शीर्षकहरू

के हुँदैछ राष्ट्र बैंकमा यस्तो ? किन लाग्दैछ अनैतिक गतिविधिको आरोप ?

के हुँदैछ राष्ट्र बैंकमा यस्तो ? किन लाग्दैछ अनैतिक गतिविधिको आरोप ?

काठमाडौं। नेपालको बैंकिङ क्षेत्र अहिले रोगाएको छ। एउटा बैंक डुब्ने हल्लाले पिरोलिएको छ भने अर्कोका ठूला हाकिमहरू सहित ठूलो संख्यामा कर्मचारी प्रहरी हिरासतमा पुग्दा आत्तिएको छ।

२० वटा वाणिज्य बैंक मध्ये एनआईसी एसिया र प्रभु बैंकलाई उल्लेखित दुःखले सताइरहँदा नियामक नेपाल राष्ट्र बैंक भने माथिल्लो तहकै कर्मचारीका अनेकौं हर्कतका कारण बदनाम बन्दैछ।

कुनै कर्मचारी आफूले राम्रो गाडी चढ्न नपाएको झोँकमा अरूले पाएको सुविधा समेत ‘ढुस’ पार्न अदालतमा पुगेका छन् त कोही गर्नै नहुने कार्य बेहोसीमा गर्दै कारबाही भोग्न बाध्य भएका छन्।

यहाँ प्राथमिकताका साथ पेश गर्न खोजिएको घटना चाहिँ नेपाल राष्ट्र बैंकको सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख रहेका निर्देशक विनोद लेखकको हो। चार्टर्ड एकाउन्टेन्ट (सिए) पृष्ठभूमिका उनी महेन्द्रनगर, कञ्चनपुरका स्थायी बासिन्दा हुन्।

त्यसैले उनलाई घर पायकसमेत पर्नेगरी प्रदेश कार्यालय प्रमुखको जिम्मेवारीसहित राष्ट्र बैंकले त्यतै काममा खटाएको थियो। तर, उनले पाएको जिम्मेवारी सम्हाल्न नसक्दा हाल काठमाडौँ तानिएका छन्। उनको जिम्मेवारी त्यहीँ कार्यरत शान्ति पाण्डेलाई निमित्तका रूपमा दिइएको छ।

घटना विवरण

तीन साता अघि नेपाल राष्ट्र बैंकको सुदूरपश्चिम प्रदेश कार्यालयको ढुकुटीमा लगाइएको सिल तोडिएको अवस्थामा फेला पर्‍यो।

जिम्मेवार व्यक्तिहरू आएर हेर्दा सिल तोडिएको पाइएपछि त्यहाँ निकै ठूलो हंगामा भयो। किन कि त्यो ठाउँमा पुग्ने र लाहा छापसहित सिल तोड्ने अधिकार सीमित व्यक्तिलाई मात्र हुन्छ।

नेपाल राष्ट्र बैंकको अभ्यास कस्तो छ भने केन्द्रीय ढुकुटीदेखि प्रदेश कार्यालयका ढुकुटीहरूका ढोकामा समेत ३ वटा ताल्चा लगाइएको हुन्छ। ती हरेक ताल्चा तीनवटा चाबी नछिराएसम्म खुल्दैनन्।

यस्ता बलिया चाबी हरेक दिन साँझ ५ बजे ढुकुटीमा लगाइन्छ। ती चाबीहरूमध्ये एउटा कार्यालय प्रमुख, अर्को क्यासियर र तेस्रो कार्यालय प्रमुख (मेनेजर)ले तोकेको व्यक्तिको जिम्मा लगाइन्छ।

त्यतिले मात्र नपुगेर ती ताल्चा अनधिकृत ढंगले खोलिन्छन् कि भनेर त्यसलाई काँचो धागोले बाँधेर लाहा छाप लगाउने र सुरक्षाको जिम्मा पाएका व्यक्तिहरूलाई साक्षीका रूपमा सनाखत गराएर मात्र कर्मचारीहरू घर जान्छन्।

यसरी साँझ ५ बजेदेखि बिहान १० बजेसम्म नेपाली सेनाको सुरक्षा घेरामा हरेक कार्यालयका ढुकुटी राखिएको हुन्छ। यस्तोमा धनगढी कार्यालयको सिल भने तोडिएको अवस्थामा पाइनु निकै अनौठो भयो।

घटना भएको दिन फेरि मुचुल्का उठाएर ढोका खोलियो। त्यसो गर्ने परम्परा नै जस्तो छ, किन कि विगतमा पनि राती मुसाले धागो काट्दा मुचुल्का उठाउने र खोल्ने गरिएका घटनाहरूको अनुभव राष्ट्र बैंकसँग छ।

समाचार स्रोत भन्छ, ‘तर, त्यहाँ मुसाले काटेको आशङ्का गर्ने आधार नै थिएन। हेर्दै मान्छेको काम हो भन्ने प्रष्ट हुन्थ्यो। तर, कसले गर्‍यो त्यस्तो काम भन्ने खुलेको थिएन। केन्द्रीय कार्यालयमा खबर आएपछि अनुसन्धान अघि बढाइयो।’

केन्द्रीय कार्यालय काठमाडौँले एउटा टोली नै अनुसन्धानको लागि खटायो। त्यसमा आन्तरिक लेखा परीक्षण विभागका कार्यकारी निर्देशक विमल नेपाल र सोही विभागका उप-निर्देशक केदार पोख्रेल रहेका थिए। उनीहरू घटनाको अनुसन्धानका लागि धनगढी पुग्दा विनोद भने व्यक्तिगत कामको सिलसिलामा भन्दै भारत पुगिसकेका थिए।

स्रोतका अनुसार अनुसन्धानबाट थाहा लाग्यो - सिल तोड्ने व्यक्ति अरू कोही नभएर सो कार्यालयका प्रमुख विनोद लेखक नै पो रहेछन् !

उनी त्यो दिन बिहान साढे ९ बजे नै बैंकको ढुकुटीमा पुगेर त्यहाँको ढोकामा लगाएको ‘सिल’ तोडेर फर्किएको खुल्यो। त्यसो गरेको कसैलाई खबर गरेमा ‘ठीक नहुने’ धम्की सुरक्षामा खटिएका सेनाका जवानलाई दिएका रहेछन्।

के भन्छन्‌ लेखक ?

‘तपाईंमाथि नशाको सुरमा मनलाग्दी बैंकको ढुकुटी खोलेको आरोप रहेछ, आरोपबारे तपाईंको प्रतिक्रिया के छ ?’ भनी आर्थिकन्यूजले विनोद लेखकलाई सोध्यो ।

उनले यो घटनाविवरणबारे जानकारी दिँदै संस्थागत विषय भएकाले सो बारे नलेखिदिन आग्रह गरे । कुनै कर्मचारी नदेखेपछि आफूलाई शंका लागेर सेनाको अनुमति लिई आफूले दुईवटा ढुकुटी चेक गरेको लेखकले दाबी गरे ।

जो अगुवा उही...!

कार्यालयको अभिभावक र नेतृत्वकर्ताबाटै यस्तो काम भएको देखिएपछि राष्ट्र बैंक नेतृत्व निकै गम्भीर बन्यो। अब अर्को दायित्व थपियो ‘आखिर किन तोडे उनले सिल ?’

जवाफ खोज्नै पर्ने भयो। किनभने न त्यहाँ ढोका खुल्ने सम्भावना थियो, न केही हराएको नै थियो।

स्रोत भन्छ, ‘प्रमाणित गर्न गाह्रो कुरा तर सोधखोज गर्दा के देखियो भने उनी त्यो बेला नशाको सुरमा रहेछन्।’ त्यसबेला च्याप्प समातेर स्वास्थ्य परीक्षण गर्ने कोही नभएका कारण अहिले सत्य बोल्दा समेत आक्षेप मात्र ठहर्ने अवस्था आएको उनको भनाइ छ।

‘उनले लागुऔषध नै सेवन गरेर त्यसो गरेको भन्न केही आधार त चाहियो नि !’ भन्ने आर्थिक न्युजको प्रश्नमा नाम उल्लेख नगर्ने सर्तमा स्रोतले अगाडि थप्यो, ‘पहिले उनी अलिक बढी नै मादक पदार्थ सेवन गर्थे। त्यो छोडेर गाँजा सुरु गरेका थिए। केही समययता गाँजा समेत त्यागेर कालो पदार्थ नै सेवन गर्न थालेका थिए भन्ने उनी निकटहरूले नै भन्दै आएका हुन्।’

यसरी अगुवाले नै काम बिगार्न थालेपछि राष्ट्र बैंकको नेतृत्व गम्भीर बन्दै उनलाई केन्द्रीय कार्यालयमा तानेको छ। थप अनुसन्धान अघि बढ्दै गइरहेको बेला हाल उनलाई राष्ट्र बैंक केन्द्रीय कार्यालयको मानव संसाधन विभागमा ल्याएर अतिरिक्त समुह अन्तर्गत जिम्मेवारीविहीन अवस्थामा राखिएको छ।

तर, उनीमा गल्ती गरेको पश्चात्ताप भाव भने नदेखिएको राष्ट्र बैंकका अन्य कर्मचारीहरू नै बताउँछन्। यसबारे स्रोत भन्छ, ‘के गर्नु र खै ! गल्ती गरेँ, कारबाहीमा परेँ भन्ने महसुस गरेको जस्तै देखिँदैन। म त कांग्रेस नेता रमेश लेखकको भाइ हुँ भन्दै उनै रवाफ देखाउँछन्।’

राष्ट्र बैंकको मानव संसाधन तथा जनशक्ति व्यवस्थापन विभागमा अहिले अर्का हाकिमलाई पनि अनुसन्धानकै क्रममा जिम्मेवारीविहीन बनाएर राखिएको छ। ती हुन् - टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्य।

उनीमाथि आफ्नै सहकर्मी हाकिममाथि दुर्व्यवहार गरेको आरोप छ। आफ्नै हाकिमलाई सार्वजनिक स्थलमै दुर्व्यवहार गरेपछि उनीविरुद्द पीडितले दिएको उजुरीको आधारमा हाल छानबिनमा राखिएको केन्द्रीय बैंकका अधिकारीहरू बताउँछन्‌।

विगतमा पनि महिला सहकर्मीमाथि दुर्व्यवहार आरोप उनलाई लागेको छ। यसअघि पोखरामा कार्यस्थलमै महिला सहकर्मीमाथि यौन दुर्व्यवहार गरेपछि राष्ट्र बैंकले सचेत गराए पनि उनी नसुध्रिएको स्रोत बताउँछ।

स्रोतका अनुसार उनी भैरहवा शाखामा कार्यरत रहँदा पनि अनुशासन उल्लंघन गरेपछि आन्तरिक कारबाहीमा परेका थिए। तर, उनले त्यहाँबाट फर्कंदा मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखाको जिम्मेवारी पाए।

उनी मदिरा सेवन गरेर महिला सहकर्मीमाथि हातपात गरेको आरोपमा विगतमा पक्राउ नै परेको भन्ने पनि चर्चा छ। त्यसबाहेक सार्वजनिक रूपमा विमानस्थलमा नै उनले विगतमा गरेको हर्कतको अहिले पनि राष्ट्र बैंकमा चर्चा हुने गरेको छ। राष्ट्र बैंकले बिना सूचना क्यानडा गएकोमा कारबाही गर्दा सर्वोच्चको आदेशबाट पुनर्बहाली भएका उनी अहिले पनि कसैलाई नटेर्ने मानसिकतामा नै रहेको सहकर्मीहरूको ठहर छ।

किन हुँदैछ यस्तो ?

केन्द्रीय बैंकजस्तो निकै महत्त्वपूर्ण निकायमा किन यस्तो भइरहेको छ ? यो प्रश्नले बाहिरकालाई भन्दा धेरै राष्ट्र बैंक भित्रैका मानिसलाई पोल्नुपर्ने हो। तर, त्यस्तो देखिँदैन।

यस्तो अनैतिकता, अराजकता र अनौठा घटनाहरू भए पनि केन्द्रीय बैंकको नेतृत्व किन उदासीन बसेको होला भन्ने जिज्ञासाको जवाफ दिँदै एक उच्चपदस्थ कर्मचारी भन्छन्, ‘नाता, कृपा, राजनीतिक सम्बन्ध...जस्ता कुराले सबै बिगारेको हो। जो बदमासी गर्छ-त्यो नै राम्रो ठाउँ र जिम्मेवारीमा पुग्ने, अनि घोटिएर काम गर्नेको चाहिँ मूल्याङ्कन नै नहुने भएपछि अरू के हुन्छ र ?’

उदाहरण पेश गर्दै उनले आफूले भनेजस्तो गाडी नपाएपछि आफ्नै संस्था र नेतृत्व बिरुद्ध अदालतमा मुद्दा हाल्न लगाउने गैर-बैंकिङ वित्तीय संस्था सुपरीवेक्षण विभागका प्रथम श्रेणी इन्जिनियर सहदेव चन्दले काम चाहीँ नगर्ने, तर गफ कै भरमा जागिर खाइरहेको प्रसङ्ग निकाले ।

‘सबैलाई देखाइदिन्छु’ भन्दै राष्ट्र बैंकका हाकिम सर्वोच्चमा ! 

यसरी काम नगरी बस्नेहरूलाई हेरेर अरूले समेत लत्तो छाडेको विश्लेषणका अतिरिक्त हाल राष्ट्र बैंकमा संस्थागत स्मरण (इन्स्टिच्युसनल मेमोरी)को अभावका कारण पनि यस्तो अनैतिक घटना बढिरहेको बताइन्छ। विगतमा को व्यक्तिको क्षमता कति हो ? कस्तो जिम्मेवारी मात्र दिँदा ठीक हुन्छ ? सामाजिक र व्यक्तिगत आचरण कस्तो छ भन्ने कुरा पुराना कर्मचारीबाट नयाँमा सर्दै जाने हुन्थ्यो।

राष्ट्र बैंकका एक पुर्व कर्मचारी भन्छन्, ‘तर, ३० वर्षे सेवावधि र ५८ वर्षे उमेर हद लागु भयो। त्यसपछि त्यहाँ व्यक्तिगत रूपमा अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई विगत पढाउने र सहकर्मीको विषयमा बुझाउने क्रम घट्यो। फलतः यस्ता घटना दोहोरिने गरेका छन्।’

उनले थानेश्वरको विषयलाई उदाहरण दिँदै भने, ‘एक/दुई होइन, धेरै पटक अनैतिक ठहर भइसक्दा पनि किन त्यस्तालाई सामाजिक रूपमा त्यहाँ बहिस्कार गरिएन ? समस्या त्यहीँबाट सुरु भएको हो।’

‘राष्ट्र बैंकले औपचारिक रूपमा नै भ्रष्टाचारलाई प्रशय दिँदै जुसको बिल बनाएर रक्सी खुवाउने गरेपछि कर्मचारीले के गर्न मिल्ने के गर्न नमिल्ने भन्ने सकिन्छ ? पहिले नै रक्सी खाएर वितण्डा मच्चाएका, महिलामाथि दुर्व्यवहार गरेको देखिएका व्यक्तिलाई सँगै राखेर उपल्लो नेतृत्वले रक्सी नपिलाएको भए नगरकोट घटना घट्थ्यो ?’ उनी अगाडी थप्छन्।

आफ्नालाई च्याप्ने, गल्ती पनि ढाकछोप गरिदिने र नेताको साइनो सम्बन्ध जोडिएकाहरूले जे गर्दा पनि छुट पाइन्छ भन्ने मानसिकता बढ्दै जाँदा राष्ट्र बैंकमा यस्ता घटना बढेको त्यहीँका इमानदार कर्मचारीको विश्लेषण छ।

नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली,२०६८ को आचरण र अनुशासनसम्बन्धी आचारसंहिताअनुसार कर्मचारीले कार्यालय समयमा कार्यालय हाताभित्र मादक पदार्थ वा लागूपदार्थ सेवन गर्ने, गराउने, गर्न प्रोत्साहन गर्ने वा मादक वा लागूपदार्थ सेवन गरी वा नगरी आफूभन्दा माथिल्लो वा तल्लो श्रेणीको कर्मचारीलाई गालीगलौज एवं अभद्र व्यवहार गर्न नपाइने उल्लेख छ।

यस्तै, कर्मचारीले अन्य कुनै व्यक्ति वा कर्मचारीलाई यौन प्रताडना हुने किसिमको सङ्केत, व्यवहार वा आचरण गर्न नहुने पनि उल्लेख गरिएको छ। विनियमावलीको परिच्छेद १३ मा आचरण र अनुशासनसम्बन्धी विनियमहरू उल्लङ्घन गर्ने विरुद्ध सामान्यदेखि विशेष सजायसम्म तोकिएको छ।

सामान्य सजायमा तलब वृद्धि रोक्का र तीन वर्षसम्म बढुवा रोक्काको व्यवस्था छ। विशेष सजायमा भविष्यमा बैंकको सेवामा अयोग्य नठहरिने गरी बैंक सेवाबाट हटाउने र बर्खास्त गर्नेसम्म उल्लेख छ।

यस्तो कानुनी आधार हुँदाहुँदै पनि राष्ट्र बैंकले छानबिनको नाममा गलत गर्ने प्रति नै ढल्कने नीति लिन्छ वा निर्ममतापूर्वक यस्ता हर्कत भविष्यमा पनि नदोहोरियोस् भनेर बेलैमा यो प्रवृत्तिलाई निमोठ्ने काम गर्छ त्यो भने हेर्न केही दिन अझै कुर्नुपर्ने हुन्छ।