मधेशका यी सुकुम्बासी महिला: जो बाध्यताले उद्यमी बने

१९ चैत्र २०८०

cover image

मधेशी मूलका महिलाहरु त्यसैपनि सामाजिक रूपमा पछाडि छन् । त्यसमाथि दलित समुदायका महिलाको अवस्था कस्तो होला सहजै अनुमान लगाउन सकिन्छ । अझ आर्थिक रूपमा अति विपन्न सुकुम्बासी वर्गका केही महिलाहरू अहिले महिला उद्यमीको रूपमा आफ्नो परिचय सगौरव दिइरहेका छन् ।

यहाँ तिनै चार मधेशी समुदायका दलित सुकुम्बासी महिलाहरूको उद्यमशीलताको कथा प्रस्तुत गरिएको छ । जो महिला उद्यमी महासंघले आयोजना गरेको ७ औँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलामा भाग लिन राजधानी आएका छन् । आइतबार उनीहरूले  जीविकोपार्जनका लागि आफूले गरेका संघर्ष र सफलताको  कथा सुनाए । जो खासमा त्यो उद्देश्यले गाउँबाट शहर छिरेका भने होइनन् । 

सहरिया उद्यमीहरूका जस्ता मिठो, मिलेको र मन्त्रमुग्ध पार्ने शैलीमा आफ्ना कुरा भन्न नजान्ने उनीहरू मेलाको स्टन नं. ‘एस११’ मा आएका ग्राहकलाई सामान बेच्ने हतारोमा देखिएनन् । बरु आफ्नो कथा सुनाउन तँछाडमछाड गरिरहेका थिए ।

हुन पनि, वास्तवमै रोचक छ उनीहरूको कथा । यो रोचक हुनुको पहिलो कारण के हो भने त्यहाँ देखिएका अरू उद्यमीहरू झैँ सम्पत्ति कमाउन वा सुख सयलको जीवन जिउन उनीहरू उद्यमशील बनेका  होइनन् । त्यो उनीहरूको हातमुख जोड्ने कर्म हाे । जसलाई सहयोग गर्ने संस्था असमान नेपालको ‘मधेसी दलित समुदायका बालबालिकालाई पोषणयुक्त भोजन खुवाउन सक्ने अभिभावक बनाउने’ उद्देश्य भन्दा फरक केवल पेट भर्ने सहारा रहेछ, उनीहरूको उद्यमशीलता।

पहिलो कथा चन्द्रिकादेवीको  

चन्द्रिकादेवी सिंह उमेरले ३५ वर्ष पुगिन् । सानै उमेरमा विवाह भएकी उनका तीन छोराछोरी छन् । घुम्टो ओढेर घरभित्रै बस्ने उनी जीविकोपार्जनका लागि घुम्टो हटाएर बाहिर निस्किएकी छिन् । सुकुम्बासी परिवारकी हुन् उनी जो पेटभर खान पुग्ने आर्थिक अवस्था बनाउन अहिले उद्यमशीलतामा लागेकी छिन् ।  

श्रीमानले मजदुरी गरेर कमाएको पैसाले उनको परिवारमा बिहान बेलुकाको छाक टार्न हम्मेहम्मे थियो । अरूको जग्गामा छाप्रो हालेर बसेका उनीहरूको गुजारा चलाउनै मुस्किल बनेपछि उनले चुरा बनाउने सिप सिकिन् । ‘पहिले म घरमै घुम्टो ओढेर बस्ने गर्थे । श्रीमान् कमाउन बाहिर जानु हुन्थ्यो । तर, त्यो कमाइले हामीलाई खान मुस्किल थियो । दुई छाक खानकै लागि मैले सिप सिकेर अहिले उद्यमी बने’, उनले सुनाइन् ।

चन्द्रिकादेवीले गाउँमै चुरा बनाउने काम गर्छिन् । उनलाई यो सिप असमान नेपाल नामक संस्थाले दिएको हो । आफूले बनाएका चुरा उनले गाउँकै महिलाहरूलाई बेच्छिन्  । उनी पसलहरूलाई पनि आफ्ना उत्पादन बेच्ने गर्छिन् । उनले महिनामा २० देखि २५ हजारसम्म कमाई हुन्छ उनको ।

उनको यो कमाइ गृहिणी (हाउस वाइफ)को जिम्मेवारी पुरा गरिसकेपछि बचेको समयको हो । उनी बिहान खाना बनाएर छोराछोरीलाई स्कुल पठाउँछिन् अनि बल्ल चुरा बनाउन थाल्छिन् । साँझ ४/५ बजेसम्म यो कम गर्छिन् ।  त्यसपछि उनी पुनः बेलुकाको खाना बनाउने काममा लाग्छिन् ।

‘बिहान घरको काम सकाएर छोराछोरीलाई पढ्न पठाउँछु । त्यसपछि चुरा बनाउन थाल्छु । दिनभरि बनाउँछु अनि फेरि साँझको समयमा घरको काम गर्छु’, उनी आफ्नो दिनचर्या सुनाउँछिन् । 

आफू आत्मनिर्भर बनेपछि परिवारकै जीवनशैलीमा सुधार भएको उनी बताउँछिन्। दलित समुदायका मधेशी महिलाहरू पनि उद्यमशीलता मार्फत आत्मनिर्भर बन्न सक्छन् भन्ने उदाहरण बनेकी छिन्, उनी । ‘महिला घुम्टोमै बस्नु पर्छ भन्ने छैन । म घुम्टोमै बसिरहेको थिएँ  भने मेरो परिवारले अहिले पनि दुई छाक खान पाउँदैन थियो होला । आफैले कमाएर छोराछोरीलाई राम्रो खुवाएको मात्रै छैन, पढाएको पनि छु’, उनी गर्व गर्दै सुनाउँछिन् ।  

दोस्रो कथा सविताको

कल्याणपुर नगरपालिका ९ की सविता महारा पनि गुजार चलाउनकै लागि उद्यमी बनेकी हुन्। आर्थिक अवस्था कमजोर भएकै कारण उनले ९ कक्षा मात्र पढेर पढाई छोड्नु पर्‍यो ।  

जीवन धान्न उनले सिप सिक्ने सोच बनाइन् । सोही अनुसार सिलाइ कटाइको तीन महिने तालिम लिइन् । तालिम पछि उनीसँग कपडा सिलाउने मेसिन किन्ने पैसा थिएन । तर, असमान नेपालबाट सहयोगमा मेसिन लिएर काममा जुटेकी उनी अहिले विभिन्न डिजाइनका कपडाहरू सिलाउने गर्छिन् ।

‘पढ्दै थिएँ, ९ कक्षापछि छोडेँ । आमाबुवाले पढाउन सक्नु भएन । पेट नै भर्न नसकिरहेको अवस्थामा पढ्ने खर्च कहाँबाट ल्याउने रु’, उनले प्रश्न गर्दै अगाडी भनिन्, ‘‘गुजारा चलाउनका लागि मैले सिलाइ कटाइको काम गरिरहेकी छु ।’

आफ्नै गाउँघरबाट आएका अर्डर अनुसार कपडा सिलाउँदै आएकी छिन्, सबिता । यसबाट महिनामा २५ हजार रुपैयाँसम्म कमाउने गरेकी छिन् । तर, उनी यसमा सन्तुष्ट भने छैनन् । यो काम विस्तार गर्ने सोच छ, उनको ।

‘मलाइ अझै केही गर्न सक्छु भन्ने आँट छ । बजारमा ठूलो पसल खोलेर अरूलाई पनि तालिम दिँदै आफू पनि त्यही काम गर्ने सोच छ । हेरौँ, भोलीका दिनमा के हुन्छ’, आशावादी छिन् उनी।

उनको यो सपना तत्काल साकार गर्न सक्ने अवस्था भने छैन । उनले अहिले सिलाइ कटाइबाट गरेको आम्दानी गुजारा कै लागि ठिक्क छ । कमाएको पैसा विस्तारै बचत गर्न सकेमा पछि सोचे अनुसार काम गर्ने उनको लक्ष रहेको छ ।

तेस्रो कथा आरतीको

सानै उमेरमा मुढा बनाउन सिपालु छिन्, कर्जन्हा वडा न। ५ खोलाटोलकी आरती कुमारी सदा । उनी अहिले मात्र २० वर्षकी भइन् । उनका बुवाआमाले मुढा बनाउने काम गरेका कारण उनी पनि यही काममा लागेकी हुन् ।

सविता जस्तै उनले पनि आर्थिक अवस्था कमजोर भएकै  कारण ७ कक्षामै पढाइ छाडिन् । ‘७ कक्षा पढेर छोडेको । पढ्ने पैसा भएन अनि छाडेर बुवाआमासंगै मुढा बनाउने काम गर्न थालेँ’, आफूले उद्यमशीलतामा कदम राख्नु कारण खोलिन् ।

सदाले बनाएको मुढा त्यही रहेको कोशेली घरमा बिक्रीका लागि राख्ने गरेका छन् । त्यसबाहेक उनले गाउँमा र केही पसलहरूमा लगेर पनि बेच्ने गर्छिन् । त्यसबाट उनले मासिक २२ हजार रुपैयाँसम्म आम्दानी गर्दै आएकी छिन् । 

चैथो कथा रामहिराको

विगत आठ महिनादेखि कल्याणपुर ९ डुमरीकी रामहिरा महराको दैनिकी फेरिएको छ । अरूको खेत बटिया गरेर गुजारा चलाइरहेकी उनी अहिले भने उद्यमी बन्न कस्सिएकी छिन् । असमान नेपालबाट १५ दिनको तालिम लिएर उनी सरफ बनाउने काममा लागेकी हुन् ।

‘‘हामी सुकुम्बासी हो, हामीसँग जग्गाजमिन, घर केही पनि छैन । हामी अरूको खेत बटिया गरेर परिवार पालेका थियौँ । अहिले आफै सिप सिकेर उद्यमी बन्नु पर्छ भनेर सरफ बनाउन थालेको छु । खेतबाट भन्दा यताबाट राम्रो आम्दानी भइरहेको छ’, उनले सुनाइन् ।

उनी आफूले बनाएको एक केजी सरफ एक सय रुपैयाँमा बिक्री गर्छिन् । उनी महिनामा एक क्विन्टल भन्दा बढी बिक्री गर्दै आएकी छिन् ।

आरती र सविताले झैँ उनका छोराछोरीले बीचमै पढाइ छोड्नु परेको छैन । उनले सरफ बनाएर गरेको आम्दानीबाट चार जना छोराछोरी पढाएकी छिन् । चन्द्रिकादेवीका छोराछोरी पनि आर्थिक अभावका कारण पढाइ छोड्नु पर्ने बाध्यतामा छैनन् । आमाहरू उद्यमी बनेकाहरूको छोराछोरी पढिरहेका छन् भने अरूका बिचमै पढाइ छोड्न बाध्य भएको देखिन्छ ।  

यसरी बिचमै बालबच्चाले पढाइ छोड्न नपरोस्, दिगो पोषणको सुनिश्चित होस भनेर असमान नेपालले महिलाहरूलाई उद्यमी बनाइरहेको सो संस्थाकी समुदाय सहजकर्ता रामकुमारी यादव बताउँछिन् । उनी भन्छिन्, ‘भूमिहीन महिलाहरूको लागि हामीले तालिम दिँदै आएका छौँ । दिगो पोषण परियोजना अन्तर्गत उनीहरूको जीविकोपार्जनमा सुधार गर्नका लागि सिप सिकाउने गरिएको छ । त्यहीबाट नै उहाँहरू उद्यमी बन्न भएको हो ।’ 

सो संस्थाले त्यस्ता समुदायको महिलाहरूको लागि रुचि अनुसार तालिम दिने गरेको छ । तालिम पछि उद्यमी बनाउनका लागि संस्थाले आवश्यक पर्ने सामान, कच्चा पदार्थहरू सहयोग पनि गर्ने गरेको छ । सो सहयोगले धेरै महिलाहरू जीविकोपार्जनका लागि उद्यमी बनेका छन् ।     

Image

काठमाडौं महानगरपालिकाले ललितकला प्रज्ञा प्रतिष्ठानसँग २०८० फागुन १७ गते सम्झौता गरेको थियो । स्थान अ...

Image

भैरहवा । नेपाल-भारत सीमा क्षेत्रबाट ठूलो परिणाममा लागु औषध पक्राउ परेको छ । आज वैशाख ४ गते मंगलबा...

Image

काठमाडौँ । नेपाल प्रहरीमा प्राविधिक समूहतर्फका दुई जना प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई डीआइजी पदमा ब...

Image

आयोजनामा तीनवटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल (ब्रिज) र एउटा फ्लाइओभर रहेका...

Image

केही गर्छु भन्ने अठोट भएका महिलाहरूले सङ्घर्ष नै गरेर भएपनि चाहेको क्षेत्रमा लाग्न उनी सुझाव दिन्छिन...

Image

के एसटीआई गठन नै वर्तमान समस्या हल गर्ने अचुक बाण हो रु गठन गर्ने तयारी अन्तिम चरणमा पुगेको एसटीआईले...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४