शीर्षकहरू

कांग्रेस-रास्वपाको आ-आफ्नै अडानपछि सभामुखले बोलाएको बैठक निष्कर्षविहीन

कांग्रेस-रास्वपाको आ-आफ्नै अडानपछि सभामुखले बोलाएको बैठक निष्कर्षविहीन

काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन टुंगिएको छ । मंगलबार सभामुखको कार्यकक्ष सिंहदरबारमा बोलाएको बैठकमा दलहरुले आ-आफ्नै अडान कायम राखेपछि बैठक निष्कर्षविहीन टुंगिएको हो ।

बैठकमा नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणबारे संसदीय छानबिन समिति बनाउनुपर्ने माग राखेको थियो । तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि समिति बनाउनुपर्ने कुनै औचित्य नभएको माग यथावत राखेपछि बैठक कुनै निष्कर्षमा पुग्न नसकेको हो ।

बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्रीको नाम जोडिएकाले समिति बनाउनुपर्ने बताए ।

यस्तै रास्वपा सभापति रवि लामिछानले महान्यायाधीवक्ताको कार्यालयले नै आफूविरुद्ध केही नभएको बताइसकेकाले समिति बनाउनुपर्ने आधार नरहेको दोहोर्याए ।

आगामी वैशाख २८ गतेदेखि संघीय संसद्को बजेट अधिवेशन सुरु हुँदैछ । तर बैठक सञ्चालन हुन नदिनेगरी कांग्रेसले प्रतिनिधिसभा अवरोध गर्ने सम्भावना प्रवल छ । सहकारीको बचत अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै आएको कांग्रेसले बजेट अधिवेशनअगावै छानबिन समिति बनाउन माग गर्दै आएको छ ।

कांग्रेसले संसद् अवरोध गर्नसक्ने सम्भावना देखेर सभामुख घिमिरेले अधिवेशन सुरु हुनुअघि नै सहमति प्रयासका लागि बैठक बोलाएका थिए ।