शीर्षकहरू

शिक्षण छाडेर पशुपालन, मासिक एक लाखको कारोबार

शिक्षण छाडेर पशुपालन, मासिक एक लाखको कारोबार

घोराही । दाङको घोराही उपमहानगरपालिका–२ रामपुर निवासी ३४ वर्षीय गोपाल खनाल विसं २०७३ सालअगाडि शिक्षण पेसामा आवद्ध थिए । गाउँमै एक बोर्डिङ स्कुलमा पढाउने उनी पछिल्लो आठ वर्षदेखि भने शिक्षण छोडेर कृषि पेसामा लागिरहेका छन् ।

‘ग्रीन लक्ष्मी गाई तथा भैँसी फर्म’ स्थापना गरेदेखि उहाँ अरु सबै काम छोडेर यही पेशामा रमाइरहेका छन् । 'शिक्षण पेसा अथवा अन्य कुनै जागिर गर्नुभन्दा आफ्नै व्यवसाय गर्दा आत्मसन्तुष्टि र आम्दानी पनि हुने बुझाइसहित फर्म स्थापना गरेको थिए । अहिले यसमै रमाइरहेको छु', खनालले भने, 'कोरोनाको समयमा केही समस्या भए पनि अहिले सहज हुँदैगएको छ । अब त यसैमा अभ्यस्त भइसकेँ ।'

सुरुआती दिनमा चार लिटरबाट दूध बेच्न सुरू गरेका उनले हाल एक सय २० लिटर उत्पादन गरेर बिक्री गरिरहेका छन् । त्योमध्ये अधिकांश दूध डेरीलाई बिक्रिविरण गर्दै आएको बताउने उनलाई अहिले बिहान उठेदेखि बेलुकासम्म गाईभैँसीको स्याहारसुसार र दूधको चाजापाँजो मिलाउन भ्याइनभ्याई छ । परिवारको सहयोग र आफ्नो मेहनतले रु ४० हजारबाट सुरू गरिएको व्यवसायमा अहिले रु ६० लाख लगानी पुगेको खनालको भनाइ छ । 'सुरुआती दिनमा व्यवसाय कसरी अगाडि बढ्ला भनेर चिन्ता लाग्ने गर्थ्यो, तर निरन्तर मेहनत गरेमा सफलता मिल्दो रहेछ,' उनी भन्छन्, 'हिले मासिक रु एक लाखको कारोबार गरिरहेको छु । वार्षिकरूपमा करिब रु सात लाखसम्म बचत हुने गरेको छ  ।'

उनले गाईभैँसीका लागि आवश्यक दाना बजारबाट किन्ने गरे पनि घाँस भने आफैँ उत्पादन गर्न थालेदेखि आम्दानीको केही रकम जोगाउन सकिएको बताए । स्थानीय सरकारले किसानको समस्या बुझ्न र व्यवसायवृद्धिका लागि प्रोत्साहन गर्नसके थप सहज हुने उनको बुझाइ छ । 

व्यावसायिक पशुपालन र कृषि उद्यम गर्न चाहनेहरूलाई सरकारले सहुलियतका कार्यक्रम ल्याए विदेशीन चाहने युवालाई पनि स्वदेशमै रोक्न सकिने उनी बताउँछन् । किसानका लागि सहुलियतका कार्यक्रम ल्याउनसके धेरै जना उद्यमशीलतातर्फ आकर्षित हुन्छन् भन्ने उनको विश्वास छ । त्यसो गर्न नसके पनि भएका नीतिनियमको कार्यान्वयन र किसानमैत्री ऐन कानुन बनाउनसकेमा पनि उद्यमशीलता विकासमा टेवा पुग्नसक्ने उनले बताए । 'मजस्ता उद्यमशील युवाले स्थानीय सरकारलाई आग्रह नगरेका पनि हैनौँ तर विविध कारणले जिल्लामा विभिन्न पेसा–व्यवसायमा जोडिएका युवासमेत पछिल्लो समय व्यवसाय नै बन्दगरेर विदेशीन थालेका छन् । यसलाई रोक्न जरूरी छ', उनले भने । 

डेरीलाई प्रतिलिटर रु ७० मा बिक्री गर्नुहुने उहाँको सबैभन्दा ठूलो चित्त दुखाइ आफैँले उत्पादन गरेको दूधको मूल्य निर्धारण प्रक्रियामा सङ्लग्न हुन नपाउनुमा छ ।  'हामीले नाफाघाटा, दुःखकष्ट सहेर उत्पादन गर्छौ तर न सरकारले दूधको उचित मूल्य निर्धारण गर्छ न त मूल्य निर्धारण प्रक्रियामा कृषकलाई सहभागी गराउँछ । यसले हामीलाई निराश बनाएको छ', खनालले गुनासो गरे । 

खनालको फर्ममा अहिले २८ वटा गाईभैँसी छन् । उनीलगायत घोराही उपमहानगरपालिका–२ रामपुर क्षेत्रका किसानबाट दैनिक एक हजार लिटरभन्दा बढी दूध उत्पादन हुने गरेको छ । -रासस