शीर्षकहरू

माओवादीको ‘जनयुद्ध दिवस’मा बिदा छैन : गृह मन्त्रालय

माओवादीको ‘जनयुद्ध दिवस’मा बिदा छैन : गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले आगामी फागुन १ गते निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको स्पष्ट पारेको छ ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले आज एक सूचना जारी गर्दै सर्वोच्च अदालतको फैसलाका आधारमा मन्त्रिपरिषद्को निर्णयानुसार यसअघि राजपत्रमा प्रकाशित उक्त दिन बिदा कायम नरहेको जानकारी दिएका हुन्‌ ।

सरकारले मा‌ओवादी संलग्न १० वर्षे ‘जनयुद्ध दिवस’का अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने घोषणा गरेको थियो । सर्वोच्च अदालतले उक्त दिन सार्वजनिक बिदा नदिन सरकारलाई आदेश दिएको थियो ।

यही माघ २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतको आदेशअनुसार फागुन १ गते बिदा कायम नगर्ने निर्णय गरेको थियो ।

नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ हाल उपप्रधान तथा गृहमन्त्री हुन्‌ भने अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री छन्‌ ।