शीर्षकहरू

न्यायाधीश हरिकृष्ण कार्की विरुद्ध संसदीय समितिमा पर्‍यो उजुरी

न्यायाधीश हरिकृष्ण कार्की विरुद्ध संसदीय समितिमा पर्‍यो उजुरी

काठमाडौँ। प्रधान न्यायाधीश पदका लागी सिफारिस हरिकृष्ण कार्की विरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ । उनी माथि एक दर्जन जति विभिन्न आरोप लगाउँदै अधिवक्ता अमृत खरेलले उजुरी हालेका हुन् ।

उजुरीमा हरिकृष्ण कार्की नेपालको प्रधान न्यायाधीश पदका लागी निष्पक्ष, सक्षम, योग्य र उपयुक्त पात्र नरहेको प्रमाण सहितको जिकिर उक्त उजुरीमा गरिएको छ । उनको नाम संसदीय सुनुवाइबाट अनुमोदन नगरी अस्वीकृत गर्न उजुरीमा माग समेत गरिएको छ ।

उजुरीमा उनको सिफारिस नै कानुनी रुपमा अवैध रहेको तर्क गरिएको छ । उनलाई प्रधान न्यायाधीश बनाउन गरिएको संवैधानिक परिषद्को सिफारिसको वैधता माथि प्रश्न गर्दै उजुरीमा ‘ अनौपचारिक र गैर कानुनी बैठक बसी हचुवाका आधारमा स्वेच्छाचारी ढङ्गले नेपालको प्रधान न्यायाधीश पदमा हरिकृष्ण कार्कीको नाम सिफारिस गर्ने कार्य कानूनी रिक्तता कै स्थितिमा प्रधानमन्त्री र विपक्षी दलसमेतको मिलेमतोमा गरिएको संवैधानिक सर्वोच्चता र कानूनी शासनको सिद्धान्तको बर्खिलापको बलमिच्याईको कार्य भएको’ उल्लेख छ ।

कार्की दलीय व्यक्ति भएको हुनाले उनले न्यायपालिकालाई दलीय राजनीतिक नियन्त्रणमा राख्न मतियार भई काम गरेको व्यक्ति हुनाले प्रधान न्यायाधीश पदका लागी अयोग्य हुने खरेलले तर्क गरेका छन् । उनको नेकपा एमालेसँग दलीय आबद्धता रहेको प्रमाणहरू समेत उजुरीमा पेश गरिएको छ ।

हरिकृष्णले विगतमा सर्वोच्चको न्यायाधीश हुनाको लागी महान्यायाधिवक्ताको संवैधानिक पद र नेपाल बार एसोसिएसनको अध्यक्ष पदको दुरुपयोगकर्तालाई प्रधान न्यायाधीशमा नियुक्त गर्न नहुने खरेलले उजुरीमा दलिल गरेका छन् । हरिकृष्ण सर्वोच्च अदालतको भवन निर्माणको क्रममा भएको अनियमिततामा संलग्न रहेको र उनी महाभियोग सिफारिस समिति र अख्तियारको छानबिनको दायरामा रहेको व्यक्ति भएको हुनाले प्रधान न्यायाधीशमा नियुक्त हुन नसक्ने तर्क खरेलले गरेका छन् ।

हरिकृष्ण कार्कीलाई प्रधान न्यायाधीशमा नियुक्त गर्न गएको वैशाख २५ गते बसेको भनिएको न्ययापरिषदको बैठकले सिफारिस गरेको थियो । नेपालको संविधानको धारा २९२ बमोजिम प्रधान न्यायाधीशको पदमा नियुक्ति हुनु अघि सङ्घीय कानून बमोजिम संसदीय सुनुवाइ हुनु पूर्व निजका सम्बन्धमा उजुरी आव्हान गर्ने गरिन्छ । सोही अनुसार आज जेठ २६ गतेसम्ममा उजुरी दर्ता गराइसक्नु पर्ने भएकोले एक दिन अगाडी नै खरेलले उजुरी हालेका हुन् ।