शीर्षकहरू

‘लुक्ला-विराटनगर हवाई उडान हुन्छ’

‘लुक्ला-विराटनगर हवाई उडान हुन्छ’
फाइल फोटो ।

सोलुखुम्बु । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सगरमाथा क्षेत्रबाट प्रदेश राजधानीको विराटनगरमा माउन्टेन उडान भर्ने बताएका छन्‌ । उनले सगरमाथा क्षेत्रलाई प्रदेश राजधानीसँग जोड्न छिट्टै विराटनगर–लुक्ला माउन्टेन फ्लाइट सुरु गर्ने बताएका हुन्‌ ।

विश्वको सवोच्च शिखर सगरमाथा क्षेत्रलाई प्राथमिकतामा राखेर थप पर्यटन प्रवर्द्धनका लागि विराटनगर–लुक्ला माउन्टेन फ्लाइट सुरु गर्ने योजना रहेको जनाउँदै मुख्यमन्त्री कार्कीले उक्त योजना छिट्टै कार्यान्वयनमा आउने दाबी गरे ।

‘खुम्बु क्षेत्र सङ्घीय राजधानीसँग नजिक भए पनि प्रदेशसँग बिरानो भएको छ’, उनले भने, ‘यसलाई समाधान गर्न हामी गम्भीर छौँ । केही महिनाभित्रै विराटनगर–लुक्ला जहाज उडान गर्ने तयारी गरिरहेका छौँ ।’

सगरमाथा क्षेत्रलाई उपयोग गरे पनि यसको संवर्द्धन गर्न राज्यले नसकेको मुख्यमन्त्री कार्कीको भनाइ थियो । खुम्बुको पर्यटन विकासका लागि आगामी मे २९ तारिख ‘सगरमाथा दिवस’ मनाउन आफूसहितको समूह सगरमाथा क्षेत्र पुग्ने उनले जानकारी दिए ।

प्रदेशमा अवस्थित विश्वको शिरलाई प्रवर्द्धन गर्न प्रदेश सरकार सदैव तयर रहेको उनको भनाइ थियो । रासस