शीर्षकहरू

तिहार नजिकिँदा किनमेल गर्नेको चहलपहल ह्वात्तै बढ्याे (फोटोफिचर)

तिहार नजिकिँदा किनमेल गर्नेको चहलपहल ह्वात्तै बढ्याे (फोटोफिचर)

काठमाडौं । भाइटीका आउन आठ दिन मात्रै बाँकी रहँदा बजारमा किनमेल गर्नेको चहलपहल बढेको छ । काठमाडौँको भोटाहिटी, असन, महाबौद्ध, नयाँ सडकलगायतका व्यापारिक स्थलमा भाइटीकामा चाहिने सामान बेच्ने र किन्नेको चहलपहल ह्वात्तै बढेको छ । 

तिहारमा लक्ष्मीपूजा गर्दा चाहिने दियो तथा पाला, दाजुभाई पुज्नका लागि फूलका माला, ओखर तथा ढाका टोपी, भाईलाई उपहार स्वरुप दिन भाई मसला र दीपावली गर्नका लागि मैनबत्ती लगायतका तिहारको सामान किनबेच गर्ने ग्राहक बढेका हुन्  ।

दियो तथा पाला
लक्ष्मीपूजाका दिन लहरै बालिने दियो तथा पाला नेपालमै बनाइन्छ । काठमाडौँ उपत्यकाका लागि चाहिने दियो तथा पाला भक्तपुरको ठिमीमा निर्माण हुने व्यापारीहरू बताउँछन् । व्यापारी श्याम खड्गीका अनुसार तिहारमा चाहिने सामग्रीमध्ये दियो तथा पाला मात्र स्वदेशी उत्पादनले धानिरहेको छ । अन्य सामग्री भारत तथा चीनबाट आयात गर्नुपर्ने बाध्यता रहेको खड्गीले बताए ।
फूलको माला

दाजुभाइलाई लगाइदिने र घरमा समेत माला बनाएर सजाइने भएकाले अरू समयको तुलनामा तिहारमा फूलको माला धेरै खपत हुन्छ । स्वदेशी उत्पादनले मात्र धान्न नसकेपछि तिहारमा भारतबाट ठूलो मात्रामा फूलको माला आयात गरिन्छ । गोदावरी र मखमली फूलमा नेपाल आत्मनिर्भर भइसके पनि तिहारका बेला भारतबाट सयपत्री फूल आयात गर्नुपरेको नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष कुमार कसजूले जानकारी दिए । नेपालमा लगातार गोदावरी पूmलको प्रतियोगितात्मक प्रदर्शनी भएको २३ वर्ष पुगेको छ ।

आयातमा भने कमी आएको छैन । विसं २०५३ देखि फूलको प्रतियोगितात्मक प्रदर्शनी हुँदै आएको हो । राजधानीवासीका लागि भाइटीकाको दिन झण्डै २५ लाख मालाको आवश्यक पर्ने कसजुले जानकारी दिए ।   

उनले भने,  गत वर्ष झन्डै रु २० करोडको विभिन्न जातका फूल आयात भएको थियो । पूmलको माग दैनिक बढिरहेको भए पनि उत्पादनमा भने खासै वृद्धि हुनसकेको पाइँदैन । चार वर्ष पहिले नेपालले भारतबाट चार करोड रुपैया मूल्य बराबरका  विभिन्न फूल आयात गरेको तथ्याङ्क रहेको छ ।  तथ्याङ्कलाई  केलाउँदा नेपालमा वर्षको पाँच करोडका दरले पूmलको आयात बढ्दै गएको देखिन्छ । नेपाली पूmलको माग तिव्बत, मलेशिया, अमेरिका, थाइल्याण्डमा भए पनि  उत्पादनभने बढाउन सकिएको छैन ।

ढाकाटोपी
तिहारमा ढाकाटोपीको बिक्री पनि फस्टाउँदो छ । बजारमा पाल्पाली र पूर्वेली ढाका टोपी प्रख्यात छन् । यी ढाकाका लागि पनि भारतको गोरखपुरबाट कच्चा पदार्थ आयात गर्नुपरेको टोपी व्यापारीहरु बताउछन् । 

भारतको गोरखपुरबाट कच्चा पदार्थ ल्याएर पाल्पामा बुनिन्छ, त्यहाँ बुनेको ढाका बालाजुमा रहेको कारखानामा सिलाएपछि बजारमा आउँने इन्द्रचोकका रमेशले बताए । उहाँका अनुसार ५० रुपियाँदेखि एक हजार ५०० रुपियाँका टोपी बेच्न राखिए पनि तिहारमा २५० देखि ५०० रुपियाँ पर्ने टोपी धेरै बिक्री भइरहेको छ ।

मैनबत्ती
लक्ष्मी पूजाका दिन कतिले घरको चारैतिर मैनबत्ती बालेर दीपावलीगर्दै आएका छन् । मैनबत्ती देशभित्रै बनाए पनि कच्चापदार्थ भने भारतबाटै आयात हुने गरेको व्यापारी अकुर दहालले बताए ।

चाडपर्वका बेला नेपाली बजार चम्किएको देखिए पनि सरसामानका लागि अर्बौं रुपियाँ देश बाहिर गइरहेको हुन्छ । हामीलाई आवश्यक पर्ने स–साना सामानसमेत नेपालमा उत्पादन नहुँदा चाडपर्वकै बेला सबैभन्दा बढी रकम देश बाहिर जाने गरेको व्यापारीहरु बताउछन् । 

इलेक्ट्रिक बत्ती र दियो
बजारमा इलेक्ट्रिक बत्ती र दियो पनि बेच्न राखिएका छन् । ती झिलिमिली बत्ती र इलेक्ट्रिक दियो चीनबाट आयात हुन्छ । बिजुलीमा जडान गर्नासाथ झिलिमिली बल्ने बत्ती र कागज तथा प्लास्टिकका फूल पनि बाहिरी देशका रहेका छन्, तर बिजुली हुँदा मात्र बल्ने भएकाले धेरैले माटाका दियो र पाला नै खोज्ने गरेका असनका व्यापारी रबि कुमार गुप्ताले बताए ।