शीर्षकहरू

नेपालीले बुझेनन् नयाँ वर्षमा चिनियाँको चाहना, अरू यी देशमा मनाइन्छ धूमधामले

नेपालीले बुझेनन् नयाँ वर्षमा चिनियाँको चाहना, अरू यी देशमा मनाइन्छ धूमधामले

हिजो फेब्रवरी १० तारिक देखि चिनियाँ नयाँवर्ष सुरु भयो । यो वर्ष नेपालमा पनि चिनियाँ नयाँ वर्षको अवसरमा झन्डै एक महिनासम्म विभिन्न कार्यक्रमहरू भए । नेपाली र चिनियाँ संस्कृति दुवै झल्काउने गरी नेपालस्थित चिनियाँ दूतावासको संयोजनमा काठमाडौँ र पोखरामा धेरै कार्यक्रमहरू गरिए ।

शनिबार नेपाल र चीन बीच दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल खेलको आयोजना गरिएको थियो । त्यहाँ हिजो बाट सुरु भएको नयाँवर्ष ‘ड्रागन वर्ष’ लाई स्वागत गर्ने चिनियाँ झाँकीदेखि नेपाली मौलिक संस्कृति र परम्परा झल्काउने सांस्कृतिक नाचगान समेत प्रस्तुत गरिएको थियो ।

यसअघि नै नेपाली प्यागोडा शैलीमा चिनियाँ ‘लालटिन संस्कृति’ शान्ति बाटिकामा प्रदर्शन गरिएको थियो भने दरबार मार्ग र पर्यटकीय नगरी पोखरामा समेत गरी दर्जनौं कार्यक्रम आयोजना भएका थिए । आफ्नो मुलुकको नयाँ वर्षको अवसर पारेर नेपालमा यस्ता कार्यक्रमको शृंखला नै आयोजना गर्नुको उद्देश्य नेपालको पर्यटन उद्योगमा टेवा पुगोस् भन्ने रहेको चिनियाँ अधिकारीहरूले बताएका छन् ।

तर, नेपालमा भने चिनियाँ सहयोग र सक्रियतामा आयोजना भएका कार्यक्रमबारे सार्वजनिक सञ्चारमाध्यममा समाचार समेत निकै कम मात्रामा मात्र प्रकाशित भएको देखिएको छ । नेपालमा समेत नयाँ वर्षको कार्यक्रम धूमधामले आयोजना भयो भन्ने कुरा धेरै भन्दा धेरै चिनियाँ र अन्य विदेशीले समेत जानकारी पाएर यहाँ घुम्न आउने पर्यटक बढुन् भन्ने चिनियाँ सदीक्षा नेपाली सञ्चारमाध्यमको कन्चुस्याईंले गर्दा अपेक्षाकृत पूरा हुन नसकेको देखिएको छ ।

नेपालमा चिनियाँ पर्यटक मात्र पनि भित्राउन सक्ने हो भने यहाँको पर्यटन उद्योगलाई निकै ठूलो टेवा पुग्ने थियो भन्ने नेपालका पर्यटन व्यवसायीहरूले कामना गरिरहेका बेला चिनियाँ अग्रसरतामा नै नेपालको पर्यटन प्रवर्द्धन गर्न भएको प्रयासलाई किन असहयोग गरिंदैछ भन्ने खोजीको विषय भएको एक पर्यटन व्यवसायीले बताएका छन् । उनका अनुसार नेपालको पर्यटन क्षेत्रको विकासलाई नै केन्द्रमा राखेर गरिएका यस्ता प्रवर्द्धनात्मक कार्यप्रति नेपालमा देखिएको उदासीनता वास्तवमा नै खेदपूर्ण छ ।

गएको डिसेम्बर महिनामा संयुक्त राष्ट्रसंघले चिनियाँ चन्द्र पात्रो (लुनार क्यालेन्डर)लाई समेत विश्वव्यापी क्यालेन्डरको मान्यता दिएपछि चिनियाँ नयाँ वर्ष यसपटक संसारका धेरै देशमा मनाइएको छ ।

जहाँ मनाइन्छ धूमधामले चिनियाँ नयाँ वर्ष

लगभग १.४ अर्ब चिनियाँहरूको लागि चीनले आफ्नो परम्परागत नयाँ वर्षको मिति चन्द्र चक्र अनुसार गणना गर्दै आएको छ। ‘ड्रागन वर्ष’ का रूपमा मनाइने यो वर्षको पहिलो दिन फेब्रवरी १० तारिकमा परेको थियो ।

त्यसो त विभिन्न एसियाली राष्ट्रहरूले पनि आफ्नै चन्द्र नयाँ वर्ष उत्सव मनाउँछन् । त्यसैले चिनियाँ नयाँ वर्ष वास्तवमा जन गणतन्त्र चीनमा मात्र नभएर विश्वभरका धेरै राष्ट्रहरूमा सार्वजनिक बिदासहित मनाइने गरिन्छ। दक्षिण-पूर्व एसिया त्यो क्षेत्र हो; जहाँका धेरै देशहरूले चिनियाँ नयाँ वर्षको उत्सव मनाउन आफ्ना नागरिकहरूलाई सार्वजनिक बिदा दिन्छन् । जसमा सिंगापुर, इन्डोनेसिया र मलेसिया आदि पर्छन् ।

हालैका वर्षहरूमा, चिनियाँ नयाँ वर्षलाई फिलिपिन्समा पनि विशेष बिदाको रूपमा पनि प्रस्तुत गरिएको छ । दक्षिण कोरिया र भियतनामले पनि चन्द्र वर्षको सुरुमा उत्सवहरू आयोजना गर्दछन्। तर, ती मुलुकहरू केही हदसम्म चन्द्र वर्षको चलनमा चीन भन्दा भिन्न छन् ।

उता दक्षिण अमेरिकाको सुरिनाममा, ग्रेगोरियन र चन्द्र क्यालेन्डर दुवैमा वर्षको सार्वजनिक बिदा दिने गरिएको छ । आधिकारिक जनगणना अनुसार लगभग ६ लाख १८ हजार जनसङ्ख्या रहेको यो मुलुकमा लगभग सात प्रतिशत चिनियाँ मूलका छन् । हिन्द महासागरमा रहेको मौरिससको टापु राज्यले पनि चिनियाँ नयाँ वर्ष मनाउँछ । यद्यपि लगभग १३ लाख बासिन्दाहरूमध्ये त्यहाँ तीन प्रतिशतमात्र चिनियाँ मूलका छन् ।