काठमाडौं । तातोपानी भन्सार कार्यालयबाट काठमाडौंतर्फ रासायनिक मल धमाधम ढुवानी भइरहेको छ । चीनबाट आयात गरिएको उक्त रासायनिक मल ढुवानी गरिएको हो ।
करिब ११ महिना गोदममा थन्किएको मल आयातकर्ता ट्रान्स सिल्कले आवश्यक प्रक्रिया पूरा गरेसँगै मल काठमाडौंतर्फ ढुवानी भएको हो । कृषि सामग्री कम्पनी र आयातकर्ताबीच सहमति भएपछि तीन हजार पाँच सय टन मल काठमाडौंतर्फ ढुवानी भएको भन्सार कार्यालयले जनाएको छ ।
तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीका अनुसार तीन हजार पाँच सय टन मलमध्ये हालसम्म एक हजार दुई सय टनभन्दा बढी मल जाँच पास भएर काठमाडौं आएको छ । बाँकी मल पनि जाँच पास प्रक्रियामा रहेकाले चाँडै नै काठमाडौं ल्याइने जनाइएको छ ।