शीर्षकहरू

नगरकोटमा एशियाकै दोस्रो लामो जीपलाइन उद्‌घाटन

नगरकोटमा एशियाकै दोस्रो लामो जीपलाइन उद्‌घाटन

भक्तपुर । पर्यटकीय नगरी नगरकोटमा २२ सय ५० मिटर लामो जीपलाइन निर्माण गरी सञ्‍चालनमा ल्याइएको छ । संस्कृति पर्यटन तथा नागरिक उडडयनमन्त्री सुदन किरातीले शुक्रबार नगरकोट जीपलाइन उद्घाटन गरेका हुन ।

मन्त्री किरातीले पर्यटकीय हब नगरकोटमा जीपलाइनले आन्तरिक तथा वाह्य पर्यटकहरूका लागि आकर्षण थपेको बताए । पर्यटन नै नेपालको आर्थिक विकासको आधार भएको पनि उनले तर्क गरे ।

यस वर्ष देशमा १० लाख पर्यटकहरू ल्याउन सफल भएको भन्दै मन्त्री किरातीले जीपलाइन जस्तो साहसिक खेलहरू विस्तार गर्नुपर्ने धारणा राखे । मन्त्री किरातीले उद्घाटन पश्चात आफैँले सुपरम्यान जीपलाइन पनि गरे ।

केदार थापा र प्रेम बहादुर बस्नेतको लगानीमा संचालनमा आएको नगरकोटको जीपलाइन एसियाकै दोस्रो लामो भएको संचालकद्वयले बताए । करिब ४ करोड रुपैयाँ लगानीमा संचालनमा आएको जीपलाइन चांगुनारायण नगरपालिका वडा नम्बर ६ र ७ मा फैलिएको छ ।

नगरकोट जीपलाइन खेल्न जानेहरू वडा नम्बर ७ बाट टेकअफ भएर वडा नम्बर ६ को लामाटोलमा ल्याण्ड हुनेछन् । टेकअफ पोइन्टबाट ल्यान्डिङसम्म २ मिनटको समय अवधिमा आकाशमा चरीजस्तै उडेर जीपलाइनको मजा लिन सकिनेछ ।

हाल नगरकोटमा क्लासिक र सुपरम्यान जीपलाइन गर्न सकिनेछ भने टिकटको मूल्य ४ हजार ५ सय रुपैयाँ रहेको छ । साहासिक खेलको रूपमा परिभाषित जीपलाइनलाई नेपालमा स्थापित गरेका केदार थापाले यसअघि धुलिखेलमा जीपलाइन संचालनमा ल्याएका थिए ।

धुलिखेल जीपलाइनको क्रेजका कारण हाल विभिन्न ठाउँमा जीपलाइनहरू संचालनमा आइरहेका छन् । पर्यटकीय नगरी नगरकोटमा जीपलाइनसँगै होटल समेत संचालनमा ल्याएका केदार थापाले पर्यटकहरूको आगमन र विकासका लागि आफूले आफ्नो विज्ञता प्रयोग र योगदान गरिरहने बताए ।