक्ट्रीकल बुझेका अनुभवी एक्सपर्टहरूको विशेषज्ञ सेवा पनि अति नै जरुरी देखिन्छ ।
ग. सहायक कच्चापदार्थको गुणस्तरमा ध्यान दिऔँ
अर्को रह्यो सहायक कच्चापदार्थहरू कोइला, आइरन ओर, रातोमाटोको गुणस्तर । कोइलाको कुरा गर्दा जिसिभी ५७०० र मोइस्चर ५ प्रतिशतको कोइला खरिद गर्ने गरेको रहेछ । पछि अध्ययन गर्दै जाँदा कोइलाको रेन्ज अनुसार मूल्य हुँदोरहेछ, जस्तै ४५००५०००, ५०००५५००, ५५०० आदि काम गर्दै जाँदा जिज्ञासा जाग्यो, किन हामीले राउण्डफिगरको जिसिभी कायम नगरेर ५७०० कायम गरेको होला रु खोजी गर्ने क्रममा कोल मिल सप्लाइ गर्ने हेभी इक्वीप्मेण्टस जापानको म्यानुअल भेटियो । जसमा कोइलाको जिसीभी ५४७० लेखिएको थियो, मोइष्चर १० प्रतिशतसम्म ।
अनि किन यो स्पेसिफिकेसन चेन्ज गरेको, कहिले कसको निर्णयबाट भनेर खोजी गर्दा कुनै निर्णय देखाउन कसैले सकेन । त्यसपछि परीक्षणको रुपमा ५५०० जिसिभीको कोइला मगाउने निर्णय गराइ टेण्डर खोलियो, मोइष्चर पनि १० प्रतिशत सम्म कायम गरियो । टेण्डर पर्यो, सस्तो पनि आयो, आएको कोइलाको पर्फर्मेन्स पनि ५७०० को भन्दा कम भएन । अहिले ५४७० जिसिभी र १० प्रतिशत कायम छ । यसमा वर्षौंदेखि खाइखेली गर्ने झुण्डले अख्तियारमा गुणस्तर घटाएर कोइला ल्याएकोले सिमेन्टको गुणस्तर खस्कियो भनेर उल्टो उजुरी गर्यो, सोधिएका कुराहरूको प्रमाण सहित स्पष्ट पारेपछि त्यो सम्बन्धमा थप केही सोधिएको छैन, यो त एउटा दृष्टान्त मात्रै हो ।
बेलाबेलामा सप्लायर्सले न्यून गुणस्तरको कच्चापदार्थ पठाएर पनि झुक्याउन सक्ने वा हाम्रै कर्मचारीको मिलेमतोमा भित्र्याइने गरेको कुरालाई पनि नकार्न सकिन्न । यसमा पनि मूलत स्टोर, ल्याब र उत्पादन शाखा चनाखो रहनै पर्छ । एक दुई लट उच्च गुणस्तरको पठाउने अनि पछि पठाएको सामान न्यून गुणस्तरको पनि रहेको पाइयो । कच्चापदार्थ कोइला, आइरन ओर र जिप्समको आपूर्ति नियमित हुन नसक्दा पनि उद्योग ब्रेक डाउन गर्नुपर्ने स्थितिको सृजना भएको अनुभव छ।
घ. बिक्री प्रवर्द्धन जरुरी
उदयपुर सिमेन्टको उत्पादन गैँडा छाप सिमेन्ट दक्षिण एसियामै उत्कृष्ट गुणस्तरको सिमेण्ट हो । दैनिक २३ हजार बोरासम्म बिक्री भएको अवस्था महसुस गर्ने मौका मिलेको थियो । तर, कार्यकालको उत्तरार्धमा यो सिमेन्टको बिक्री घट्नुको मूल कारण सञ्चालक समितिका अध्यक्षको दबाबमा भएको बिक्री नीतिको परिवर्तन जिम्मेवार छ भन्ने सम्बन्धित सबैलाई थाहा छ ।
स्थानीय ठूला डिलरहरूलाई बहिर्गमन गराउन होंसी र सौर्य सिमेन्टका एजेन्टहरूले ठूलै भूमिका खेले र गैँडा सिमेन्टको खेदो खन्न थाले । यता महाप्रबन्धकलाई फेल गराउने योजनामा लागेका उद्योगका उच्च पदस्थ कर्मचारीहरूले सिमेन्टमा जिप्समको मात्रा स्टाण्डर्ड बमोजिम मिश्रण नगर्दा बजारबाट अत्यधिक गुनासो आयो, अर्को अर्थमा ती जो जसले यो हर्कत गरे, आफ्नो खुट्टामा आफै बन्चरो हान्ने काम गरे ।
अर्को कारण उच्च कोटीको चुनढुङ्गाबाट उत्पादित गैँडा छाप सिमेन्टको गुणस्तर जसो जे गरे पनि ४३ ग्रेड त यसै नत्र ५३ ग्रेड निस्कन्छ नै । क्लिंकरसम्मको उत्पादन यही गुणस्तरको हुँदाहुँदै क्लिंकर पछि ९५ प्रतिशत क्लिंकर र ५ प्रतिशत जिप्सम मिसाउनु पर्ने हुन्छ र सिमेन्ट बन्छ । गुणस्तरको फर्मुलाको जिम्मेवारीमा रहेका पदाधिकारी र सिमेन्ट उत्पादन गर्ने उच्च पदस्थ कर्मचारीको मिलेमतोमा कहिले जिप्सम घटी मिसाइदिएर वा कहिले बढी मिसाइदिएर सिमेन्ट सेटिङ हुने समयमा खेल्ने दूस्साहस भयो ।
कहिले मुछ्तामुछ्तै सेटिङ भइहाल्ने, कहिले ७ दिनमा हुने सेटिङ १४ दिनमा पनि नहुने जस्ता गुनासो बजारबाट आउन थाल्यो । तर, सिमेन्ट गुणस्तरकै थियो, मात्रै सेटिङ हुने समय गडबड भएको थियो । यसरी गुणस्तरको सिमेन्ट कमसल हो, यो सबै जिएमले गराएको भन्ने जस्ता भ्रम समेत फैलाइए । एक व्यक्ति असफल बनाउन खोज्दा उद्योग नै असफल हुने कुरा बिर्से स्वार्थीहरूले । जसको परिणाम अहिले भोग्नुपरिरहेको छ ।
यिनै सबै कारणले गर्दा आव २०७८/७९ को तुलनामा आव २०७९/८० मा उत्पादन नियमित रुपमा बजार पठाउन, बजार बिस्तार गर्न सकिएन । पछि सञ्चालक स्तरीय समिति गठन गरी सायद एकैचोटी धेरै जना साङ्गठनिक अपराध गर्नेहरूलाई सजाय समेत गरिएको थियो । स्थानीय निकायसँग समन्वय गरेर उदयपुर जिल्लाका ८ वटै पालिकामा सिमेन्ट दिने व्यवस्था मिलाउँछु भनेर अध्यक्षले भन्नुभयो, तर इमानदार प्रयास भएन, त्यो गर्न नसकेकोमा सबैले आ-आफ्नो हिस्साको जिम्मेवारी लिनपर्छ ।
अर्को कारण, पटक पटकको ब्रेक डाउनको कारण उत्पादन नियमित बजारमा पुग्न सकेन, त्यो ग्यापको अवसर निजी सीमित कम्पनीले बजार लिने मौका पाए । दैनिक १६ हजार ८ सय बोरा उत्पादन हुनुपर्नेमा लगभग ५० प्रतिशत उत्पादन भइरहेकोमा पछिल्लो आर्थिक वर्ष २०७९/८० मा एक चौथाइ उत्पादन पनि भएन ।
किन काम गर्न दिइएन, कसको हात थियो ?
यो विषयमा कुराको थालनी एक प्रश्नबाट गरौँ ‘गोपीकृष्ण न्यौपानेले छोडेको भोलिपल्ट देखि उद्योग चल्ने मात्रै होइन दौडिने छ’ भन्ने भ्रम फैलाएर कर्मचारी भड्काउने तत्कालीन चारै वटा युनियनका अध्यक्षहरूले किन अहिले उद्योग दौडाइरहनुभएको छैन रु आखिर, त्यो हर्कतबाट के प्राप्ति भो रु किन व्यक्ति विरुद्ध खनिनुभयो रु यसभित्र महत्त्वपूर्ण रहस्य घुसेको छ ।
पहिलो, अध्यक्ष स्वयं मलाई हटाएर अर्को जिएम नियुक्त नहुन्जेल भए पनि कार्यकारी प्रमुख बनेर आफ्नो दुनो सोझ्याउने अभिलाषामा हुनुहुन्थ्यो । दोस्रो, उच्च पदस्थ कर्मचारीको ‘फाल्तु कमाइ’ म गएपछि रोकिएको थियो । तेस्रो, म जानु अघिका केही फायलहरू अख्तियारले छानबिन गरिरहेको थियो । तर, मैले यसमा भूमिका खेलेँ भन्ने पूर्व उच्च प्रशासकहरूलाई भ्रम थियो । चौथो, मैले राजनीति गरेर मेरो र उसको पक्ष कहिल्यै भनिन, त्यसो हुँदा ठिक बेठीक भन्दा पनि सबैले मेरो बहिर्गमनमै फाइदा देखे ।
पाँचौ, केही सप्लायर्सहरु जो एकको पाँच बनाएर भ्रष्टाचार गर्न गराउन उद्धत थिए, तिनको पनि साथ हुने कुरा भएन । छैटौँ, मेयर साब, प्रदेश माननीय र संघीय माननीयलाई मैले गर्दै नगरेका कुरा सुनाएर अध्यक्ष, केही मजदुर नेता र केही सप्लायर्सले मेरा विरुद्ध प्रयोग गरे र उद्योग मन्त्रीसँग मजदुरलाई उजुरी गराउनेदेखि अनेकन् हर्कत गराए । सातौँ, म जानु अघि केही पत्रकारहरूलाई महिनैपिच्छे सहयोग दिने गरेको रहेछ, मैले मेरो पालामा कटौती गरेँ,त्यसैले साचाे अर्थमा पत्रकारिता गर्ने बाहेक त्यसरी पल्केका पत्रकार रयुट्युबरहरु मेरा विरुद्ध अनर्गल प्रचार गर्दै खनिए।
तर पनि म टिकिरहेँ । उद्योग बनाउने पैसाको लागि दौडिरहेँ । त्यो बेला मलाई १५ करोड देऊ, म उद्योग चलाइदिन्छु भन्दा सकिँदैन भनेर निरीहता प्रकट गर्ने मन्त्रीले नै म हिँडेपछि मैले नै पेस गरेको फाइलमा १६ करोड दिए, अहिले उद्योगमा पैसा गएको छ । किन म हुँदा नदिएर अहिले दिएको होला रु भन्ने प्रश्न स्वाभाविक छ । जे होस पैसा आयो तर यो पैसा मेसिन बनाउन आएको हो, मेसिनमै प्रयोग गर्नुपर्छ, घुमाई फिराइ चोर बाटोको अन्तै खर्चेर मेसिन नबनाइने पो हो की रु भन्ने डर छ, आम कर्मचारी माझमा ।
यसअघि भएका केही कामहरु
उल्लेखित कारणहरूले मैले मेरो कार्यविधि भन्दा करिब ७ महिना अगावै उद्योगबाट बाहिरिनुपर्ने बाध्यता भए पनि जति काम गरेँ, २४ सै घण्टा दिलोज्यान दिएर काम गरेँ भन्ने कुरा निम्न तथ्यहरूले पुष्टि गर्छन् ।
क. सूशासनतर्फ: बन्दप्रायः रहेको उद्योग चल्यो । आवश्यक पर्ने कच्चापदार्थको नियमित उत्पादन वृद्धि गरियो । सुशासन कायम गरियो । कर्मचारीलाई तिर्नुपर्ने दायित्व मध्ये १५ करोड रुपैयाँको हाराहारीमा आफ्नै कमाइबाट भुक्तानी गर्न सफल भइयो । लोडसेडिङको बेला उद्योगको लाइन गाउँघर तिर दिएकोमा सर्वसहमतिमा कटौती गर्न सम्भव भयो । क्लिंकर लगायत अन्य वस्तुहरूको भौतिक परीक्षण, आन्तरिक लेखा परीक्षण गर्न शुरु गरियो ।
उद्योगको लिलाम भैसकेको २ कठा १७ धुर जग्गा फिर्ता प्राप्त गर्न सफलता हात पर्यो । करिब २० बिगाहा जग्गा रोक्का फुकुवा गराएको, बेल्टारको रातोमाटोको टिओआर पास गराइ सकिएको, खानीबाट स्वीकृत प्राप्त भई वातावरणीय प्रभाव मूल्याङ्कनको क्रममा रहेको, उद्योगको जग्गाको लगत सहित हालसाबिक भएको, सम्पूर्ण स्थिर सम्पत्तिको बिमा गरिएको, माग फाराम र जाँच पास पद्धतिलाई संस्थागत निर्णयको आधारमा मात्र खरिद तथा दाखिला गर्ने पद्धतिको विकास गरिएको छ । अधिकृत बिक्रेताहरू र इन्सेण्टिभ प्रणाली सहितको बिक्री नीति लागू गरिएको, १५ वर्षको रोकिएको वार्षिक साधारण सभा गराई २०४४ सालदेखि २०७८/७९ सम्मको कम्पनी रजिस्ट्रार अभिलेख दुरुस्त बनाई शेयर लगत लिन सफल भएको ।
ख. NFRS तर्फ: उद्योगको सम्पत्ति दायित्वको यथार्थ मूल्यांकन गरी आव २०७६/७७ सम्मको एनएफआरएस अन्तर्गत बनेको वित्तीय विवरण बमोजिम खुद नोक्सानी रु. ५,१९,९१,५९,८७०।२९ र आव २०७७/७८ को मात्रै खुद नोक्सानी ३०,६०,१७,२३१।६३ गरी लगभग खुद सञ्चित नोक्सानी र ५ अर्ब ५० करोड ६० लाख रुपैयाँ परिवर्तन भई रिजर्भ एण्ड सर्प्लसमा ५६ लाख ३८ हजार रुपैयाँ कायम गरिएको कारण नेटवर्थ सकारात्मक भएको छ । वित्तीय विवरण हेरेर कमर्सियल बैकले ऋण दिन सक्ने अवस्था थिएन, अब कमसेकम उपयुक्त परियोजनामा बैंकहरुले ऋण दिन सक्ने वातावरण बनेको छ ।
ग.O & M Survey: ६१३ जना स्थायी र १८४ जना अस्थायीरकरारर दैनिक ज्यालादारी गरी कायम रहेको दरबन्दीको पुनरवलीकन गरी सबै मिलाएर ५३३ जनामा सीमित गरिएको । सांगठानिक ढाँचा समेत समसामयिक परिमार्जन गरिएको ।
घ. CSR: उद्योग रहेको क्षेत्र वरिपरि उद्योगको धुलोबाट प्रभावित नागरिकको उपचारको लागि देउरी स्वास्थ्य चौकीमा बाह्य श्रोतबाट रु. ३० लाखको प्रयोगशाला स्थापना, रु. १५ लाखको एम्बुलेन्स र रु। ७ लाख नगद उपलब्ध गराएको । वडा नं. ७र८ मा एम्बुलेन्स खरिद गर्न रु.२ लाख सहयोग गरेको । वडा नं. १६ खानी क्षेत्र सुकौरामा रु. २० लाख सहयोग जुटाइ एम्बुलेन्स खरिद गरेको । प्रति बोरा रु. २.५० को दरले आव २०७८/७९ मा त्रियुगा नगरपालिकामा रु. ६० लाख दिन सफल भएको । यस बाहेक प्रभावित क्षेत्र, स्थानीय प्रशासन, बेलकामा ग्याँस प्लान्ट स्थापनाको लागि समेत सिमेन्ट सहयोग गरेको ।
ङ. सौर्य ऊर्जाको सम्भावना लगायतको अध्ययन उद्योग मन्त्रालयको बजेटमा १० मेगावाटको सौर्य ऊर्जा स्थापनाको लागि अध्ययन भइसकेको छ । अब पहल गर्दा वैकल्पिक ऊर्जा केन्द्र वा अन्य स्रोतबाट लगानी हुने गरी सौर्य प्लान्ट अनुदानमा स्थापना गर्ने कार्य मेरो बहिर्गमन सँगै रोकिएको छ । सिमलगांछी देखि उद्योगको गेटसम्म आरसिसी र त्यसपछि गाउँको खोलासम्म पिच, बिचको पुल समेत गरेर ७ करोडको सडक पहुँच मार्ग अन्तर्गत मन्त्रालयको छनौटमा परेको सडकको काम समेत कसैले चासो नलिँदा अघि बढ्न सकेको छैन । उद्योग रहेको जमिन र खानी रहेको जमिन २०४६ सालमै मन्त्रीपरिषद्को निर्णयले उदयपुर सिमेन्टलाई दिइसकेको देखिन्छ तर लामो समयसम्म नामसारी नगरेको कारणले बन मन्त्रालयको नाममा रहेको उक्त जग्गा उद्योगको नाममा ल्याउन अघि बढाइएकोमा त्यो पनि त्यतिकै पेण्डिङ देखिन्छ ।
च. यत्रतत्र छरिएर रहेका पत्रु संकलन गरी लिलाम बिक्री गर्न सफलः कारखाना स्थल तथा खानीमा यत्रतत्र फालिएर कुरूप अवस्थामा रहेका सामानहरू संकलन गरी ती मध्ये कुन कुन सामान पत्रु हुन् भनी छुट्याउन कमिटी गठन गरी सो को प्रतिवेदनको आधारमा उदयपुर जिल्ला प्रशासन र कोलेनिकाका प्रतिनिधिहरू समावेश रहेको मुल्यांकन समितिबाट मुल्यांकन गरी पहिलो चरणमा सवारीसाधन बाहेक र दोस्रो चरणमा सवारीसाधन र अन्य बाँकी पत्रुको टेण्डर खोली प्रतिस्पर्धा गराई बढी बोलकबोल गर्नेलाई पत्रु हस्तान्तरण कमिटी मार्फत हस्तान्तरण गरी अत्यन्त पारदर्शी ढङ्गले प्राय उद्योगका सबै पदाधिकारीको सहभागितामा ५ करोड ४९ लाख रुपैयाँ आय आर्जन गर्न सफल भएको र यी सबैको सम्बन्धमा कार्य सम्पन्न भएको सर्वसम्मत निर्णय गरिनु निकै महत्त्वपूर्ण उपलब्धि थियो ।
छ. प्रबन्ध पत्र, नियमावलीमा महत्त्वपूर्ण संसोधनः
प्रबन्ध पत्र, नियमावली कम्पनीको लागि महत्त्वपूर्ण कानुनी दस्ताबेज हो । यसमा सिमेन्ट मात्र बिक्री गर्ने भन्ने उद्देश्य रहेकोमा क्लिंकर पनि बिक्री गर्न सक्ने व्यवस्था मिलाएको छु । त्यसैगरी सरकारी(निजी साझेदार कार्यक्रम अन्तर्गत लगानीको बाटो खोली नयाँ छुट्टै उद्योग स्थापना गर्न सकिने व्यवस्था गरिएको छ ।
अब के गर्ने ?
क. थोरै लगानीमा क्षमताको पूर्ण उपयोग
जापान सरकारले उ बेला यो उद्योगको डिजाइन गर्दा ११०० टन दैनिक क्षमताको गरेको कारण केही महत्त्वपूर्ण मेसिन उपकरण सोही अनुसार जडान गरिएको छ । करिब ५६ करोड रकम लगानी गर्ने हो भने यो उद्योगको अहिलेको दैनिक ८ सय टन क्षमता पुरै उपभोग गरी थप ३ सय टन क्षमता बिस्तार हुन्छ । यदि यसो भयो भने थप लगानी भएको रकम तीन वर्षमा फिर्ता गर्न सकिन्छ भन्ने कुरा भारतको DCPL भन्ने कम्पनीको अध्ययन प्रतिवेदनले देखाएको छ । यसकै आधारमा हामीले पेस गरेको प्रस्ताव उद्योग मन्त्रालयले स्वीकृति गरी ऋण सहयोगको लागि अर्थ मन्त्रालयमा सिफारिस गरेको हो ।
अर्थ मन्त्रालयले तत्कालीन अवस्थामा ऋण दिन आनाकानी गरेपछि उद्योग र अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक हुँदै राष्ट्रिय वाणिज्य बैंक सम्म पहल गर्दा फायल लगभग निर्णयको अन्तिम अवस्थामा थियो, महाप्रबन्धक उद्योगमा केन्द्रित नभई काठमाडौँ केन्द्रित भयो भन्ने आरोप लगाउने मौका पाए र दुखको कुरो मेरो यत्रो प्रयास बालुवामा पानी हालेजस्तै भयो, खेर गयो । त्यसपछि यस सम्बन्धमा कुनै प्रयास भएन यो ऋण सुविधा लिएर उद्योग पुनर्निर्माण गर्ने सन्दर्भमा ।
ख बजार पुनर्स्थापना गरौं
अब पनि केही बिग्रेको छैन,सञ्चालक समितिको बैठक बसेर बिक्री नीति परिवर्तन गरौँ । नाफा घाटा नहेरी आफैले डिपो खोलेर भए पनि अरूको दाँजोमा उपयुक्त मूल्य निर्धारण गरेर बिक्री व्यवस्था मिलाउन उपयुक्त हुनेछ । केही स्थानीय अन्य सिमेन्टका डिलरहरूले गलत प्रचारप्रसार गरिदिएर पनि बिक्री हुन नसकेको यथार्थता हो । आज बजारमा गैँडा छाप सिमेन्ट खोजी गर्ने ग्राहकको सङ्ख्या धेरै छ, तर पाइँदै पाइँदैन भन्ने आवाज चिर्न पनि आफ्नै डिपो आवश्यक छ । डिपो मार्फत घरघरमा गैँडा सिमेन्ट पुर्याउन सकिन्छ । लापरबाही गरी गुणस्तर बिगार्ने वा बिगार्न दुरुत्साहन गर्ने उपर कडा कारबाहीको आवश्यकता पनि त्यतिकै छ ।
अर्कोतिर प्रोजेक्टहरूमा धुलो सिमेन्ट जाने भएकोले प्याकिङ सिस्टममा थप गरौँ, अझ पनि केही बिग्रेको छैन । हाम्रो लागत हेर्दा कच्चापदार्थ बाहेक क्लिंकर उत्पादनमा भन्दा सिमेन्ट उत्पादनमा बढी छ । त्यसैले उद्योग बनाएर क्लिंकर नै बिक्री गर्न पनि सकिन्छ । क्लिंकर अरू सिमेन्ट उद्योगहरूले कच्चापदार्थको रुपमा खरिद गर्नेछन् । बिक्रीका दक्ष कर्मचारीलाई समेत राजीनामा दिन बाध्य गराउने युनियनका अध्यक्षहरूले बिक्रीको जिम्मेवारी लिनुपर्छ र सञ्चालक समितिलाई उपयुक्त सुझाव दिएर बिक्री बढाउन ढिलो गर्नुहुन्न । असल कर्मचारी धेरै हुनुहुन्छ, केहीको कारणले सबैलाई बदनाम नगरौँ । उद्योग छिटोभन्दा छिटो मर्मत सम्भार गरेर चलाऔँ, उद्योग चल्छ, चलाउनैपर्छ ।
ग. थप ऋण लिने, कमाएर तिर्ने
अहिले सरकारले उद्योग बनाउन १६ करोड प्रदान गरेको छ, सही काममा सदुपयोग गर्नुपर्छ, सरकार ऋण थप्न तयार छ, प्रस्ताव तयार गर्नुहोस् राष्ट्रिय वाणिज्य बैंकमा ४० करोडको फाइल स्वीकृतको अन्तिम अवस्थामा छ । तर उद्योग चलाउने, सिमेन्ट बिक्री गर्ने अनि ऋण तिर्नेगरी प्रतिबद्धता आवश्यक हुन्छ ।
यी उल्लिखित कार्यहरू गरेर क्याल्सनाइर प्रविधि सहितको १ हजार १ सय टन दैनिक क्षमता पुर्याउन साथ उद्योग नाफामा गएर ऋण पनि तिर्छ, कर्मचारीलाई अबको तीन वर्ष भित्रै तिर्नुपर्ने अवकाश कोषको अरबौँ रकम समेत तिर्न सक्छ भन्ने कुरा सम्भाव्यता अध्ययनले देखाएकै छ, जुन उद्योग मन्त्रालयले पनि स्वीकृत गरिसकेको छ ।
घ. सिन्धुली खानीको उपयोग, सुकौरामा उद्योग स्थापना
उद्योगको अपार खानीलाई उपयोग गरी उदयपुर सिमेन्ट उद्योग लिई।, कर्मचारी, स्थानीय उदयपुरवासी, स्थानीय तथा प्रदेश सरकार र आम सर्वसाधारणको सहभागितामा पब्लिक प्राइभेट पार्टनरसिप योजना अन्तर्गत दैनिक १० हजार मे. टन क्लिंकर उत्पादन गर्ने छुट्टै उद्योग स्थापना गरी सञ्चालन गर्न त्रियुगा नगरपालिकाको नगरसभा र उद्योगको सञ्चालक समितिले निर्णय गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा अग्रिम कारबाहीको लागि पेस गरी समिति समेत गठन भएको अवस्था हो । तर, मेरो बहिर्गमन सँगै यसले गति लिन सकेन अर्थात् निष्क्रिय रह्यो ।
नयाँ उद्योगको औचित्य सम्बन्धमा प्रारम्भिक अध्ययन गर्दा, यसको मूल आधार बजारको माग नै हो । बजार विश्लेषण गर्दा पहिलो, स्थापित सिमेन्ट उद्योग मध्ये २२ वटा आफ्नो खानी नभएका सिमेण्ट उद्योग छन् । ती उद्योगको लागि कच्चापदार्थको रुपमा क्लिंकर उपलब्ध गराउन सकिन्छ । दोस्रो, बाँकी उद्योग मध्ये अधिकांश उद्योगको आफ्नो खानी भएता पनि ती खानीको चुनढुङ्गामा MgO बढी भई गुणस्तरीय सिमेन्ट उत्पादन गर्न समस्या भइरहेको छ । त्यस्ता उद्योगहरूले कच्चापदार्थको रुपमा गुणस्तरीय क्लिंकर खरिद गरी कम गुणस्तरको क्लिंकरसंग मिश्रण गरी सहजै ४३/५३ ग्रेडको सिमेन्ट उत्पादन गर्न सक्छन् ।
तेस्रो, अहिले उदयपुर सिमेन्ट उद्योगले OPC सिमेन्ट मात्र उत्पादन गर्छ, मूलतः ठूला प्रोजेक्टहरूलाई आवश्यक पर्ने PPC सिमेण्ट उत्पादन गरी भाडा सस्तो पर्ने कोशी प्रदेश र मधेस प्रदेशका योजनामा परेका प्रोजेक्टहरूमा सस्तो सिमेन्ट आपूर्ति गर्न सकिने छ । चौथो, भारतको उत्तर प्रदेश र बिहार राज्यमा सिमेन्ट खानी नभएको कारण झारखण्ड, राजस्थान आदि क्षेत्रबाट क्लिंकर ल्याएर सिमेन्ट उत्पादन गर्छन्, ती उद्योगको लागि दुरीको हिसाबले सबैभन्दा छोटो दूरीमा र गुणस्तरमा अव्वल क्लिंकर उत्पादन हुने भएकोले भारतको खासगरी बिहार र उत्तर प्रदेश राज्यमा निकासीको सम्भावना पनि त्यतिकै देखिन्छ ।
उद्योगको स्थापनाले रोजगारी, स्वरोजगार र स्थानीय आर्थिक क्रियाकलापमा महत्त्वपूर्ण योगदान त दिन्छ नै, त्यो भन्दा पनि ९५ प्रतिशत स्थानीय कच्चापदार्थ खानी प्रयोग गरी उत्पादन हुने भएकोले करिब ३० वर्षमा यो खानीको सदुपयोग हुने र अरू नजिकका खानीहरू उत्खननको लागि मार्ग प्रशस्त हुने अध्ययनले देखाएको छ । वार्षिक करिब ३ अर्बको राजस्वको योगदान गर्ने नेपालकै सबैभन्दा ठूलो क्लिंकर सिमेन्ट उद्योगको स्थापना गर्नु अपरिहार्य देखिन्छ ।
निश्कर्षमा मनी (पैसा) को जोहो गरौँ, मेसिन दुरुस्त राखौँ, गुणस्तरीय मेटेरियल्स खरिद गरौँ, जनशक्तिको व्यवस्थापनमा ध्यान दिऔँ र बजार प्रवर्द्धन गर्न सक्यौँ भने यो उद्योग दीर्घकालसम्म चल्न सक्छ ।