शीर्षकहरू

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग ‘ब्रेक थ्रू’ (फोटोफिचर)

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग ‘ब्रेक थ्रू’ (फोटोफिचर)

काठमाडौं । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ छेडिने ‘ब्रेक थ्रू’ भएको छ । सोमबार एक औपचारिक कार्यक्रमबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितीमा सुरुङ ‘ब्रेक थ्रू’ गरिएको हो ।  


आयोजनाको उद्धार सुरुङ ‘रेस्क्यु टनेल’ भने गत साउनमै ब्रेक थ्रु भइसकेको छ । चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार छ सय ६७ मिटर रहेको छ । 


उक्त मार्ग निर्माणका लागि नेपाल सरकार र जापान सरकारको बीचमा २०१६ डिसेम्बर २२ मा ऋण सम्झौता भएको थियो । आयोजना निर्माण सम्झौता अनुसार काम सुरु भएको ४२ महिनाभित्र अर्थात् गत वर्ष वैशाखमै निर्माण सम्पन्न गरिसक्नु हो । तर, सुरुङभित्रको सडक ढलान, बत्ती जडान (लाइटिङ), अक्सिजन पाइप जडान (भेन्टिलेसन) लगायतका काम बाँकी रहेको छ ।  


सोमबार ‘ब्रेक थ्रू’ भएपनि आयोजना निर्माण सम्पन्न भएर सवारी साधन चल्ने अवस्थासम्म पुग्नका लागि भने अझै समय लाग्ने भएको छ । बलम्बु क्षेत्रमा फ्लाइओभर निर्माणाधीन अवस्थामा रहेको छ ।   


आयोजनामा तीनवटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल (ब्रिज) र एउटा फ्लाइओभर रहेका छन् ।  यस आयेजनाको कूल लागत २२ अर्ब रुपैयाँ रहेको छ । जसमा दातृ निकाय जाइकाले करिब १६.६ अर्ब ऋण मार्फत उपलब्ध गराउने र बाँकी रकम नेपाल सरकारले ब्यहोर्ने छ ।