काठमाडौँ । तिलोत्तमा नगरपालिका अवस्थित पशुपति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । ‘सहकारीको चाहाना विश्व समृद्धिको कामना’ भन्ने नाराका साथ बि. स. २०५७ सालमा स्थापना भएको संस्थाले शनिवार २४औँ साधारण सभा गरेको हो ।
सो कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारी संस्थाहरू एक जुट हुँदै टुरिस्ट सहकारी र स्थानीय सहकारी बिचको बुझाइलाई जनमानसमा चिर्न एकजुट हुनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका वडा नं १५ का वडाध्यक्ष तथा प्रमुख अतिथि खेम प्रसाद गुरुङले राज्यको ढुकुटी जोगाउनको लागि सहकारीले अहम् भूमिका निभाएको बताउँदै स्थानीय स्तरका सहकारीमा बचत गर्नुपर्ने बताए ।
बचतकर्ता तथा ऋणीहरूले बचत, व्याज र किस्ता समयमै तिर्ने दायित्व सम्झेमा सहकारीहरू सञ्चालनमा समस्या नहुने गुरुङले बताए । संस्थाका अध्यक्ष डोलराज बस्यालले पशुपति सहकारी अब्बल रहेको बताउँदै लगानीकर्ता तथा शेयर सदस्यको बचत सुरक्षित रहेको बताए ।
कार्यक्रम संयोजक रालमणि भुसालले सहकारीको वार्षिक कार्य तालिका अनुसार सामाजिक उत्तरदायित्वका काम गर्दै आएको बताए ।
पशुपति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आर्थिक वर्ष २०७९/८० सम्म संस्थाको शेयर पुँजी २६ करोड ४ लाख ७७ हजार , ५९ लाख ५५ हजार २ सय ६४ रुपैयाँ जगेडा कोष , बचत सङ्कलन २० करोड २९ लाख ४६ हजार ८ सय ११, कर्जा जोखिम कोष ३२ लाख ९४ हजार २ सय ९० र अन्य कोष ६४ लाख ८५ हजार ४ सय ३४ रहेको छ ।
साधारण सभाको अवसरमा ज्येष्ठ नागरिक सम्मान, कक्षा १२ मा उत्कृष्ट नम्बर ल्याउने शेयर सदस्यका छोराछोरी सम्मान र असल ऋणीलाई सम्मान गर्नुको साथै चिट्ठा कार्यक्रम पनि गरिएको थियो ।