शीर्षकहरू

मुनाफा नभए पनि टेलिकमले गुणस्तरीय सेवा दिनुपर्छः मन्त्री शर्मा

मुनाफा नभए पनि टेलिकमले गुणस्तरीय सेवा दिनुपर्छः मन्त्री शर्मा
फाइल फोटो

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा दूरसञ्चार सेवाको महत्वपूर्ण भूमिका रहेको बताएकी छिन् । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल टेलिकमको पाँचौँ केन्द्रीय अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले दूसञ्चार सेवाको अभावमा मुलुकको सर्वाङ्गीण विकास असम्भव रहेको बताएकी हुन् । 

“दूरसञ्चार सेवा गुणस्तरीय भएन, सबै नागरिकको पहुँचमा गुणस्तरीय सेवा नपुग्दा मुलुकको विकासमा बाधा पुग्छ”, मन्त्री शर्माले भनिन्, “सरकारी शेयर भएका कारण पनि टेलिकमले मुनाफा नभए पनि दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्ने दायित्व अगाडि छ ।” दूरसञ्चार सेवालाई गुणस्तरीय बनाएर लैजानुपर्नेमा जोड दिँदै मन्त्री शर्माले ‘डिजिटल डिभाइड’ न्यूनीकरण गर्न विशेष योजना ल्याउन टेलिकम व्यवस्थापनलाई निर्देशन दिईन् । 

“आजका दिनमा पनि ‘डिजिटल डिभाइड’ कायमै छ, सबै वडामा दूरसञ्चार सेवा पु¥याउनु आजको आवश्यकता हो”, उनले भनिन्, “मुलुकका सबै भूभागमा गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउने उद्देश्य हासिल गर्न कम्पनीले गम्भीर भएर सोच्नुपर्छ, यसका लागि मन्त्रालयले सहजीकरण गर्छ ।” टेलिकमलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउन उच्च व्यवस्थापनको ध्यानाकर्षण गराउँदै उनले कम्पनीलाई मुनाफामा लैजाने व्यावसायिक योजना ल्याउन आग्रह गरिन् ।