शीर्षकहरू

तीन जलविद्युत कम्पनीको वित्तीय विवरण सार्वजनिक, कुनको कस्तो छ अवस्था ?

तीन जलविद्युत कम्पनीको वित्तीय विवरण सार्वजनिक, कुनको कस्तो छ अवस्था ?

काठमाडौं । तीन जलविद्युत कम्पनीहरूको चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरिएको छ । सुपरमादी हाइड्रोपावर लिमिटेड, दिव्यश्वरी हाइड्रोपावर लिमिटेड र पाँचथर पावर कम्पनी लिमिटेडको वित्तीय विवरण सार्वजनिक गरिएको हो । 

कुनको कस्तो छ अवस्था ? 

सुपर मादी हाइड्रोपावर  

सुपरमादी हाइड्रोपावर लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ९ करोड २ लाख रुपैयाँभन्दा बढी खुद नाफामा रहेको छ । गत वर्ष यस अवधिसम्म १ करोड ७ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनी यस वर्ष भने नाफामा रहेको हो । यस वर्ष कम्पनीको विद्युत् विक्री आम्दानी बढेसँगै कम्पनीले नोक्सानी सुधारेको हो । 

गत वर्ष यस अवधिसम्म कम्पनीले विद्युत् विक्रीबाट १ करोड ३२ लाख रुपैयाँभन्दा बढी मात्र आम्दानी गरेको थियो । वित्तीय खर्च पनि यस वर्ष बढेको छ । गत वर्ष १ करोड रुपैयाँभन्दा बढी वित्तीय खर्च भएको कम्पनीको यस वर्ष ५६ करोड ७९ लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च भएको हो । 

कम्पनीको कर्जा रकम भने ६ अर्ब १६ करोड रुपैयाँभन्दा बढी छ । हाल कम्पनीको चुक्तापूँजी २ अर्ब १० करोड रुपैयाँ छ । जगेडा कोष रकम गत वर्ष १ करोड ३२ लाख रुपैयाँभन्दा बढी ऋणात्मक रहेकोमा यस वर्ष ऋणात्मक अवस्था सुधारिएर १० करोड ८४ लाख रुपैयाँ कायम भएको छ । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ७३ पैसा र प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ १६ पैसा छ ।

दिव्यश्वरी हाइड्रोपावर लिमिटेड

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म दिव्यश्वरी हाइड्रोपावर लिमिटेड २८ करोड ९६ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत वर्षको यसै अवधिसम्मको तुलनामा यस वर्ष कम्पनीको खुद नोक्सानी बढेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको खुद नोक्सानी २४ करोड ६२ लाख रुपैयाँभन्दा बढी रहेको थियो ।

यस वर्ष कम्पनीको विद्युत् विक्री आम्दानी घटेकाले खुद नोक्सानी बढेको हो । गत वर्ष यस अवधिसम्म ६ करोड ५९ लाख रुपैयाँभन्दा बढी विद्युत् विक्री आम्दानी गरेको कम्पनीले यस वर्ष ६ करोड ८ लाख रुपैयाँभन्दा बढीको विद्युत् विक्री गरेको हो । वित्तीय खर्च गत वर्ष ५ करोड ६८ लाख रुपैयाँभन्दा बढी भएकोमा यस वर्ष ५ करोड २९ लाख रुपैयाँभन्दा बढी भएको हो । 

हाल कम्पनीको चुक्तापूँजी २६ करोड ४० लाख रुपैयाँ छ । जगेडा कोष रकम भने २८ करोड ९६ लाख रुपैयाँभन्दा बढी ऋणात्मक देखिएको छ । दीर्घकालीन कर्जा ५६ करोड ७२ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको अल्पकालिन कर्जा भने ५ करोड ४४ लाख रुपैयाँभन्दा बढी रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनी ११ रुपैयाँ ७२ पैसा प्रतिशेयर नोक्सानीमा रहेको छ भने प्रतिशेयर नेटवर्थ १० रुपैयाँ ९२ पैसा छ ।

पाँचथर पावर कम्पनी 

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म पाँचथर पावर कम्पनी लिमिटेड १२ करोड ५ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । बढीले कम्पनीले निर्माण गरेको आयोजनामा गत असार महिनामा आएको बाढीले क्षति पुर्याएसंगै आयोजनाको पुनः निर्माण तथा मर्मत कार्य भइरहेकाले विद्युत् विक्री आम्दानी हुन सकेको छैन । जसको असर अघिल्लो त्रैमासको तुलनामा यो त्रैमासमा कम्पनीको नोक्सानी बढेको हो । 

दोस्रो त्रैमाससम्म कम्पनी १० करोड ५४ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा थियो । गत वर्षको तेस्रो त्रैमाससम्म भने कम्पनी ८ करोड ६० लाख रुपैयाँभन्दा बढी खुद नाफामा रहेको थियो । यस वर्ष कम्पनीको वित्तीय खर्च बढेको छ । गत वर्ष ९ करोड ३४ लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष ११ करोड ९० लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको हो । 

हाल कम्पनीको चुक्तापूँजी ९६ करोड २५ लाख रुपैयाँ छ । जगेडा कोष रकम भने कम्पनी खुद नोक्सानीमा गएसँगै १ करोड ७९ लाख रुपैयाँभन्दा बढी ऋणात्मक भएको छ । गत वर्ष यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम १३ करोड ५६ लाख रुपैयाँभन्दा बढी थियो ।

दीर्घकालीन कर्जा ७७ करोड ८७ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको अल्पकालीन कर्जा भने देखिएको छैन । तेस्रो त्रैमाससम्म कम्पनी प्रतिशेयर १३ पैसा नोक्सानीमा छ भने प्रतिशेयर नेटवर्थ ९८ रुपैयाँ १३ पैसा छ ।