शीर्षकहरू

संसारमा फस्टायो बादलको व्यापार, कसरी गरिन्छ यसको खेती ?

संसारमा फस्टायो बादलको व्यापार, कसरी गरिन्छ यसको खेती ?

काठमाडौं । मौसम विज्ञान विभागले बुधार वाग्मती, लुम्बिनी, मधेस र कोसीमा पानी पर्ने सम्भावना रहेको जनाएको छ । पानी दह्रै पर्ने अनुमान गरिएको छ । अत्यधिक वर्षा हुने सम्भावना भएलगत्तै सरकारी संयन्त्र पनि सोहीअनुसार सक्रिय हुने भएका छन् । मौसममा दुईवटा चक्र हुन्छ । एउटा अल निनो र अर्कोचाहिँ ला निना । अल निनो तुलनात्मक रूपमा तातो हावा चल्ने, कम पानी पर्ने मौसम हो । यो ठाउँअनुसार फरकफरक तरिकाको हुनसक्छ । त्यस्तै ला निना तुलनात्मक चिसो बढ्ने र वर्षैभरि मिलाएर बढी पानी पर्ने हुन्छ । यो पनि ठाउँअनुसार फरकफरक हुने वैज्ञानिकहरू बताउँछन् ।

यो वर्ष अल निनोको अवधि हो। यस्तोमा अलि बढी गर्मी हुन्छ र कम पानी पर्छ । पानी पर्यो भने पनि सबैतिर समानरूपमा पर्दैन। यस्तो बेलामा बादल खेती गर्नेहरूको भाग्य चम्किन्छ । बादल खेती हिजोआज निकै फाइदाको व्यापार भएको छ । ‘क्लाउड सिडिङ’ भनेर चिनिने यो व्यापार यतिबेला संसारभर निकै फस्टाएको छ ।  

सन् २००८ मा चीनले चमत्कार गरेको थियो । त्यतिखेर ओलम्पिक खेल उद्घाटनका बेला भारी वर्षा हुने अपेक्षा गरिएको थियो तर चिनियाँ वायु सेनाका जवानले कार्यक्रम अवधिभर पानी नपार्न भारी वर्षा गराउने बादललाई तितरबितर पारिदिए । तर जब ओलम्पिक खेल उद्घाटन कार्यक्रम सकियो, तिनै तितरबितर पारिएका बादललाई भेला पारेर चिनियाँ सेनाले भारी वर्षा गराएर संसारलाई चकित पारिदिए ।

त्यसो त यो प्रविधि दोस्रो विश्वयुद्धताका नै चर्चामा थियो तर संसारले पानीको यत्तिको अभाव झेलिसकेको थिएन । त्यसैले यो प्रविधिलाई व्यावसायिक रूपमा खेतीमा प्रयोग गर्नेबारे कसैले सोचेको थिएन । तर केही वर्षयता संसारभर जलस्तर घटेको, अत्यधिक तापक्रम महसुस गरिएको, तलाउहरू सुक्न थालेको, विषम वर्षाजस्ता कुरा प्राथमिकताका साथ आउन थाले । यसपछि नै संसारभर बादलको खेती गर्न सकिने र यो फाइदाको व्यापारसमेत हुने सम्भावनामा ठुला कम्पनीले अनुसन्धान थाले ।  

तीमध्ये अमेरिकाको टेक्सासनिवासी गेरी वाकर र उनको कम्पनी सोअर (सिडिङ अपरेसन्स एन्ड एटमस्फेरिक रिसर्च) ले क्लाउड सिडिङको काम गरिरहेको छ । यो कम्पनीमा काम गर्नुअघि उनी ३० वर्षदेखि पानी संरक्षण अभियानका लागेका थिए ।

पछिल्लो समय उनको कम्पनीले बादलको खेती सम्पूर्ण टेक्सास राज्यको २० प्रतिशतसम्म भागमा पुर्याएको छ । त्यस किसिमको खेतीका लागि पाँच किसिमका ग्राहक छन् उनका । पहिलो कृषिकर्म गर्नेहरू । दोस्रो स्की रिसोर्ट चलाउनेहरूलाई पानी पर्याप्त चाहिने भएकाले र बेलाबेलामा साहसिक कार्यका लागि पनि वर्षा र हिउँ चाहिन्छ। यो कम्पनीले हिउँ पार्ने कामसमेत गर्छ ।