शीर्षकहरू

नयाँ वैश्विक संकट टार्न चीन सफल

इरान-पाकिस्तान द्वन्द्वमा चीनले यसरी देखायो जिम्मेवारी

नयाँ वैश्विक संकट टार्न चीन सफल

एजेन्सी । ‘इरान र पाकिस्तानबिच सहमतीस् जनवरी २६ सम्ममा राजदूतहरू काममा फर्कने’, एसियाका दुई छिमेकी मुलुक बीच बढेको विवाद साम्य बनेको खबर दिने यस्ता समाचार शीर्षकले विश्व राजनीतिका खेलाडीहरू मध्ये केहीमा उत्साह थपेको छ भने केही निराश बनेका छन् ।

सामान्य रूपमा के भन्न सकिन्छ भने भारत र इजरायल बाहेक एसियाका सबैजसो मुलुक यसबाट खुसी छन् । उता अमेरिका सहितका हतियार व्यापारी र विश्व शान्तिबाट बेचैनी बढ्ने देशहरू भने निराश बनेका छन् ।

दुई इस्लामिक मुलुकहरू इरान र पाकिस्तान बीचको असमझदारी एकाएक सीमापार हवाई आक्रमणको तहसम्म पुग्दा सबैभन्दा बढी चिन्ता इस्लामिक विश्वमा देखिएको थियो ।

एकातिर इजरायलले प्यालेस्टाइनमा गरिरहेको नरसंहार र उता यमनमा अमेरिकी-बेलायती गठबन्धनले गरिरहेको आक्रमणले विश्वलाई आर्थिक रूपमा पारिरहेको संकटमा यी दुई मुलुक बीचको भीडन्तले थप्ने रापको पूर्वानुमान नै पनि विश्वशान्तिको कामना गर्नेहरूका लागि अत्यासलाग्दो बनिरहेको थियो ।

यस्तोमा एकाएक दुवै देशका राजदूतहरू आ-आफ्नो काममा यसै साता फिर्ता भइसक्ने समझदारी कसरी सम्भव भयो ? यो प्रश्नको जवाफ यहाँ खोज्ने प्रयास गरिएको छ ।

एकसाता अघि अघिल्लो मंगलबार राती इरानले गरेको मिसाइल आक्रमणमा परी पाकिस्तानमा दुईजना बालकको मृत्यु र तीन जना घाइते भएपछि दुई मुलुक बीचको सम्बन्धमा एकाएक तनाव पैदा भएको थियो । त्यसपछि नौ सय किलोमिटर सीमा जोडिएका यी दुई देशहरू बीच बढेको आक्रमण र प्रत्याक्रमण सोमबार भएको समझदारीपछि रोकिएको छ । यसरी यी दुई छिमेकीलाई आपसी मिलापको तहसम्म ल्याउन एकसाता भित्रै सफल बनेको मुलुक हो - चीन ।

इरान र पाकिस्तान आपसमा भिड्दा सबैभन्दा बढी पीडा भने चीनलाई नै भएको थियो । यसो किन भयो भने चीन सामरिक र रणनीतिक धेरै ढंगले यी दुई वटै देशसँग नजिक छ । पाकिस्तानमा चीनको निकै ठूलो लगानी छ भने इरानसँगको व्यापार उस्तै राम्रो छ । इरानमा पनि निकै खुलेर लगानी गरिरहेको चीन यी दुवै मुलुकको बीचमा रहेको अर्को देश अफगानिस्तानमा नयाँ ढंगले काम गरिरहेको छ ।

त्यसैले चीन त्यो शान्तीवार्ताको केन्द्रमा कुनै पनि विलम्ब नगरीकन प्रवेश गर्‍यो र त्यसलाई सफल समेत बनायो । हुन त चीन तेल उत्पादक छिमेकी अरू देशहरूसँग पनि निकै जिम्मेवार भएर काम गरिरहेको छ । अमेरिकाले आफ्नो कब्जामा राखेर सधैँ इरान विरुद्ध प्रयोग गर्दै आएको साउदी अरबलाई इरानसँग हात मिलाउन लगाउन सफल भइसकेको चीनका लागि यो पछिल्लो काम त्यति गाह्रो पनि थिएन । तर, चीन बाहेक अरूलाई भने यही काम फत्ते गर्न त्यति सहज हुँदैनथ्यो ।

सोमबारको सहमतिपछि यसबारे जानकारी गराउँदै चीनले आफुहरू यो काममा दुई देशबिच तनाव बढ्न थालेपछि नै लागि परेको जनाएको छ । चीनको परराष्ट्रमन्त्री सुन वेइडङ मध्यस्थताको लागि पाकिस्तान गएका थिए । पाकिस्तानले आतंककारीको निशानामा भन्दै इरानमा गरेको आक्रमणमा परी ९ जनाको मृत्यु भएपछि चीनले सक्रियता थप बढाएको थियो ।

आफ्नो सर्वकालीन मित्र पाकिस्तान र पश्चिम एसियामा आफ्नो उपस्थिति बलियो बनाउन अत्यावश्यक साझेदारका रूपमा सम्बन्ध प्रगाढ बनाउँदै लागेको इरानबीचको यो द्वन्द्व चीनलाई मात्र नभएर अरू धेरैलाई सकस पार्नेवाला थियो । त्यही भएर पाकिस्तान, भारत लगायतका मुलुकमा राजदूत भएर काम गरिसकेका सुनले स्वयम् सक्रियता बढाएका थिए भने सहायक विदेशमन्त्री मा झाओछुलाई इरानका समकक्षीसँग कुरा गर्न लगाएका थिए ।

जे होस्, क्षेत्रीय शान्ति र स्थिरताको लागि चीनले देखाएको यो पछिल्लो सक्रियता निकै प्रशंसायोग्य छ । जसले एकै पटक कुनै एक छिमेकीलाई उक्साहटमा पारेर अर्कोलाई दुख दिने साम्राज्यवादी र विस्तारवादी मुलुकहरूलाई अब उनीहरूको पुरानो शैली बेकम्मा भइसकेको सन्देश पनि प्रवाह गरेको छ ।