शीर्षकहरू

करिब तीन महिनादेखि शेयर निष्कासन ठप्प

करिब तीन महिनादेखि शेयर निष्कासन ठप्प

काठमाडौं । करिब तीन महिनादेखि नेपाल धितोपत्र बोर्ड (सेबोन) को नेतृत्व विहीन अवस्थामा रहेको छ । गत पुस २० गतेपछि बोर्ड अध्यक्षको पद रित्त रहेको हो । 

अध्यक्ष नियुक्तीका लागि गत माघ ३ गते मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीन बहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । उक्त समितिले फागुन १६ गते देखि ३० गतेसम्म बोर्डको अध्यक्ष पदका लागि दरखास्त आव्हान गरेकोमा १९ जनाको आवेदन प्राप्त भइसकेको छ । 

आवेदन प्राप्त गरेको १८ दिन बितिसक्दा सिफारिस समितिले प्रक्रिया टुङ्गोमा पुर्याउन सकेको छैन । अर्थमन्त्री वर्षमान पुनले गत साता नै जतिसक्दो चाँडो अध्यक्ष नियुक्ति प्रक्रिया टुङ्ग्याउन सिफारिस समितिलाई निर्देशन समेत दिएका थिए । सिफारिस समितिले गरेको सिफारिसका आधारमा मन्त्रिपरिषद्को बैठकले बोर्ड अध्यक्ष नियुक्त गर्नेछ ।

बोर्डमा अध्यक्ष नहुँदा सार्वजनिक निष्कासनका लागि स्वीकृति प्रक्रिया ठप्प भएको छ । करिब तीन महिनादेखि सार्वजनिक निष्कासनका लागि स्वीकृति नहुँदा यति बेला प्राथमिक बजार शून्य अवस्थामा रहेको छ । पुस १९ गतेपछि कुनै पनि कम्पनीले सार्वजनिक निष्कासनका लागि स्वीकृति पाएका छैनन् ।

बोर्ड अध्यक्ष नहुँदा पनि सञ्चालक समितिले निर्णय गरेर प्रक्रिया पुरा गरेका कम्पनीलाई सार्वजनिक निष्कासनका लागि स्वीकृति दिन सकिने व्यवस्था भएपछि त्यो काम हुन सकेको छैन । अध्यक्ष हुँदाका बखत सार्वजनिक निष्कासन स्वीकृति प्रक्रियाका सम्बन्धमा विवाद खेपेको बोर्डले अध्यक्ष नहुँदा त्यसको जिम्मेवारी नलिएको हुनसक्ने अनुमान लगाउन सकिन्छ । दैनिक प्रशासकिय जिम्मेवारी भने बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीले पाएका छन् । उनलाई नीतिगत निर्णयका लागि भने अधिकारी दिइएको छैन ।