शीर्षकहरू

‘राज्यकै कारण पुष्प व्यवसायमा ठूलो लगानी आएन’

‘राज्यकै कारण पुष्प व्यवसायमा ठूलो लगानी आएन’

-मीनबहादुर तामाङ

हाल बढ्दो सहरीकरणको विकास तथा विस्तारसँगै सातै प्रदेशका मुख्य सहरहरू लगायतका अन्य क्षेत्रमा पुष्प व्यवसाय फैलँदो अवस्थामा रहेको छ । हरेक वर्ष पुष्प व्यवसायको वार्षिक वृद्धिदर १० देखि १५ प्रतिशतको हाराहारीमा रहँदै आएकोमा विगत केही वर्ष कोभिड महामारीका कारण नकारात्मक असर पर्न गई खुम्चिन पुगेको थियो। पुनः आ.व. २०७९/८० देखि पुष्प व्यवसायले गति लिएको छ । 

तर, २०७४ देखि पुष्प प्रवर्द्धन नीति कार्यान्वयनमा छैन । यो नीतिलाई तीनै तहको सरकारले परिमार्जन गर्नुपर्छ भनेर व्यवसायीहरूले माग गरिरहेका छन् । यो नीति पुनरलेखको क्रममा रहेको छ । यो नीति पुनर्लेखन भएर कार्यान्वयन हुने हो भने व्यवसायीहरूलाई राहत मिल्नेछ । 

पुष्प व्यवसायीका समस्याहरू भनेको धेरै नै छन् । करदेखि लिएर बैंक वित्तीय संस्थाबाट लिने ऋणसम्मको समस्या रहेको छ । हरेक क्षेत्रमा समस्याहरू रहेका छन् । करको कुरा गर्ने हो भने गत आर्थिक वर्षदेखि सरकारले पुष्पजन्य वस्तुहरूमा भ्याट लगाएको अवस्था छ । मुख्य कुरा थ्रेसहोल्डको कुरा छ । ५० लाखभन्दा बढी कारोबार गर्ने जुनसुकै व्यवसायीहरु भ्याटमा जानु पर्ने बाध्यता रहेको छ । यो बाध्यताकै कारण बजारमा दुई प्रकारको मूल्य निर्धारण भएको छ । यो थ्रेसहोल्ट हटाइनु पर्छ भने अर्थ मन्त्रालयदेखि कृषि मन्त्रालयसम्म बारम्बार माग गरिरहेका छौँ । 

कृषि कर्जामा पनि समस्या रहेको छ । सरकारले जम्मा पाँच वर्षको लागि कृषि कर्जा दिन्छ । त्यो पनि जम्मा पाँच करोड रुपैयाँसम्म । त्यो पाँच् वर्षसम्म दिएको कर्जाले थालेको उत्पादनबाट पाँच वर्षमा कुनै कुनैले प्रतिफल नै दिन सक्दैन । तर, यता पाँच वर्षमा उसले पुरै ऋण चुक्ता गरिसक्नु पर्ने हुन्छ । जसले गर्दा व्यवसायीहरू समस्यामा पर्ने गरेका छन् । हाम्रो माग भनेको पाँच वर्ष होइन दश वर्षसम्म कृषि कर्जा प्रवाह हुनुपर्छ भन्ने हो ।  

सरकारले दिने व्याज अनुदान समेत नदिएका कारण राष्ट्र बैंकले दिन सकिरहेको छैन । १३ अर्ब रुपैयाँ भन्दा बढी ब्याज अनुदान कुनै पनि व्यवसायीले पाइरहेका छैनन ।

कुनै समय पुष्प व्यवसायीहरूले १९ करोडसम्ममा निर्यात गरेको तथ्यांक छ । नेपालमा वि.सं.२०११ सालमा सामान्य स्तरबाट पुष्प व्यवसाय सुरु भएको इतिहास रहेको छ । यस पछि पुष्प व्यवसायले बिस्तारै गति लिएको थियो । वि.सं. २०४९ साल ताकासम्म लगभग जम्मा ८० को सङ्ख्यामा मात्रै नर्सरी व्यवसायीहरू रहेको थियो । २०४९ सालमा संस्थागत रूपमा फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को स्थापना भए पश्चात मात्र पुष्पको व्यवसायी विकास, बिस्तार र प्रवर्द्धनले गति लिएको हो ।

हाल ४८ जिल्लामा लगभग २२१ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको छ । १११६ भन्दा बढी (नर्सरी–५०५, कट फेलावर उत्पादक–८०, कट फ्लावर खुद्रा व्यवसायी–१३७, पुष्प थोक व्यवसायी–४, इनपुट सप्लायर्स–२५ र लुज फ्लावर उत्पादक– ३६५) पुष्प व्यवसायीमा संलग्लान रहेको छ । पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरेर ४४ हजार भन्दा बढी जनशक्तिहरू रोजगार रहेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा पुष्पको वार्षिक कारोबार रु. २ अर्ब ४२ करोड रहेकोमा आ.ब.२०७६/०७७ । आ.ब.०७७/७८ मा वर्ष भरी कोभिड–१९ महामारीको कारण भएको निषेधाज्ञा र लकडाउनले गर्दा व्यवसायी कारोबारमा कमी आई जम्मा रु.१ अर्ब ६३ करोड मात्र भएको थियो । 

आ.व.२०७८/०८९ मा कोभिड–१९ को असर केही कम हुँदा समग्र व्यवसायी तथा आर्थिक क्षेत्रहरू केही चलायमान र सुधारोन्मुख हुँदा आ.व.२०७७/०७८ को तुलनामा करिब ३० प्रतिशतले पुष्पको वार्षिक कारोबारमा वृद्धि भई रु.२ अर्ब ३० करोड हाराहारीमा कारोबार भएको थियो भने यस आ.वर्ष ०७९/८० मा रु.३ अर्ब ७ करोड भन्दा बढीको कारोबार भएको छ । 

आ.ब. २०७८/०७९ को तुलनामा यस आर्थिक वर्ष ००९/८० मा करिब ३३.६१% ले वार्षिक कारोबारमा वृद्धि भएको छ । यही आ.व. ००९/८० मा पुष्प तथा पुष्पजन्य बस्तुको निर्यात रु ६८.१८ लाख र आयात तर्फ भने ३३.०६४८ करोड बराबरको कारोबार भएको भन्सार विभागको तथ्याङ्क रहेको छ ।

पछिल्लो अवस्थामा भन्ने हो भने कोरोना महामारीका कारण केहि पुष्प व्यवसायीहरू पलायन समेत भए । उत्पादन बढाउनका लागि राज्यले हामीलाई वातावरण निर्माण गरिदिनु पर्छ । छिमेकी मुलुकबाट हुन अवैध आयातलाई पूर्णरूपमा प्रतिबन्ध नलगाएसम्म नेपाली पुष्प व्यवसायीहरू पलायन हुने क्रम बढी नै रहन्छ । आयातित पुष्पसंग हामी प्रतिस्पर्धा गर्न सक्दैनौँ । हामीले उत्पादन बढाउन सकिरहेका छैनौँ । नेपाली उत्पादन लागत र छिमेकी मुलुकको उत्पादन लागतमा धेरै नै अन्तर छ ।  

ठूला घरानामा व्यसायीहरुलाई पुष्प क्षेत्रमा ल्याउन सकिरहेका छैनौँ । यो राज्यकै कारणले हो । राज्यले यस क्षेत्रमा लगानीको वातावरण नबनाइदिएसम्म ठूलो लगानी यस क्षेत्रमा आउन सक्ने सम्भावना छैन । 

अवैधरुपमा हुने आयात पूर्णरूपमा रोकिन पर्छ । यसलाई सरकारले व्यवस्थापन गर्नुपर्छ । भन्सारको नाकाहरूमा विषादी व्यवस्थापनका कार्यालयहरू समेत समस्या रहेको छ । अवैध तरिकाले धेरै नाकाबाट आयात भइरहेको छ । सकै नाकामा यस्तो कार्यालय स्थापना गर्नु पर्छ । १५ वटा नाकामा भएको यस्तो व्यवस्था पर्याप्त छैन । 

सरकारले लगानीको वातावरण बनाइदिने हो भने ठूला घरानाका व्यवसायीहरू पनि यस क्षेत्रमा आउने सम्भावना छ । लगानी गर्न उहाँहरू तयार हुनुहुन्छ । यसका लागि सरकारले वातावरण बनाइदिनु पर्छ । (सोमबार फ्लोरीकल्चर एशोसिएसन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष तामाङले राखेको विचारको सम्पादित अंश ।)