शीर्षकहरू

कनेक्ट आइपीएसको भरपर्दा लुटियो शिव नन्दनको १० लाख, सचेत हुन गर्दैछन् आग्रह

कनेक्ट आइपीएसको भरपर्दा लुटियो शिव नन्दनको १० लाख, सचेत हुन गर्दैछन् आग्रह

काठमाडौँ ।  नेपालका सबै बैंक तथा वित्तीय संस्थाको सहभागितामा संचालित भुक्तानी प्रणाली हो, कनेक्ट आइपीएस । यसको प्रयोग बढाउन र व्यापार प्रवर्द्धन गर्न हरेक जसो बैंकले आफ्ना कार्यालयहरूमा ठूला र आकर्षक होडिंग बोर्डमा कार्यालय भित्रै विज्ञापन गरिरहेका छन् । अनि कर्मचारीले पनि कर गर्दै भन्ने गर्छन् – ‘कनेक्ट आइपीएस चलाउनु अनि घरमै बसेर कारोबार गर्नु नि यो भिड र लाइनमा उभिनु भन्दा ।‘

तर, त्यही कनेक्ट आइपीएस नामक एपको कमजोरी र ह्याकरहरूको चलाखीले गर्दा हजारौँ नागरिकको बैंक खाटबाट रकम चोरी भइरहेको छ । जसलाई गम्भीर रूपले हेर्ने काम कुनै निकायले गरेको छैन ।

यसरी आफ्ना ग्राहकलाई कनेक्ट आइपीएसमा जोडिन प्रोत्साहन गर्ने बैंक, भुक्तानी प्रणाली संचालन गरिरहेको सिडिएस क्लियरिंग कम्पनी र प्रहरी प्रशासनको उदासीनताको सिकार बनेका हजारौँ मध्ये एक हुन्, सुनसरी इनरुवाका शिव नन्दन मेहता ।

उनको १० लाख १० हजार रुपैयाँ कनेक्ट आइपीएसको माध्यमबाट चोरी भएको अढाई महिना हुन लाग्यो तर कसले लग्यो, चोरी गर्ने को हो ? अहिले कहाँ छ ? के गर्दैछ ? भन्ने जस्ता सबै कुरा स्वयम् उनले नै खोजी गरेर सम्बन्धित सबैलाई जानकारी दिइसके तर पैसा फिर्ता आउने वा ल्याउन सहयोग गर्ने तत्परता कसैमा देखिएको छैन ।

चोरी भएको पैसा फिर्ता ल्याउने प्रयत्नमा उनी विगत दुई महिनादेखि काठमाडौँमा लागि परेका छन् । राष्ट्र बैंक, सम्बन्धित बैंक, सिडिएस, प्रहरी, साइबर ब्युरो, नेता, सांसद, मन्त्री सबैलाई गुहारी सके तर हरेक पटक कसैलाई भेटेपछि उनको पीडा झन् बढ्छ किनभने उनको समस्यालाई ध्यानपूर्वक कसैले सुन्न समेत चाहेका छैनन् ।

झन्, त्यस्तो चोरीलाई आफ्नो एप मार्फत सहज पार्ने कनेक्ट आइपीएसका प्रमुखले त भेट्न समेत समय नदिएको गुनासो गर्छन्, शिव नन्दन । उनी आशंका गर्न थालेका छन्, कतै चोरसँग कनेक्ट आइपीएसका जिम्मेवार मानिसहरूको नै मिलेमतो त छैन ?

यस्तो छ घटना

शिव नन्दनको नाममा सानिमा बैंकको इनरुवा शाखा मा खाता नम्बर ०१००१११७०००१३२७ सञ्चालनमा छ । माघ ९ गते बिहान १० उनको खाताबाट कनेक्ट आइपीएस मार्फत एनआईसी एसिया बैंकमा पैसा ९ लाख रुपैयाँ ट्रान्सफर भयो । उनी तुरुन्त सानिमा बैंकमा गएर आफुले नचिनेको मानिसको खातामा आफ्नो जानकारी बिनै रकम गएको जानकारी गराए ।

सानिमा बैंकका कर्मचारीले पैसा एनआइसी एसिया बैंकमा गएको हुनाले सो बैंकमा गएर उक्त व्यक्तिको खाता रोक्काको लागि अनुरोध गर्न सल्लाह दिए । उनी एनआईसी एसिया बैंकको स्थानीय शाखामा गएर घटनाको विवरण सुनाउँदै पैसा गएको खाता केही समयलाई रोक्का गरिदिन आग्रह गरे ।

तर, प्रहरीको पत्र बिना आफुहरुले त्यसो गर्न नसक्ने भने उनीहरूले घटनाको संवेदनशीलतामा बेवास्ता गरे । उनी सोही बैंकका रहेकै बेला उता सो खाताबाट चोरले पैसा निकाल्यो । उनको आफ्नो रकम जोगाउने पहिलो प्रयास बैंकका कर्मचारीको असहयोगले यसरी विफल भयो ।

उनको पैसा लाग्ने व्यक्तिको नाम प्राश्वर थापा क्षेत्री रहेको जानकारी उनले पाए । साबिकको प्युठान जिल्ला,  बर्जिवांग गा . बि . स. वार्ड नम्बर- ०१ (हाल स्वर्गद्वारी नगरपालिका  वार्ड नम्बर-०८, प्युठान) स्थायी घर भई हाल रुपन्देही जिल्ला मायादेवी गाउँपालिका वार्ड न : १० खोकेंद्र टोल बस्ने क्षेत्रीले आफ्नो खातामा पैसा लागेको र तुरुन्तै निकालेको थाहा पाएका उनलाई सोही दिन दिउँसो अर्को झट्का लाग्यो ।

उनकी आमा शनिदेवी मेहताको लुम्बिनी विकास बैंक इनरुवा शाखामा रहेको खाता न: ०१००१११७०००१३२७ बाट २२ पटक हरेक पटक ५ हजारको दरले १ लाख १० हजार रुपैयाँ सिद्धार्थ बैंकको कुमारीपाटी शाखामा खाता  रहेको  कम्पनीको अफसोर टेक प्राली खातामा रकमान्तर भएको मोबाइल म्यासेज प्राप्त भयो ।  

के गर्ने कसो गर्ने भन्ने अन्यौलता बीच उनी १० गते प्रहरीकहाँ उन्जुरी गर्न गए । त्यसपछि प्रहरीलाई सहयोग गर्न र सम्बन्धित सबैलाई आफुलाई सहयोग गर्न अनुरोध गर्दै उनी हिँडिरहेका छन् । तर, कतैबाट आशालाग्दो र भरोसायुक्त प्रतिक्रिया पाएका छैनन् ।

क-कसलाई गरे गुहार ?

शिव नन्दनका अनुसार उनले बैंकहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रलाइ भेटेर आफ्नो समस्या सुनाए । मिश्रले राष्ट्र बैंक नियामक निकाय भएकोले यस्तो काममा केही गर्न नसक्ने हुँदा पुलिसकहाँ जान सल्लाह दिए । उनी प्रहरीको शरणमा त त्यसैबेला गइसकेका थिए जहाँबाट कुनै सहयोग मिलिरहेको थिएन ।

अन्ततः बम बहादुरले निराश पारेर फर्काएका उनी राष्ट्र बैंकको भुक्तानी अनुगमन शाखामा पुगे । उनीहरूले सिडिएस गएर के कसरी यस्तो सम्भव भो भनेर सोध्नु भनेर पठाए । उनी कनेक्ट आइपिएसको अफिस गएर प्रमुखलाई भेट्ने पटक पटक प्रयास गरे तर उनले भेट नै दिएनन् ।

तलका कर्मचारीले पनि पुलिस नै देखाए । उनले यसबिच लुम्बिनी, सानिमा र एनआइसी सबै बैंकका उच्च पदस्थ कर्मचारीलाई भेटे । सीइओहरुका सामुन्ने रोए । तर, उनको समस्याले कसैलाई छोएन ।

सबैले पुलिस देखाएपछि उनी नेपाल प्रहरीको अपराध महाशाखा पुगे । घटना सुनाए । चोरी गर्नेहरूको वृत्तान्त बताए । जवाफ आयो- तपाइको जस्तो समस्या लिएर यहाँ हरेक दिन एक दर्जन जति आउँछन् । हामी अपराधी खोज्ने प्रयास गर्छौ ।

उनी साइबर ब्युरोमा पनि पुगे । त्यहाँबाट पनि खासै केही सहयोग भएन । ह्याकर नै हो भने पनि कम्तीमा कहाँ बसेर ह्याक गर्‍यो त्यो त हेरौँ न भन्ने उनको आग्रहको जवाफ आयो- भिपीएनबाट गरेको छ, लोकेसन पत्ता लगाउन सकिन्न ।

फेरी उनी सबैले देखाएको प्रहरीबाट नै अपराधी समात्न सकिन्छ भन्ने ठानेर नेपाल प्रहरीका प्रवक्ता समेत रहेका डिआइजी भीम ढकाललाई भेट्न गए । उनले सनातनी जवाफ दिए- मलाई यो केश थाहा छ । म राम्ररी अनुसन्धान गर्न भनिदिन्छु मातहतमा, तपाई जानुस् ।

उनी त्यसपछि नेताहरू गुहार्न थाले । गगन थापा भेटे । स्वर्णिम वाग्ले भेटे । आशलाग्दा युवा नेता विश्वप्रकाश शर्मालाई पनि गुहारे । सबैले आफुले पुलिसलाई भनिदिने आश्वासन दिएर फर्काए । हालका गृहमन्त्रीको सचिवालयमा गएर मन्त्री भेट्न समय मागे तर अनुमति नपाएपछि उनको सचिवालयलाई सबै कुरा सुनाए । सहयोग गरिदिन र अपराधी पक्रिएर रुपैयाँ फिर्ता गराइदिन आग्रह गरे । फेरि पनि कुनै रेस्पन्स पाइरहेका छैनन् ।   

यसरी सम्बन्धित बैंक, राष्ट्र बैंक, प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, प्रतिनिधि सभा, राष्ट्रिय सभा र साइबर ब्युरो लगायत नेपालका सबै जसो निकायमा लिखित निवेदन दिइसकेका उनी कम्तीमा पनि अरू कसैले यो नियति भोग्नु नपरोस् भन्ने कामना गरिरहेका छन् ।

आफैँ सूचना प्रविधि (आइटी) को क्षेत्रमा काम गरिरहेका उनी भन्छन्, “सिडिएस क्लियरेन्सको कनेक्ट आइपीएस माथि भरोसा गर्दा मेरो सबै सम्पत्ति चोरको हातमा पुग्यो । म सबैलाई अनुरोध गर्छु हरेक कारोबारमा पैसा खान पल्किएको कनेक्ट आइपीएसमा सुरक्षाको कुनै राम्रो प्रबन्ध छैन । तपाईँको रकम चोरी हुनसक्छ । बैंकका कर्मचारीका कुरा र कनेक्ट आइपीएसको झुटो आश्वासन पत्याएर आफ्नो रकम नलुटाउनु होला ।“