शीर्षकहरू

जेठदेखि लागू हुनेगरी १० प्रतिशत घट्यो ब्रोकर कमिसन

जेठदेखि लागू हुनेगरी १० प्रतिशत घट्यो ब्रोकर कमिसन

काठमाडौं । धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायीले लिने सेवा शुल्क (कमिसन) १० प्रतिशतले घटाएको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले जेठ १ गतेदेखि लागू हुनेगरी कमिसन घटाएको बोर्डले जनाएको छ ।

समितिको बैठकले कमिसन घटाउने निर्णय गरे पनि उक्त निर्णयमा सबै सञ्चालकको हस्ताक्षर हुन भने बाँकी रहेको एक सञ्चालकले बताए ।

२०८० जेठमा बोर्डका तत्कालीन अध्यक्षरमेशकुमार हमालले ब्रोकर कमिसन घटाउन समिति गठन गरेका थिए । बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ संयोजक रहेको उक्त समितिले ब्रोकर कमिसन १० प्रतिशत घटाउन प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव अर्थ मन्त्रालयमा पेस गरेको थियो ।

गत वैशाख पहिलो साता अर्थमन्त्री वर्षमान पुनले मन्त्रिस्तरीय निर्णयबाट ब्रोकर कमिसन घटाउन धितोपत्र बोर्डलाई निर्देशन दिएका थिए ।

हाल प्रतिकारोबार रकमका आधारमा ब्रोकर कमिसन लाग्दै आएको छ । हाल ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४० प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३७ प्रतिशत,५ लाखदेखि २० लाखसम्म ०.३४, २० लाखदेखि १ करोडसम्म ०.३० र १ करोडमाथि कारोबारमा ०.२७ प्रतिशत ब्रोकर कमिसन लाग्दै आएको छ ।