शीर्षकहरू

त्रिविको रेक्टरमा केसी र रजिष्ट्रारमा रिजाल नियुक्त

त्रिविको रेक्टरमा केसी र रजिष्ट्रारमा रिजाल नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको रेक्टर पदमा प्राध्यापक खड्ग केसी र रजिष्ट्रारमा प्राध्यापक केदार रिजाल नियुक्त भएका छन् । त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार उनीहरूलाई नियुक्त गरेसँगै नियुक्तिको पत्र समेत बुझिसकेका छन् । 

उनीहरूलाई चैत १५ गते नै नियुक्तिको सिफारिस भएको थियो । उपकुलपति प्राध्यापक केशरजंग बरालले त्रिवि ऐनअनुसार केसी र रजिस्ट्रारमा रिजालको नाम सिफारिस गरेका थिए । सिफारिसअनुसार नियुक्ति दिनुको सट्टा प्रधानमन्त्री तथा कुलपति दाहालले पुनर्विचार गर्न निर्देशन दिएपछि केही समय उनीहरूको नियुक्ति प्रक्रिया लम्बिएको थियो ।

त्रिवि ऐनअनुसार रेक्टर र रजिष्ट्रार पदमा उपकुलपतिले सिफारिस गरेका व्यक्तिलाई कुलपतिले नियुक्ति गर्नुपर्ने व्यवस्था रहेको छ । रजिष्ट्रारमा नियुक्त रिजाल वातावरण विज्ञान विभागका प्राध्यापक हुन् भने केसी त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागका प्राध्यापक हुन् ।

को हुन् केसी र रिजाल 
नवनियुक्त रजिष्ट्रार केसी त्रिवि अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागका संस्थापक प्रमुख हुन् । बि स २०५३ सालदेखि पृथ्वीनारायण क्याम्पस पोखराबाट प्राध्यापन पेसामा सक्रिय उनले त्रिविबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर र  जापानको नागासाकी विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा पीएचडी गरेका छन् । 

त्यस्तै, नवनियुक्त रजिष्ट्रार रिजाल नेपाल खुला विश्वविद्यालय विज्ञान, स्वास्थ्य र प्रविधि संकायका डिन हुन् । सो पदमा नियुक्त हुनुअघि पदपूर्ति समितिका सदस्य थिए । त्रिवि वातावरण विज्ञान विभागका प्राध्यापक रहेका रिजाल एक वर्षअघि डीनमा नियुक्त भएका थिए ।

बि स २०४९ सालमा त्रिचन्द्र क्याम्पसबाट उपप्राध्यापकका रुपमा उनले प्राध्यापन सुरु गरेका थिए । त्रिवि र अस्ट्रेलियाबाट स्नातकोत्तर रिजालले भारतको पुणे विश्वविद्यालयबाट वातावरण विज्ञानमा पीएचडी गरेका छन् ।