काठमाडौं । माथि देखिएको तस्बिर हो, नेपालबाट भारततर्फ ढुङ्गा बोकेर गइरहेको ट्रकको । त्यसमा देखिएका ठूला ठूला ढुङ्गा हुन्, काली गण्डकीका ।
काली गण्डकीका सिलाहरूलाई सालिग्रामकारुपमा पुज्ने गरिन्छ । अहिले भारतको अयोध्यामा बनिरहेको रामको मन्दिरमा मूर्ति बनाउन ती ढुङ्गा लगिएको हो । रामको जन्मभूमि भारतको अयोध्या होइन, नेपालको ठोरी नजिक रहेको अयोध्या हो भनेर प्रधानमन्त्री कै कुर्सीमा बसेर केपी शर्मा ओलीले घोषणा गरेका थिए ।
त्यसैलाई कार्यान्वयन गर्न ठोरीमा मन्दिर बनाउने समेत भने । निर्माण समिति समेत गठन भएको थियो । तर, चितवनको ठोरी तर्फ लैजानु पर्ने ढुङ्गा नयाँ सरकारले भारतको अयोध्या तर्फ पठाएको छ ।
यसले नयाँ सरकारको भारतसँगको स्वहार्दता र सद्भाव मात्रै झल्काइरहेको छैन की ‘प्रचण्डको नेतृत्वमा बनेको केपी ओलीको सरकार’ भन्दै नवगठित सरकारबारे टिप्पणी गर्नेहरूलाई समेत एक पटक यो सरकार कसको भन्ने सोच्न बाध्य बनाएको छ ।
हुन त हामी नेपाली उदार मनका, खोलाका ढुङ्गा नै दिँदा के ठूला कुरा मान्नु । तर, ओलीको ठोरीलाई राज्यले रामको जन्मभूमिकोरुपमा मान्यता दिएको थियो या थिएन भन्ने प्रश्न फेरि पनि उठ्छ । अब ठोरीको हैसियत के रहन्छ र त्यसलाई जन्मभूमिकै रुपमा राख्ने की अर्कै नामले चिनाउने भन्ने जिम्मा त सरकार सञ्चालनकै बागडोर सम्हालेका एमाले अध्यक्ष केपी ओलीले नै निर्णय गर्लान् ।
भनिन्छ, भगवान् सर्वत्र व्याप्त छन् । माडीको ठोरी होस या गुजरातको अयोध्या भगवान् रामलाई फरक नपर्ला । रामको जन्म स्थान नेपाल नै हो भनेर बुरुक्क तीन हात माथि उफ्रनेहरूलाई यसले पक्कै फरक पार्छ ।