शीर्षकहरू

संविधानको प्रगतिशील कार्यान्वयनलाई जोड गर्नुपर्छः प्रधानमन्त्री

संविधानको प्रगतिशील कार्यान्वयनलाई जोड गर्नुपर्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान संविधानको  प्रगतिशील कार्यान्वयनका लागि आपसी एकतालाई सुदृढ गर्दै अगाडि बढ्नुपर्ने बताएका छन् । ‘नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रियालाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेकपा (माआवादी केन्द्र) का अध्यक्ष ‘प्रचण्ड’ले नेपालका समाजवादी, देशभक्त र राष्ट्रवादीहरू एक ठाउँमा केन्द्रित हुनेहो भने समाजवादलाई तीब्र गतिमा अगाडि बढाउन सकिने विश्वास व्यक्त गरेका हुन् । 

“नेपाल यस्तो परिस्थितिमा छ, यहाँका समावादी एवं देशभक्त र राष्ट्रवादीहरू एक ठाउँमा केन्द्रित हुनेहो भने समाजवादलाई तीब्र गतिमा अगाडि बढाउन सकिन्छ । यस्तो सम्भावना भएको देश नेपाल नै हो,” प्रधानमन्त्री प्रचण्डले भने, “त्यसकारण यही विषयलाई आत्मसात गरेर मैले केही जोखिम र चुनौती मोलेरै भएपनि देशभक्त वामपन्थीहरूलाई एकतामा ल्याउने जमर्को गरेकै हो ।”

समाजवादको जन्म कहाँबाट हुन्छ ? भन्ने तर्क आउने गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “अन्ततः समाजवाद जन्मने भनेको सडकबाटै हो, किनकि जनता सडकमा हुन्छन् । पहिलो प्राथमिकता सडकले नै पाउनुपर्छ । समाजवाद जन्माउने जनताले हो ।” 

पार्टीहरू जनतासँग जोडिए मात्रै शक्तिशाली हुने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले समाजवादको तयारीका लागि सरकार, सदन र सडकलाई अधिकतम उपयोग गर्नुपर्ने तर्क गरे । उनले हरेक राजनीतिक दलले जनतालाई केन्द्रमा राख्नुपर्नेमा जोड दिए । यसपटक सुशासन, समृद्धि र सामाजिक न्यायका पक्षमा आगाडि बढ्ने जमर्को गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले पूरानो गठबन्धनबाट जनताको आकांक्षाअनुसार काम हुन नसकेकाले समाजवादको आधार तयार गर्न नयाँ समीकरण बनाएको स्पष्ट पारे ।  

नेपालको राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्ने उद्देश्यका साथ समाजवादको आधार तयार गर्न आफूले पछिल्लो कदम चालेको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले जनतालाई डेलिभरी दिनेगरी काम गरेर यसको औचित्य पुष्टि गर्नुपर्ने बताए ।