शीर्षकहरू

‘पर्यटन दशक घोषणा गर्दैमा पाहुना आउँदैनन्, कार्यान्वयन हुनुपर्‍यो’

‘पर्यटन दशक घोषणा गर्दैमा पाहुना आउँदैनन्, कार्यान्वयन हुनुपर्‍यो’

      विनायक शाह  

सन् २०२३ मा १० लाख बढी पर्यटकले नेपाल भ्रमण गरे । जुन सरकारले लिएको लक्ष्य थियो : त्यो पूरा भएको छ । यो उत्साहप्रद हो । खासगरी कोरोना महामारीमा शून्य अवस्थामा पुगेको थियौँ । अहिले हामी शून्यबाट माथि उठेका हौं। १० लाख भनेको राम्रो हो ।

बुकिङको अवस्था हेर्दा आउँदा दिनहरूमा पनि उत्साहप्रद नै छ । अझै अगाडी बढ्नका लागि हामीमा थप उत्साह, केही गर्न सक्ने आयाम तयार भएको छ । तर, सरकारको लक्ष्य पूरा भयो भनेर खुसी हुने ठाउँ त छँदैछ ।  सँगसँगै हामी निजी क्षेत्रहरूले हाम्रो क्षमताको कति प्रतिशत उपयोग भयो त भनेर समीक्षा गर्छौं । 

जुन समीक्षा हेर्दा सन् २०२३ मा जति सङ्ख्यामा पर्यटक नेपाल आएका छन् त्यसको तीन दोब्बर पर्यटकलाई सेवा दिन सक्छौँ । जसमा आन्तरिक पर्यटक पनि पर्छन् । यसरी हेर्दा हामीसँग क्षमता धेरै भयो । हाम्रो क्षमताअनुसार एक तिहाइको हाराहारीमा मात्रै पर्यटक नेपाल आएका छन् । 

बजारमा माग र आपूर्तिको कुरा हुन्छ । माग अत्यधिक धेरै भयो तर आपूर्ति सुस्त तरिकाले मात्रै अगाडी बढिरहेको छ । हाम्रो सप्लाइ धेरै बढेको छ । होटलहरू एक पछि अर्को थपिँदै गएका छन् । तारे होटलहरू समेत थपिरहेका छन् । अन्य संरचनाहरू पनि थपिँदै गएका छन् । 

दुई वटा ठूला विमानस्थल पनि थपिएका छन् । काठमाडौं बाहेक पोखरा र भैरहवामा समेत ठूला विमानस्थल सञ्चालनमा आएका छन् । ती विमानस्थलहरू पूर्णरूपमा सञ्चालन गरेर चीन र भारतसँग जोड्न सक्ने हो भने नेपालमा पर्यटक भित्रिने सङ्ख्या अहिलेको भन्दा तेब्बर हुन्छ । यसका साथै भारतीय र चिनियाँ पर्यटकहरू स्थलमार्ग हुँदै आउनेहरू पनि धेरै छन् । ती सडक सञ्जाल पनि विस्तार गर्नु पर्छ । अहिलेको पर्याप्त छैन । 

हामी व्यावसायिक क्षेत्रहरूले आ–आफ्नो काम गरेर अहिलेको सुखद् स्थितिमा आइपुगेका छौँ । यसमा राष्ट्रिय संयोजनको अभाव देखिन्छ । राष्ट्रिय नीति के हो ? यो जना के हो ? भन्ने कुरा नै स्पष्टरूपमा नै आएको छैन । सरकारले सन् २०२३ देखि २०३२सम्मलाई पर्यटन दशककारूपमा घोषणा त गरेको छ । तर, सन् २०२३ त बितिसक्यो । हामीले यस सन्दर्भका कुनै काम नै भएका छैनन । सरकारी निकायले काम गर्न सकेको छैन । 

पर्यटन दशक घोषणा गरेर मात्रै पर्यटक भित्रिदैनन । त्यसको कार्यान्वयन पनि गर्नु पर्‍यो । एक वर्ष बितिसक्दा समेत कुनै काम भएको छैन । सरकारको दायित्व पनि छ । निजी क्षेत्रले गरेको प्रयासमा सरकारको दायित्व थपिएन भने कसरी काम गर्न सकिन्छ ? 

पर्यटन क्षेत्रमा खर्बौँको लगानी भइसकेको छ । हाम्रो राष्ट्रिय बजेटको बढी मात्रामा होटेलमा लगानी भइसकेको छ । हाम्रो बजेट १७ खर्ब छ त्यो बराबरको होटेलमा लगानी छ । अहिलेको बजार मूल्य अनुसार हेर्दा यस क्षेत्रमा त्यो भन्दा बढी लगानी पुगेको देखिन्छ । 

एक पछि अर्को होटेल थपिँदै जाने अनि पर्यटक भित्र्याउने नयाँ योजना नल्याउने हो भने सङ्ख्या थपिएर मात्रै भएन । घाटा मात्रै छ । पर्यटक बढाउनका लागि भएका विमानस्थल पूर्णरूपमा सञ्चालन गर्नु पर्छ । सडक सञ्जालमा जुन काम भइरहेका छन् त्यो सुस्त छ, त्यसलाई द्रुत गतिमा हुनुपर्छ । 

हामीले होटेललाई उद्योगको रूपमा दर्ता गरेर चलाएका हुन्छौँ । तर सरकारले हामीलाई व्यवसाय मात्रै गरेको भनेर उद्योगसरह कुनै सेवा सुविधा दिँदैन । सरकारको औद्योगिक व्यवसाय ऐनमा होटेल पर्यटन क्षेत्रलाई उद्योगको मान्यता दिइएको छैन । उद्योगको मान्यता नपाउँदा हामी कति कुराहरूबाट बञ्चित भएका हुन्छौँ । 

बिजुली कै कुरा गर्ने हो भने होटेलले खपत गर्ने बिजुली महँगोमा तिर्नु परिरहेको छ । यसलाई उद्योगको मान्यता दिने हो भने ६/७ रुपैयाँमै पाउने थियौँ । तर, हामीले १७ रुपैयाँसम्म तिरिरहेका छौँ । यसमा न्यायोचित भइरहेको छैन । हामी सेवा व्यवसायी मात्रै होइनौँ, उद्योगी पनि हौँ । यसमा सरकारले न्यायोचित ढङ्गले काम गर्नु पर्छ । 

(होटेल एसोसिएसन अफ नेपालका अध्यक्ष शाहसँग आर्थिक न्युज डटकमको अङ्ग्रेजी संस्करणका सम्पादक निर्जल ढुङ्गानाले गरेको कुराकानीमा आधारित)