शीर्षकहरू

जीवन बीमा कम्पनीहरुले फागुनमा उठाए ११ अर्ब शुल्क

जीवन बीमा कम्पनीहरुले फागुनमा उठाए ११ अर्ब शुल्क

काठमाडौं । एक महिनामै जीवन बीमा कम्पनीहरुले ११ अर्ब रुपैयाँ भन्दा बढी बीमाशुल्क संकलन गरेका छन् । गत फागुन महिनामा नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले ११ अर्ब ६५ करोड ८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।  

यस अवधिमा कम्पनीहरुले ४ लाख १५ हजार ६७६ वटा बीमालेख जारी गरेका थिए । त्यस्तै, जीवन बीमा कम्पनीहरुले फागुन महिनामा प्रथम बीमाशुल्कबाट २ अर्ब ५५ करोड ५४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् भने ९ अर्ब ९ करोड ५३ लाख रुपैयाँ नवीकरण मार्फत बीमाशुल्क संकलन गरेका छन् ।   

बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको साउनदेखि फागुन महिनासम्म जीवन बीमा कम्पनीहरुले ९८ अर्ब ५३ करोड १६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यस अवधिमा कम्पनीहरुले १८ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका हुन् भने ७९ अर्ब ८६ करोड ५५ लाख रुपैयाँ नवीकरणबीमा शुल्क संकलन गरेका हुन् ।    

गत फागुन महिनामा मात्रै राष्ट्रिय जीवन बीमा कम्पनीले २४ करोड ८७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले एक अर्ब ५० करोड ९१ लाख, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ३ अर्ब ९ करोड २६ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले एक अर्ब ४३ करोड १० लाख र मेट लाइफले ४९ करोड ११ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।  

त्यस्तै, यस महिना एशियन लाइफ इन्स्योरेन्स कम्पनीले ७२ करोड २७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ भने आइ मई लाइफ इन्स्योरेन्स कम्पनीले ३२ करोड ४६ लाख रुपैयाँ संकलन गरेको छ । यस अवधिमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ३४ करोड ९६ लाख, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ३२ करोड २२ लाख, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ४६ करोड २१ लाख र सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ६७ करोड ५९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।   

त्यसैगरि, यस महिनामा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले ४२ करोड १० लाख रुपैयाँ बीमाशुलक संकलन गर्दा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले एक अर्ब २६ करोड ६७ लाख रुपैयाँ संकलन गरेको छ । यस महिना प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले ३३ करोड ३१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको बीमा प्राधिकरणले जनाएको छ ।