सरकारले विगत ५ महिनादेखि क्यान्सर रोगीहरुलाई दिँदै आएको एक लाख आर्थिक सहायता रोकिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा। पुष्पा चौंधरीले बजेटको अभावमा ५ महिनादेखि क्यान्सर रोगीहरुलाई दिँइदै आएको १ लाख आर्थिक सहायता रोक्का गर्नु परेको स्पष्ट पारिन् ।
बजेटको अभाव भएकाले सरकारले हाललाई क्यान्सर रोगीहरुको सूची तयार पार्ने काम पनि स्थगित गरिएको सचिव चौंधरीले स्पष्ट पारिन् ।
आइतबार काठमाडौंमा आयोजित ‘विश्व आँखा क्यान्सर सचेतना सप्ताह’ कार्यक्रममा बोल्दै उनले आँखाको क्यान्सर रोगको उपचारको लागि पनि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था गर्ने आश्वासन पनि दिइन् ।
सचिव चौंधरीले क्यान्सरजस्ता जटिल रोगहरुको उपचारका लागि सरकारले कम्तीमा पनि ५ लाख आर्थिक सहायता उपलब्ध गराउने प्रयास गरिरहेको बताइन् ।