शीर्षकहरू

सुन तस्करीमा अनुसन्धानकर्ता नै मुछिए, ठूलो माछालाई समेत कारबाही गर्न सिफारिस

सुन तस्करीमा अनुसन्धानकर्ता नै मुछिए, ठूलो माछालाई समेत कारबाही गर्न सिफारिस

काठमाडौं । चर्चित ६१ किलो सुन तस्करी प्रकरणमा अनुसन्धानकर्ताहरूको समेत संलग्नता पाइएको छ । सुन तस्करी सम्बन्धी जाँचका लागि गठित उच्चस्तरीय आयोगले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)की प्रमुख किरण बज्राचार्यका कमजोरी औँल्याएको छ भने पूर्व प्रहरी प्रमुख धिरज प्रताव सिंहको समेत संलग्नता देखिएको जनाएको छ ।  

आयोगले गृहमन्त्री रवि लामिछानेलाई बुझाएको प्रतिवेदनमा एआइजी बज्राचार्यले प्रमाण नष्ट गर्नेदेखि आरोपी जोगाउनेसम्मको कमजोरी गरेको औँल्याएको छ । उनलाई समेत कारबाही गर्नु पर्ने आयोगले सिफारिस गरेको छ । 

गृह मन्त्रालय स्रोतका अनुसार पूर्व आइजिपी सिंहको भने तस्करीका मुख्य अभियुक्त दावा छिरिङसँग नियमित सम्पर्क रहेको प्रतिवेदनमा उल्लेख छ । सुनसम्बन्धी अनुसन्धान गरेका एसपी सञ्जयसिंह थापा, डीएसपी दुर्गा दाहाल र रुगम कुँवरलाई पनि कारबाही गर्नु पर्ने आयोगले सिफारिस गरेको छ । 

उनीहरूले सुन तस्करीमा जोडिएका एक मुख्य व्यक्ति जीवन चलाउनेलाई भगाएको आरोप छ । ब्युरोमा उपस्थित गराएर समेत छाडेको उनीहरूको माथि आरोप छ ।

पूर्व सभामुख कृष्णबहादुर महरा समेत सुन तस्करीमा संलग्न रहेकाले उनीविरुद्ध पनि मुद्दा चलाउने पर्ने आयोगले सिफारिस गरेको छ । सुन तस्करी प्रकरणमै उनका छोरा राहुल महरा हाल जेलमा रहेका छन् ।   

पूर्व न्यायधिश डिल्लीराज आचार्यको नेतृत्वमा गठित आयोगले लामो समय लगाएर गरेको अनुसन्धानबाट ब्यूरोले गम्भीरतापूर्वक अनुसन्धान नगरेको निष्कर्ष निकालेको छ । त्यस्तै, आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयका तत्कालीन भन्सार प्रमुख अरुण पोखरेल र भन्सार अधिकृत मुक्ति श्रेष्ठलाई पनि कारबाही गर्न सिफारिस गरेको छ । 

हाल नेपाल ट्रष्टको कार्यालयमा कार्यरत अध्यागमन विभागका तत्कालीन प्रमुख झलकराम अधिकारीको समेत सुन तस्करीमा संलग्नता रहेको आयोगले औँल्याएको छ । उनलाई समेत कारबाही गर्नु पर्ने आयोगले सिफारिस गरेको छ । 

पूर्व उपराष्ट्रपति नन्द किशोर पुनका परराष्ट्र सल्लाहकार जीवन गुरुङको समेत सुन तस्करका नाइकेहरूसँग साँठगाँठ रहेको प्रतिवेदनले उल्लेख गरेको छ । यस प्रकरणमा व्यापारी भीमकान्त भण्डारीलाई समेत मुद्दा चलाउनु पर्ने सिफारिस गरिएको छ ।