काठमाडौं । मुठ्ठीदानमार्फत ‘नेपालमा साइकल कानुन’ निर्माण र ‘साइकल संस्कृति अभियान’लाई सघाउन ‘चित्रकलामा साइकल संस्कृति’ कार्यशाला सम्पन्न भएको छ । महिला साइक्लिष्ट नेतृत्वको ‘साइकल राइड नेपाल’ पर्यटन बोर्डमा पुगेर कार्यशाला भएको हो ।
वातावरणीय न्यायको सशक्त माध्यमका रूपमा साइकल संस्कृति स्वीकार गरी विश्व साइकल दिवस घोषणासहित संयुक्त राष्ट्र सङ्घले दिगो विकासको लक्ष्य तय गरेको छ । यस वर्षको विश्व पर्यटन दिवस ‘ग्रीन इन्भेष्टमेन्ट’ शीर्षकमा केन्द्रित थियो । यसै सन्दर्भमा ‘साइकल कल्चर कम्युनिटी’ले मुठ्ठीदान मार्फत ‘चित्रकलामा साइकल संस्कृति’ विषयक कार्यशाला सम्पन्न गरेको हो ।
कार्यक्रममा नेपालका ख्यातिप्राप्त साइक्लिष्ट अजय पण्डित क्षेत्री, उषा खनाल र सुरज रानालाई अन्तर्राष्ट्रिय जगतमा नेपाललाई साइकल खेलकुदमार्फत चिनाएकोमा ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकूलपतिहरू किरण मानन्धर, रागिनी उपाध्याय र के.के.कर्माचार्यले खादा ओढाएर सम्मान गरे । त्यसैगरी महिला साइक्लिष्ट सिकाइका अगुवा लक्ष्मी श्रेष्ठ र उर्मिला शाक्यलाई महिला साइक्लिट समुदाय बढाउन योगदान गरेकोमा वरिष्ठ कलाकारले सम्मान गरे ।
प्राध्यापक अभि सुवेदीको सम्भाषणसहित क्यानभासमा स्थापित साइक्लिष्टको संलग्नतामा वरिष्ठ कलाकार तथा सहभागीले संयुक्त रूपमा चित्रकला कार्यशाला उद्घाटन गरेका थिए । साइक्लिष्टसहित पूर्वकूलपतिहरू तथा प्राध्यापक सुवेदीले संयुक्त रूपमा पानसमा बत्ती बालेर क्यानभासमा सबैले रङ्गहरू भर्दै सामूहिक चित्राकृति बनाएका थिए ।
नेपाल पर्यटन बोर्डको कोर्टयार्डमा खुला चित्रकला कार्यशाला साँझसम्म जारी रहको थियो । एक जना कलाकारले दुईवटा क्यानभाषमा चित्रकृति तयार पार्ने उद्देश्यले कार्यशालाबाट करिब ५० देखि ७० वटा चित्रकृति तयार गरिने लक्ष्य आयोजकले लिइएको थियो । कार्यशालामा ३३ जना कलाकार सहभागी थिए । वरिष्ठ चित्रकार शशिविक्रम शाहले घरबाटै चित्र कृति बनाई कार्यशालामा पठाएका थिए । वरिष्ठ कलाकारहरूले चित्राकृति घरमै बसेर पनि पूरा गर्ने काम भइरहेको छ । सबै कलाकृति जम्मा गरेर क्याटलग प्रकाशनसहित नेपाल कला परिषद्मा प्रदर्शनी गरिने लक्ष्य आयोजकको छ ।
सांस्कृतिक महत्वका सम्पदा क्षेत्रमा मासभेला तथा अन्तरक्रियासहित सात वटै प्रदेशमा नेपालमा साइकल कानुन र साइकल संस्कृति अभियान अघि बढाउने आयोजक संस्थाले लक्ष्य लिएको छ । यस कार्यबाट साइकल संस्कृति अभियानलाई कलात्मक किसिमले बौद्धिक जगतसँग जोड्ने प्रयास भएको अतिथिहरूले बताए । वरिष्ठ कलाकार, साहित्यकार तथा अभियन्ताहरूले आगामी दिनमा पनि यस किसिमका कलात्मक अभियानमा योगदान गर्ने प्रतिबद्धता जनाएका छन् ।