शीर्षकहरू

सेबोनको दैनिक कार्य सञ्चालनको जिम्मेवारी अधिकारीले पाए

सेबोनको दैनिक कार्य सञ्चालनको जिम्मेवारी अधिकारीले पाए

काठमाडौं । नेपाल धितोपत्र बोर्डको दैनिक कार्य सञ्चालनको जिम्मेवार बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीले पाएका छन् । अर्थ मन्त्रालयले नयाँ अध्यक्ष नियुक्त नभएसम्म दैनिक कार्य सञ्चालनको जिम्मेवारी डा. अधिकारीलाई दिएको हो ।  

अर्थ मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै बोर्डका डा. अधिकारीलाई दैनिक कार्य सञ्चालनको जिम्मेवारी दिएको जानकारी दिएको हो । बोर्डमा हाल ४ जना कार्यकारी निर्देशक रहेकोमा डा. अधिकारी बरियता  क्रममा आधारमा पहिलो नम्बरमा रहेका छन् । अर्थमन्त्रालयले बरियता क्रमका अधारमा डा. अधिकारीलाई बोर्डको कार्य सञ्चालनको जिम्मेवारी दिएको हो । 

अर्थमन्त्रालयका अनुसार डा. अधिकारीले बोर्डको दैनिक प्रशासनिक कामको नेतृत्व गर्नुका साथै बोर्ड सञ्चालक समितिको बैठक समेत बोलाउन सक्नेछन् । तर नीतिगत निर्णय गर्ने अधिकार भने डा. अधिकारीलाई दिइएको छैन । 

बोर्डका अध्यक्ष रमेश कुमार हमाल पुस २० गते कार्यकाल पुरा गरी विदाभएसँगै पुस २१ गतेदेखि बोर्ड नेतृत्व विहीन  अवस्थामा रहेको थियो । दैनिक प्रशासनिक काममा समेत असर पुगिरहेको अवस्थामा अर्थमन्त्रालयले बोर्डलाई चलायमान बनाउन यो निर्णय गरेको हो ।

बोर्डमा नयाँ अध्यक्ष नियुक्तीका लागि सरकारले तयारी थालिसकेको छ ।बुधबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरिएको हो । अर्थ मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला सदस्य रहेको सिफारिस समितिले बोर्डको नयाँ अध्यक्ष नियुक्ती प्रक्रिया पुरा गर्नेछ ।