मार्कीचोक–नयाँ भरतपुर प्रसारण लाइन निर्माण छिट्टो सम्पन्न गर्न ताकेता

२० चैत्र २०८०

cover image

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत तनहुँको आँबुखैरनी गाउँपालिकाको मार्कीचोकबाट चितवनको भरतपुर महानगरपालिका आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनसम्मको लाइन निर्माण छिट्टो सम्पन्न गर्न ताकेता गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उप कार्यकारी निर्देशक प्रदीप कुमार थिके सम्मिलित टोलीले प्रसारण लाइन र सबस्टेसन निर्माणको अनुगमन गरी वर्षा यामको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका लागि मार्कीचोक–नयाँ भरतपुर प्रसारण लाइन महत्त्वपूर्ण रहेकाले निर्माणलाई तीव्रता दिन आग्रह गर्‍यो ।

टोलीले आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग छलफल गरी निर्माणको अवस्था, बेहोरिरहेका समस्या, निर्माण सम्पन्न हुन समय तालिकालगायतका विषयमा जानकारी लिएको थियो । आयोजनाका तर्फबाट वन क्षेत्रको जग्गा प्रयोग र रुख कटान स्वीकृतिका रहेको कानुनी लामो प्रक्रिया, निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनका कारण निर्माण प्रभावित भइरहेको जानकारी गराइएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले मार्कीचोक–नयाँ भरतपुर खण्ड आगामी असारभित्रमा निर्माण सम्पन्न गर्न नसकिएमा २/३ सय मेगावाट विद्युत् प्रवाह गर्न नसकी खेर फाल्नु पर्ने अवस्था आउन सक्ने बताए । ‘अहिले चालू रहेको मर्स्याङ्दी भरतपुर र दमौली–भरतपुर १३२ केभी प्रसारण लाइन सिङ्गल सर्किट मात्र छन्, जसबाट करिब ८०/८० मेगावाट मात्र विद्युत् प्रवाह गर्न सकिन्छ, मार्कीचोकबाट विद्युत् काठमाडौं ल्याउन त सकिन्छ तर प्रसारण लाइनको क्षमताले नथान्ने हुँदा काठमाडौंबाट हेटौंडातर्फ थप विद्युत् पठाउन पनि सकिँदैन, यसबाट भारतर्फको विद्युत् निर्यात पनि प्रभावित हुनेछ’, कार्यकारी निर्देशक घिसिङले भने ।   

त्रिशूली कोरिडोरबाट माथिल्लो त्रिशूली ३ ए, रसुवागढी, साञ्जेनलगायतका जलविद्युत् आयोजनाहरूको विद्युत् काठमाडौं आउँछ । मार्कीचोक–नयाँ भरतपुर प्रसारण लाइन निर्माण सम्पन्न भएमा मात्र उक्त विद्युत्लाई भरतपुरबाट हेटौंडातर्फ र बुटवलतर्फ प्रवाह गर्न सकिन्छ । नत्र विद्युत् कतै प्रवाह गर्न नसकी ह्यागिङ हुने अवस्था आउने देखिएको छ ।

घिसिङले चितवनका प्रमुख जिल्ला अधिकारी र डिभिजन वन कार्यालयका प्रमुखलाई फोन गरी वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानमा स्वीकृति प्रक्रियामा सहजीकरण गरिदिएर महत्त्वपूर्ण प्रसारण लाइनको निर्माण जतिसक्दो छिट्टो सम्पन्न गर्न आवश्यक सहयोग गरिदिन आग्रह गरे । आयोजनाअन्तर्गत लमजुङको उदीपुरबाट गोरखा, तनहुँ हुँदै नयाँ भरतपुरसम्मको प्रसारण लाइन निर्माणका लागि ६९.६९ हेक्टर राष्ट्रिय वन प्रयोग र त्यहाँ रहेका १० हजार २ सय २५ रुख कटान गर्नु पर्नेछ । मन्त्रिपरिषद्को गत २५ माघको बैठकले वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानका लागि स्वीकृति दिएको थियो ।

वन क्षेत्रको जग्गा प्रयोग गरेबापत सोही बराबरको जग्गा उपलब्ध गराउनु पर्ने वन नियमावली, २०७९मा भएको व्यवस्था बमोजिम आयोजनाले गत १३ फागुनमा निजी जग्गा खरिदका लागि सार्वजनिक सूचना जारी गरेको थियो । नियमावलीमा भएको व्यवस्था बमोजिम सम्बन्धित जिल्लाभित्र सम्भव भएसम्म आयोजनास्थल नजिक पर्ने राष्ट्रिय वन क्षेत्रसँग जोडिएको र समान भौगोलिक परिस्थितिकीय क्षेत्रमा पर्ने तथा वन विकास गर्न सकिने भू–बनोट भएको निजी जग्गा बिक्रीका लागि प्रस्ताव आह्वान गरिएको थियो । तर, जग्गा बिक्रीका लागि प्रस्ताव नै नपरेको आयोजना प्रमुख नारायण रेग्मीले बताए । 

अब प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने जग्गा प्राप्ति सहजीकरण समितिले जग्गा प्राप्त नभएको सिफारिस वन तथा भू–संरक्षण विभागमा गरिदिनु पर्नेछ । त्यसपछि आयोजन वन क्षेत्रको जग्गा प्रयोग गरेबापत तोकिएको रकम वन विकास कोषमा जम्मा गरेपछि मात्र विभागसँग सम्झौता हुने छ । त्यसपछि मात्र वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानको प्रक्रिया अगाडि बढ्ने छ । प्राधिकरणको टोलीले जग्गा प्राप्ति सहजीकरणको बैठक तत्काल राखी विभागमा सिफारिस गरिदिन आग्रह गरेको हो ।

मार्कीचोक–नयाँ भरतपुर खण्डमा ८० वटा टावर निर्माण गर्नु पर्ने छ । त्यसमध्ये ३५ वटा टावरको जग हालिएको छ । ५ वटा टावर खडा गरिएको छ । मर्स्याङ्दी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका चार वटा सबस्टेसनहरुको निर्माण हुँदैछन् । चितवनमा नयाँ भरतपुर सबस्टेसनको निर्माण सम्पन्न भइसकेको छ । लमजुङको उदीपुर तथा खुँदी र मनाङको धारापानीमा सबस्टेसन निर्माणाधीन छन् ।  

मर्स्याङ्दी र त्यसका सहायक नदीहरुबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब एक हजार ६ सय मेगावाट विद्युत् प्रवाह गर्न सकिने छ । आयोजनाअन्तर्गत चितवनको भरतपुरदेखि  मनाङको धारापानीसम्मको ११३ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माणाधीन छ ।

आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सबस्टेसनसम्मको करिब ६७ किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ । दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर र उदीपुर सबस्टेसन निर्माण गरिएको छ । तेस्रो प्याकेजअन्तर्गत खुँदिबाट धारापानीसम्मको ४६ किलोमिटर प्रसारण लाइन र दुई वटा सबस्टेसन निर्माण भइरहेका छन् ।    

नेपाल सरकारको लगानी र युरोपेली लगानी बैंक (इआइबी)को सहुलियतपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब १६ अर्ब रुपैयाँ छ ।

 

Image

अपर राहुघाट र मङ्गले राहुघाटको प्रवर्द्धक तुदी हाइड्रोपावरका आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाले दु...

Image

एक्स्पोमा ऊर्जा विकाससँग सरोकार राख्ने सरकारी तथा गैरकारी निकाय, विश्वविद्यालय कलेज, स्वदेशी तथा विद...

Image

अमेरिका उड्नुअघि मन्त्री पुनले ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, विश्व बैंक र एसियाली विकास बैंकका ने...

Image

अरुण नदीको सतिघाटमा फेरी सञ्चालन भएपछि षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिकाका ७० हजारभन्दा बढी...

Image

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले परिसङ्घको प्रस्तावलाई सकारात्मक रूपमा लिँदै आव...

Image

हालसम्म ९ हजार ५०० मेगावाटको पीपीए सम्पन्न भएको र थप १० हजार मेगावाट प्रक्रियामा रहेको तथा हालसम्म न...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४