शीर्षकहरू

सरकारले बजेट आकार २ खर्ब २० अर्बले घटायो, ८८.८४ प्रतिशत मात्रै खर्च हुने

सरकारले बजेट आकार २ खर्ब २० अर्बले घटायो, ८८.८४ प्रतिशत मात्रै खर्च हुने

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको बजेट आकार घटाउँदै लक्ष्यहरू संशोधन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै बजेट आकार २ खर्ब २० अर्ब ६९ करोड रुपैयाँले घटाएका हुन्‌ ।

अर्थमन्त्री महतले गत जेठ १५ गते संसद्‌मा चालू आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट अनुमान पेश गरेका थिए । तर, आर्थिक वर्षको पहिलो ६ महिनामा बजेट कार्यान्वयन अवस्था सन्तोषजनक नभएपछि उनले अब बजेटको आकार १५ खर्ब ३० अर्ब २६ करोड ६२ लाख रुपैयाँ हुने संशोधित अनुमान सार्वजनिक गरेका हुन्‌ ।

अर्थ मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन डाकेर मन्त्री महतले आर्थिक वर्षको अन्त्यसम्म शुरु कूल विनियोजनको ८७.३८ प्रतिशतमात्रै खर्च हुने बताए । चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ विनियोजन गरेका अर्थमन्त्री महतले लक्ष्यमध्ये ८८.८४ प्रतिशत मात्रै खर्च हुने जानकारी दिएका छन् । उनका अनुसार असार मसान्तसम्म सरकारले चालूतर्फ १० खर्ब ७ अर्ब ४५ करोड ४६ लाख रुपैयाँ खर्च गर्नेछ । 

यसैगरी पूँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड ४५ लाख रुपैयाँ छुट्याइएकोमा असार मसान्तसम्म लक्ष्यको ८४.१३ प्रतिशत अर्थात्‌ २ खर्ब ५४ अर्ब १३ करोड १९ लाख रुपैयाँमात्रै खर्च हुने अर्थ मन्त्रालयले संशोधित अनुमान गरेको छ ।

यो आर्थिक वर्षमा १० खर्ब रुपैयाँभन्दा बढी राजस्व उठ्ने सम्भावना नदेखिएकाले यो लक्ष्य पनि घटाइएको छ । सरकारले बजेट वक्तव्यमा १४ खर्ब ९६ अर्ब ११ करोड रुपैयाँ राजस्व र आन्तरिक ऋण उठाउने लक्ष्य राखेको थियो । तर, यो लक्ष्य संशोधन गर्दै १३ खर्ब ९ अर्ब ३० करोडमा झारिएको छ । 

वैदेशिक अनुदानतर्फको लक्ष्य पनि घटाइएको छ । मन्त्रालयले शुरुम ५५ अर्ब ४५ करोड ८३ लाख रुपैयाँ वैदेशिक अनुमान अपेक्षा गरेकोमा लक्ष्य संशोधन गरेर ४० अर्ब १२ करोड ९ लाख रुपैयाँमा झारेको छ । संशोधित लक्ष्य शुरू अनुमानको ८०.३३ प्रतिशत हो ।

वैदेशिक ऋणबाट २ खर्ब ४२ अर्ब २६ करोड उठाउने लक्ष्य पनि ८५ प्रतिशतमा सीमित गर्दै १ खर्ब ८० अर्ब ८३ करोड रुपैयाँ झारिएको छ । सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २७६ को अधीनमा रही बजेटको अर्धवार्षिक मूल्यांकन गरेको हो ।

बजेट समीक्षा पूर्णपाठः