शीर्षकहरू

लालबन्दी नगरपालिकाले गरायो पर्यटन प्रवर्द्धन पदयात्रा

लालबन्दी नगरपालिकाले गरायो पर्यटन प्रवर्द्धन पदयात्रा

-कृष्ण थपलिया

सर्लाही । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले जिल्लाको लालबन्दी नगरपालिकाले पर्यटन पर्यटन प्रवर्द्धन  पदयात्रा सम्पन्न गरेको छ । नगरको वडा नं १३,नारायणडाँडामा रहेको भ्यू टावर  डाँडाबाट सुरु भएको पदयात्रा हाइकिङ्ग कर्मडन्डी, बाहुनीडाँडा, अर्नेडाँडा हुँदै करिव ११ किलोमिटर दुरी पार गरि अर्नेडाँडा आधारभूत विद्यालयमा पुगि समिक्षा कार्यक्रम गरि सम्पन्न भएको हो ।

यात्रा समिक्षा कार्यक्रम बोल्दै प्रमुख अतिथि  संविधानसभा सदस्य एवम् पूर्व राज्य मन्त्री शम्भुलाल श्रेष्ठले नाराणडाँडामा रहेको  नारायण भगवानको भग्नावशेष पुरातात्त्विक महत्त्वको हो वा होइन पत्ता  लगाइ यसको पुनर्निर्माण गर्नुपर्ने बताए । उनले पर्यटन प्रबर्द्धन र त्रिभुवननगर दुम्जा सडकका निर्माणका लागि नगरपालिकाले गरिरहे प्रयास प्रसंशनिय रहेको बताए ।

कार्यक्रमका विशिष्ट अतिथि जिल्ला समन्वय समिति सर्लाहीका सभापति कनैशल किशोर सिंहले लालबन्दी नगरपालिकाले गरिरहेका कार्य अन्य नगरपालिका का लागि प्रेरणादायी रहेको बताए । उनले पत्थरकोटको कालोपत्रे सडक देखि नारायणडाँडामा रहेको भ्यू टावर  सम्मको क्षेत्र प्रदेश मार्फत कालोपत्रे गरिनुपर्ने र त्यसको लागि आफूले समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले पर्यटन प्रबर्द्धनका लागि  भ्यू टावर  वरिपरिको क्षेत्रलाई होमस्टे प्रवर्द्धन क्षेत्र बनाउन आग्रह गरे ।

लालबन्दी नगरपालिका का प्रमुख ९मेयर० वासुदेव अधिकारीले आफूले लालबन्दीको चुरे क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि नारायण खोला र कालिन्जोर क्षेत्रमा बाध बाधेर जल यात्रा मार्फत आन्तरिक र बाह्य पर्यटक आकर्षण गर्न चाहेको बताए । उनले बाधबाट जल सतह माथि आई तल्लो क्षेत्रमा सुक्दै गएको पानीको मुहान खुल्ने विश्वास व्यक्त गरे। त्यसको लागि कार्य अघि बढाउने बताए । उनले  चुरे क्षेत्रमा बाटोको बिस्तार एक घर एक खानेपानीको लागि काम भइरहे बताए । काठमाडौ युनिभर्सिटी विस्तारिकरणका लागि काम भइरहेकाले यसले  लालबन्दीको पर्यटन प्रबर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे। चुरेमा पर्यटक बढ्न थालेपछि स्थानीय उत्पादनले सहि मूल प्राप्त  गरि यहाँका नागरिकले राहत महसुस गर्ने विश्वास व्यक्त गरे।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले  नारायणडाँडामा रहेको नारायण भगवानको मूर्ति भनिए अनुसार चौथो शताब्दीकै पाइए  यसले मात्रै पनि पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए । उनले त्यसका लागि पुरातत्त्व विभाग संग समन्वय गरेर काम गर्न आग्रह गरे ।उनले चुरे र तल्लो भेगको मौसम फरक हुने भएकाले होस्टेको व्यवस्था हुँदा पदयात्रा (हाइकिङ्ग) का लागि मात्र पनि पर्यटन आउने र बस्ने विश्वास व्यक्त गरे । उनले चुरो क्षेत्र बलियो पहाडी क्षेत्र नभएकाले अम्रिसो,बाँस रोपी भूक्षय नियन्त्रणका साथै आन्तरिक आय वृद्धिका  लागि काम गर्न आग्रह गरे ।

समिक्षात्मक कार्यक्रम मा नेपाली कांग्रेस क्षेत्र नं १ ख का सभापति सीताराम दाहाल, शिक्षक तथा अनवेषक देवराज पौडेललगायत सरोकारवालाहरूले  पर्यटन प्रबर्द्धनका लागि सुझाव दिएका थिए । पदयात्रा (हाइकिङ्ग)मा प्रदेश सभा सदस्य बेची लुंगेली,उपमेयर कल्पना माया पाख्रिन , जिल्लाका चारवटै सुरक्षा निकायका प्रमुख नगरपालिका जनप्रतिनिधि,शिक्षक,अनवेषक, साहित्यकार, पत्रकार लगायत १३० भन्दा बढी सरोकारवालाको सहभागिता रहेको थियो ।

लालबन्दी नगरपालिकालाई सुगम क्षेत्र भनिएपनि यहाँको चुरे क्षेत्र विकट कर्णाली भन्दा कम छैन । यहाँका नागरिकले हिउँदमा खोलाको बाटो भएर यात्रा गरे पनि बर्षा सुरु हुनेबित्तिकै सामान्य उपचार सेवा समेत नपाउदा ज्यानै गुमाउनु पर्ने अवस्थाबाट गुज्रदै आउनु परेको छ । नागरिकले आधारभूत सेवाबाट बञ्चित हुनु नपरोस् ,चुरे क्षेत्रमाको विकासमा टेवा पुगोस्‌ भनेर लालबन्दी नगरपालिकाको  ११ औँ नगर सभाले पर्यटन प्रवर्द्धन  पदयात्रा गर्ने निर्णय गरेको लालबन्दी नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत वसन्त कुमार न्यौपानेले जानकारी दिए ।