शीर्षकहरू

ट्राफिक प्रहरीले संकलन गर्‍यो एक करोड दुई लाख राजस्व

ट्राफिक प्रहरीले संकलन गर्‍यो एक करोड दुई लाख राजस्व

पर्सा । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा वीरगञ्जले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा रु एक करोडभन्दा बढी राजस्व संकलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी चालक तथा सवारी साधनमाथि कारबाही गरी चालु आवको साउनदेखि पुस मसान्तमा रु एक करोड दुई लाख ५१ हजार राजस्व संकलन गरेको हो । 

यस अवधिमा विभिन्न किसिमका १० हजार आठ सय २० सवारीमाथि कारबाही गरी सो राजस्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिए । यस्तै सो अवधिमा पर्सा जिल्लामा भएको तीन सय २६ सवारी दुर्घटनमा २७ जनाको मृत्यु भएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका अनुसार यस अवधिमा भएका सवारी दुर्घटनामा परी ७५ जना गम्भीर घाइते भएका छन् । गत आव २०७९/८० मा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले ट्राफिक नियम उल्लंघन गरी चलाउने सवारी चालक तथा सवारी साधनमाथि कारबाही गरी रु तीन करोड ४२ लाख ६५ हजार राजस्व संकलन गरेको थियो । 

यो अघिल्लो आव २०७८/०७९ को तुलनामा २१ प्रतिशतले बढी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ । अघिल्लो आव २०७८/७९ मा सो कार्यालयले रु दुई करोड ८५ लाख २१ हजार पाँच सय राजस्व संकलन गरेको थियो । ट्राफिक चेकजाँचमा गरिएको कडाइका कारण राजस्व संकलनमा वृद्धि भएको प्रहरी निरीक्षक खतिवडाको भनाइ छ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ ।