काठमाडौं । दुई दिन पछि (आइतबार र सोमबार) तेस्रो लगानी सम्मेलन हुँदैछ । यस सम्मेलनमा आउने विदेशी लगानीकर्ताहरूको पनि सूची पनि लगभग तयार भइसकेको छ ।
सङ्ख्याको हिसाबमा हेर्ने हो भने सबैभन्दा बढी लगानीकर्ता उत्तरी छिमेकी चीनबाट दुई सय १५ जना आउँदै छन् । त्यस्तै, भारतबाट ११३ जना लगानीकर्ता सम्मेलनमा सहभागी हुँदै छन् ।
तर, नेपालमा उत्साहित बनेर लगानी गर्न थालेका चिनियाँहरू पछिल्ला वर्षमा भने केही हच्किएका छन् । तथ्यांकले के देखाउँछ भने सन् २०२१ मा विदेशी लगानीमा नेपालमा खुलेका उद्योगहरु मध्ये १४० वटामा चिनियाँ लगानी रहेको थियो । त्यो संख्या भनेको विदेशी लगानीमा खुलेका उद्योगहरूको कूल सङ्ख्याको ७६ प्रतिशत हो ।
जबकि हामीले अपेक्षा गरेअनुसार भारतीय लगानीकर्ताहरूले पनि ठूलो सङ्ख्यामा नेपालको उद्योग खोलेको हुनुपर्ने हो । तर, सो वर्ष जम्मा ९ वटा उद्योगहरू मात्रै भारतीय लगानीमा नेपालमा स्थापना भएका थिए । जुन कूल सङ्ख्याको ४.८ प्रतिशत मात्रै हुन आउँछ ।
चिनियाँहरुले नेपालमा यसरी आक्रामक ढङ्गले लगानी गर्न थालेपछि उनीहरूको लगानी निरुत्साहित गर्न विभिन्न कोणबाट चलखेलहरू भए । चिनियाँ लगानीमा अगाडी बढिरहेका परियोजनाहरू एकाएक खोसेर भारतीयलाई जिम्मा दिने काममा सरकार नै सक्रिय बन्यो । त्यतिले मात्रै नपुगेर चिनियाँ ठेकेदारहरूले नेपालमा काम नगरेको भन्ने भाष्य योजनावद्धरुपमा नेपाली समाजमा स्थापित गराइने काम भयो ।
त्यसबाहेक नेपालमा प्रमुख लगानीको क्षेत्र रहेको जलस्रोतमा आफ्नो बाहेक अन्य मुलुकको लगानी रहेको भए ती परियोजनाबाट उत्पादित बिजुली नकिन्ने भारतीय भनाइले चिनियाँ मात्रै नभएर अन्य देशका लगानीकर्ताहरूलाई पनि नेपालमा लगानी गर्न प्रमुख आकर्षककारुपमा रहेको जलविद्युत क्षेत्रबाट लगानीकर्ताहरूलाई विमुख बनाएको छ ।
यसरी चिनियाँहरूले निरुत्साहित गरेपछि सन २०२३ मा भने त्यो आँकडा नै परिवर्तन भयो । पहिले चीन अगाडी रहेकोमा भारतबाट ८८ अर्ब ६ करोड रुपैयाँ वैदेशिक लगानी नेपाल भित्रिदा चीनबाट ३३ अर्ब ४ करोडको मात्रै लगानी आएको देखिन्छ ।
यसरी चीनलाई नीतिगतरुपमा नै असहज बनाउने नेपाल र भारतको अघोषित घेराबन्दीका कारण चिनियाँ लगानी ठप्पै हुने देखिएपछि लगानी सम्मेलनको पूर्व सन्ध्यामा केही समय अघि उपप्रधानमन्त्री नारायण काजी श्रेष्ठ आफै चीन पुगेर त्यहाँका व्यापारीहरूलाई नेपाल आउन निम्ता दिएपछि बल्ल चिनियाँहरू सम्मेलनमा सहभागी हुन काठमाडौं आउदैछन् ।
यदि नेपालले आसन्न लगानी सम्मेलन मार्फत आफूले कसैलाई काखा र कसैलाई पाखा गर्ने विगतको गल्ती नदोहार्याउने प्रतिबद्धता चित्त बुझ्दो ढङ्गले नगर्ने हो भने फेरि पनि चिनियाँ लगानी नेपालमा भित्रिने सम्भावना न्यून नै रहने देखिन्छ । टाढाका लगानीकर्ता भन्दा हामीले ध्यान दिनु पर्ने भारत र चीनकै लगानीकर्ताहरूलाई हो । किनभने हाम्रो बजार त्यही हो र आफ्नै आवश्यकताको लागि उनीहरूले नेपालमा गर्ने लगानीले मात्रै यहाँ दीर्घकालीन फल दिन सक्छ ।
नेपालको पूर्वाधार र जलस्रोतमा गरिने लगानीले पुर्याउने लाभ र यहाँ खुल्ने उद्योगधन्दा र व्यापार व्यवसायले दिने लाभ फरक प्रकृतिका हुन्छन् । हामीलाई रोजगारी चाहिएको छ । नयाँ सिप, पुँजी र प्रविधि नेपाल भित्र्याउनु छ । त्यो भनेको नेपालमा उत्पादनमूलक उद्योगहरूको स्थापना र कृषिमा आधुनिकीकरणको माध्यम नै हुनसक्छ । त्यसैले कुन देशका लगानीकर्ताहरू यहाँ उद्योग खोल्ने र नेपालबाट निर्यात गर्न मिल्ने वस्तुहरूको उत्पादन गर्ने तर्फ ध्यान दिन्छन् । उनीहरूलाई नेपालमा लगानीयोग्य वातावरण छ भन्ने कुराको सुनिश्चित गर्न आवश्यक छ । हामीले कसैलाई बदनाम गर्ने र कसैको जयजयकार गर्ने भन्दा पनि नेपाल र नेपालीको हितको रक्षा गर्नेतर्फ सोच्नु पर्छ । जहाँ जुन पक्षबाट सिप, लगानी, प्रविधि एकैसाथ नेपाल भित्रिन्छ तिनीहरूले खोजेको वातावरण निर्माण गरिदिनु पर्छ ।